site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
कवितामा आकाश, जो स्मृतिमा मात्र बाँचिदिएका छन् !, यात्रा प्रेतात्मासँग र हट चेयर 
Sarbottam CementSarbottam Cement

कवितामा आकाश
(कवितासंग्रह : आर. मानन्धर)
कवि आर. मानन्धरको केही समयअघि प्रकाशित कृति हो, ‘कवितामा आकाश’ । यसमा उनले कविता मात्र नभएर कवितामा चिन्तन र दर्शन समेत प्रस्तुत गरेका छन् ।

उनले निकैअघिदेखि नेपालभाषा साहित्यमा कलम चलाउँदै आएका छन् । मानन्धरका नेपाली र अंग्रेजीमा पनि रचना प्रकाशित छन् । ‘कन्सियस लिडरसिप : अ जर्नी विडइन’ अंग्रेजी र ‘क्षितिजको स्पर्श’ नेपाली दर्शन–साहित्य उनीद्वारा लिखित पुस्तक हुन् ।

‘कवितामा आकाश’ उनको पहिलो कविताकृति हो ।
उनको पहिलो कवितामा लेखिएको छ– 
आकाशमा
आकाश देख्नु
आकाश नदेख्नु हो 
(पृष्ठ – १३)

Prabhu Bank
Agni Group
NIC Asia

उनको कविताकृतिका बारेमा प्रसिद्ध आख्यानकार अमर न्यौपाने लेख्छन्, ‘बाँच्ने त हामी धरतीमै हो । तर, बाहिर मात्र होइन, हामीभित्र पनि आकाश छ — आत्मिक आकाश । त्यहाँ पनि घाम, जून र ताराहरू उदाउँछन् र अस्ताउँछन् । यो किताब आकाश–काव्य हो ।’

उनको कवितासंग्रहमा चिन्तन र दर्शनका गहिरा र गहकिला स्वाद पाठकले पाउँछन् ।

Global Ime bank

‘गुण’ शीर्षकको कवितामा मानन्धर लेख्छन्–
सूर्यलाई के थाहा उसले क–कसलाई न्यानो दिइरहेको छ ?
पृथ्वीलाई के थाहा उसले क–कसलाई बोकिराखेको छ ?
फूललाई के थाहा कति कविहरूले उसलाई हेरेर कविता लेखे ?
मानिसमै मात्र किन हुन्छ — आत्मश्लाघा ?
(पृष्ठ—६९)

कविता, चिन्तन र दर्शनको यो कोसेलीभित्र पाठकले धेरै कुरा पाउँछन् । छोटा–छोटा मननीय कविताहरू, ३६ काव्यात्मक चिन्तन र ३४ काव्य–दर्शन ।

उपसंहारमा उनी लेख्छन्–
कविता त आकाशमै फल्ने हो
तर कुनैकुनै कविता
आकाशभन्दा पनि 
गहिरो हुँदो रहेछ ।
(पृष्ठ — १३६)

मञ्जरी पब्लिकेसनले प्रकाशनमा ल्याएको १३६+४ पृष्ठको यस पुस्तकको मूल्य २५०⁄– रुपैयाँ राखिएको छ ।

०००
 

जो स्मृतिमा मात्र बाँचिदिएका छन् !
(कवितासंग्रह : शिवलाल दाहाल) 
कवि शिवलाल दाहालको तेस्रोे कविताकृति हो, ‘जो स्मृतिमा मात्र बाँचिदिएका छन् !’ यो कवितासंग्रह केही समयअघि बजारमा आएको हो ।

आफ्नो कविताकृतिका बारेमा कवि शिवलाल लेख्छन्, ‘मेरा लागि कविता निर्बन्ध अनुभूतिको उद्घाटन हो । धेरै त मेरा जीवनका निजात्मक अनुभूतिहरू कवितामा आएका छन् । कुनै सिद्धान्त वा वादलाई अघि सारेर म कविता लेख्दिनँ । जुन समयमा जस्तो भाव आयो, उस्तै कविताहरू आए । त्यसैले विषयवस्तुका हिसाबले मेरा कविता विशृङ्खल लाग्लान् ।...।’

उनी ‘हामी फेन्टासी कथा भएर बाँचिदिएका छौँ’ मा लेख्छन्– 
उनीहरूले हाम्रो कथा
छलछाम गरेर अर्कै बनाइदिन्छन्
हामी त्यही पढेर आनन्द मानिदिन्छौँ
कि बुझेर पनि रोमाञ्चित भइदिन्छौँ
बिनासित्तीमा...’ 
(पृष्ठ — ३७)

प्रकाशन विभागका निर्देशक रमेश गौतम प्रकाशकीयमा लेख्छन्, ‘...हृदय समयको वीभत्सतामा छटपटाइरहेको बेला समेत यिनका कविताहरूले भनिरहन्छ कि फेरि वसन्त आउनेछ, हिमपातको चङ्गुलमा क्षतविक्षत रूखहरू फेरि पल्लवित हुनेछन् र फैलनेछ सुगन्ध चारैतिर ।...।’

उनको एउटा अर्को कविता छ–
एउटा यात्री...
जुन बाटो हिँड्दाहिँड्दै 
जिन्दगीका काँढाहरूले घोचेर आहत भएर 
कुनै दिन यात्रा नै बिर्सिदिएको थियो...
(पृष्ठ — ९९)

यस संग्रहमा ४९ वटा कविताहरू समावेश छ ।

साहित्य परिषद्, भुटानद्वारा प्रकाशित र ओरिएन्टल पब्लिकेशन हाउसद्वारा वितरित ११६+४ पृष्ठको यस कृतिको मूल्य २००– रुपैयाँ राखिएको छ ।

०००

यात्रा प्रेतात्मासँग
(अनुभूति : रत्नकुमार श्रेष्ठ)
एउटा फरक किसिमको अनुभूति पुस्तकाकार रूपमा ल्याएका छन्, लेखक रत्नकुमार श्रेष्ठले । त्यसको फरकपना शीर्षकले नै बयान गर्छ, ‘यात्रा प्रेतात्मासँग’ ।

किताबको शीर्षकमा ध्यान दिँदा लाग्छ, यो आख्यानको पुस्तक हो । जसमा कल्पना, स्वैरकल्पनाले भरिएका यथेष्ट विषय प्रसंग होलान् । तर, यो रत्नकुमारले आफ्नो जीवनमा भोग्नुपरेका यथार्थ घटनाहरू हुन् । त्यो स्वैरकल्पनाभन्दा कम छैन ।

रत्नकुमार आफ्नो मन्तव्यमा लेख्छन्, ‘यस पुस्तकभित्रका घटनाहरूमा समावेश गरिएका पात्रहरूको नाम उल्लेख गर्दा व्यक्तिगत जीवनमा असर नपरोस् भनेर सत्य घटनामा आधारित भए पनि काल्पनिक राखिएका छन् । केही स्थानविशेषका नाम पनि सामान्य रूपमा परिवर्तन भएका छन् । मेरा अभिन्न मित्रहरू र आफन्तहरूका लागि यो घटना नौलो होइन, प्रायः सबै यस सम्बन्धमा जानकार छन् ।...।’

२० शीर्षकमा श्रेष्ठले आफ्ना अनुभूति पाठकसँग बाँडेका छन् । पुस्तकको आवरणको अन्तिममा लेखिएको छ, ‘मैले धेरै घोत्लिएर, आत्मलीन भएर सोचेँ, मन्थन गरेँ र मलाई लाग्यो– यो विज्ञानलाई ठूलो चुनौती हो । भौतिकवादलाई चुनौती हो । मानिसहरू अक्सर भन्ने गर्छन्, ‘यो दुई दिनको जिन्दगी हो, बाँचुञ्जेल मोजमस्ती गर्नुपर्छ, मरेपछि डुमै राजा ।...’ यसको तात्पर्य हो मृत्युपश्चात केही हुँदैन, उसको महत्त्व शून्यमा विलीन भई अस्तित्वविहीन भएर जान्छ । पूर्वजन्म, पुनर्जन्म कसले देखेको छ ?...।’

रत्न पुस्तक भण्डारद्वारा प्रकाशित २१६+४ पृष्ठको यस पुस्तकको मूल्य ३५०– रुपैयाँ राखिएको छ ।

०००

हट चेयर 
(आत्मवृतान्त : त्रिरत्न मानन्धर)
त्रिरत्न मानन्धरले नेपालको हवाई उड्डयन सेवामा ३३ वर्षको समय अर्पण गरे । त्यसैको साङ्गोपाङ्ग तस्बिर हो, ‘हट चेयर’ । यो आत्मवृत्तान्त उनले गत वर्ष सार्वजनिक गरेका हुन् । यसमा मानन्धरले भोगेको तातो कुर्सीको कथा–व्यथा प्रस्तुत छ ।

लेखकले सुरुमै हट चेयरलाई परिभाषित गरेका छन् । ‘हट चेयरको अर्थ हुन्छ, तातो कुर्सी । सामान्यतया कार्यकारी प्रमुखकको कुर्सी तातो तावासमान मानिन्छ । तर, त्योभन्दा पनि तातो एयर ट्राफिक कन्ट्रोलरको कुर्सी हो, जसलाई प्राविधिक शब्दमा ‘हट चेयर’ भनिन्छ ।’

यही हट चेयरको कथा मानन्धरले लेखेका छन् । पृष्ठभूमिमा उनले लेखेका छन्, ‘एयर ट्राफिक कन्टोलरका रूपमा सुरु गरेको मेरो सेवा एक यस्तो पेसा हो, जहाँ गल्तीको कुनै गुन्जाइस हुँदैन । पाइलटलाई आफूले उडाएको जहाजको सुरक्षाप्रति मात्र चासो राखे पुग्छ । तर, कन्ट्रोलरको जिम्मेवारीमा एकै समयमा बीसौँ जहाजको सुरक्षाको जिम्मेवारी हुन्छ ।...।’

उड्डयन क्षेत्रमा कलम चलाउँदै आएका हेमन्त अज्र्यालले पुस्तकमा लेखेका छन्, ‘एकपछि अर्को काममा उफ्रिँदै जाँदा लेखक सन्की पाइलटझैँ सर्ट फाइनलमा पुगेर पनि शाखा अधिकृतरूपी रनवेमा ल्यान्ड नगरी मिस्ड एप्रोच गर्दै एटीसी तालिम लिन अल्टरनेट एयरपोर्टतर्फ हानिएछन् । धन्न ! त्यसो गरेको राम्रो भएछ । र, त्यहाँको लामो एवम् सफल कार्यकालपछि लेखेको यो किताब पढ्न पाइयो ।’

एघार भागमा आफ्नो उड्डयन सेवाको इतिवृत्ति बताएका मानन्धरको पुस्तकको एउटा सानो अंश यस्तो छ, ‘साधारणतया सेप्टेम्बरदेखि नोभेम्बरसम्म जाडोको सुरुवातसँगै त्रिअवि एयरसाइडभित्रको घाँसे मैदानमा गँड्यौला निस्कन थाल्छन् । तिनीहरू बिहान न्यानोको खोजीमा घाँसे मैदानबाट कालोपत्रतिर ट्याक्सीवे र रनवेमा पस्ने गर्दछन् । कहिलेकाहीँ ती गँड्यौला हजारौँको संख्यामा हुन्थे । अनि, ती गँड्यौला खान सयौँको संख्यामा चिल र अन्य चरा धावनमार्गमा आइपुग्थे ।...।’

नेपाल एयर ट्राफिक कन्ट्रोलर्स एसोसिएसन, काठमाडौंले प्रकाशनमा ल्याएको २६८+४ पृष्ठको यस पुस्तकको मूल्य ५००– रुपैयाँ राखिएको छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २८, २०७९  ०७:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय