काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता खगराज अधिकारीले आसन्न निर्वाचनमा सत्ता गठबन्धनमा आबद्ध दलहरू एक्लाएक्लै लडे आफ्नो पार्टीले एक्लै दुईतिहाइ बहुमत ल्याउने बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा नेता अधिकारीले कांग्रेस एक्लै लड्न नसक्ने अवस्थामा पुगेको भन्दै यदि दलहरू एक्लाएक्लै लडे एमालेले दुईतिहाइ बहुमत ल्याउने बताएका हुन् ।
उनले अहिलेको पाँचदलीय गठबन्धनलाई ‘वित्तीय गठबन्धन’को संज्ञा पनि दिए ।
वर्तमान सरकारका कारण परराष्ट्र नीतिमा गम्भीर चुनौती खडा भएको, सार्कलाई ‘रिभाइभ’ गर्न नसकेकोलगायत आरोप लगाउँदै उनले सबै विषयमा राष्ट्रिय सहमति कायम गरेर जानुपर्नेमा जोड दिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले समयभित्रै नागरिकतासम्बन्धी विधेयकका बारेमा आफ्नो निर्णय लिने पनि उनले बताए ।
साक्षात्कारमा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले एमाले अब २० वर्षसम्म शासनमा फर्कन नसक्ने जिकिर गरे । एमालेले राष्ट्रवादको नाममा जनता ठग्ने काम गरेको उनको भनाइ छ ।
उनले नागरिकतासम्बन्धी विधेयक संसद्का दुवै सदनबाट पारित भइसकेको र प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेको भन्दै तत्काल प्रमाणीकरण गर्न आग्रह गरे ।
यादवले वर्तमान सरकारले एक वर्षको छोटो अवधिमा यसअघिको सरकारले तीन वर्षसम्म गर्न नसकेको काम गरेको जिकिर पनि गरे ।