
काठमाडौं । जर्मनीका मुख्य प्रशिक्षक हान्सी फ्लिकले टिमो वेर्नर पुरानै क्लब आरबी लाइपजिग फर्किनु जर्मन बुन्डेसलिगा र खेलाडी दुवैका लागि राम्रो भएको बताएका छन् ।
पछिल्लो दुई वर्ष लय भेट्टाउन संघर्ष गरिरहेका वेर्नर यसै वर्ष कतारमा हुने विश्वकपका लागि सही स्ट्राकर हुन् कि होइनन् भन्ने प्रश्न उब्जिएको थियो । वेर्नर मंगलबार इङ्लिस प्रिमियर लिगको क्लब चेल्सीबाट बुन्डेसलिगाको क्लब लाइपजिग फर्किएका छन् । उनले पूर्व क्लबसँग चार वर्षका लागि सम्झौता गरेको बताइएको छ ।
२६ वर्षे स्ट्राइकर वेर्नरले सिनियर करियरको अधिकांश समय लाइपजिगमा विताएका थिए । उनले २०१६ देखि २०२० सम्म लाइपजिगमा बस्ता क्लबबाट सबैभन्दा धेरै ९५ गोल गरेका थिए ।
“वेर्नर बुन्डेसलिगा फर्किंदा म धेरै खुसी छु,” फ्लिकले भने, “उनीसँग जुन क्षमता छ, त्यसले हरेक लिगको स्तर वृद्धि गर्न सहयोग गर्नेछ ।”
प्रिमियर लिगको क्लब चेल्सीमा दुई वर्ष विताएर वेर्नर पुरानै टिममा फर्किएका हुन् । चेल्सीमा वेर्नरले च्याम्पियन्स लिग, यूईएफए सुपर कप र क्लब विश्वकपको उपाधि जितेका थिए । चेल्सीबाट ६९ खेलमा वेर्नरलले २३ गोल गर्न सफल भएका थिए ।
लाइपजिगमा वेर्नर पुरानै लयमा फर्किने अनुमान गरिएको छ । जसका कारण जर्मनीलाई विश्वकपमा सहयोग पुग्नेछ । लाइपजिग गत सिजन बुन्डेसलिगाको शीर्ष चारमा रहेर च्याम्पियन्स लिगका लागि छनोट भएको थियो ।
“लाइपजिगमा वेर्नरले आफूलाई अन्तर्राष्ट्रिय स्ट्राइकरका रूपमा परिपक्क बनाएका थिए । अब फेरि उनले च्याम्पियन्स लिगमा आफूलाई विश्वका अन्य उत्कृष्ट स्ट्राइकरसँग परिक्षण गर्नेछन्,” फ्लिकले भने ।
वेर्नरले जर्मनीबाट ५३ खेलमा २४ गोल गरिसकेका छन् । जर्मनी २०१८ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको थियो ।