काठमाडौं । नेपालमा कोही एउटै मान्छे विभिन्न व्यक्तिका रूपमा देखिन्छ भने त्यो नाम हो, मनोज गजुरेल । कोही व्यक्तिको सशरीर हुबहु नक्कल गर्नु मात्र ठूलो कुरा होइन । त्यसलाई दर्शकले स्वीकार्नुचाहिँ उपलब्धि हो । दर्शकले स्वीकारकै कारण मनोजको कला आजपर्यन्त उत्कृष्ट दरिएको छ । र, उनको ‘हाई हाई’ चलिरहेकै छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहको होस् अथवा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को वा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प, मनोजले सबैको सशरीर नक्कल गरे । र, दर्शकको अमूल्य तारिफ बटुले ।
हरेक वर्ष हुने गाईजात्रा र विदेशमा हुने कार्यक्रममा मनोज कसै न कसैको शरीरदेखि स्वरसम्म नक्कल गर्छन् । दर्शकमाझ व्यंग्य प्रस्तुत गर्छन् ।
व्यंग्य सबैले स्वीकार्छन् ? फरक–फरक अनुभवको सँगालो हुन्, मनोज । व्यंग्य मन पराउनेहरू उनलाई माया गर्छन् । पेच पर्नेहरू घृणा । तर, यसलाई उनी स्वाभाविक रूपमा लिन्छन् ।
तारिफ र गाली मनोजका लागि सिक्काका दुई पाटा भइसके । योपटक उनी अर्थमन्त्री जनार्दन शर्माको नक्कल गर्दै छन् । देश–विदेशबाट आएका सुझाव र आफ्नै चासोका पात्र पनि भएकाले जनार्दन योपटकको रोजाइमा परे ।
गाईजात्रा कार्यक्रममा यो वर्ष मनोजको पात्र को ? चासो धेरैलाई हुन्छ । प्रचारको भोक त व्यक्तिको स्वभाव नै हो । मनोज पात्रको फर्स्लुक बजार पठाउँछन् । धेरैलाई थाहा भइहाल्छ । चासो स्वाभाविक भइहाल्यो ।
जनार्दनबाट पनि चासो आयो ? “स्वाभाविक हो । के कस्तो छ भनेर चासो राख्दै प्रश्न आएका छन्,” मनोज भन्छन्, “कसैले सिधै आफैँले प्रश्न गर्छन्, कसैले अरूलाई प्रयोग गर्छन् । फरक यति मात्रै त हो ।”
धाकधम्की पनि खेप्नुपर्छ ? यति मात्र होइन, प्रलोभनका प्रस्ताव पनि आउँछन् । धाकधम्की र प्रलोभनलाई उनी ‘प्रेमपत्र’ भन्छन् । “हेरेर, देखेर आएको प्रतिक्रिया हो । त्यसैले म धम्कीलाई पनि प्रतिक्रिया ठानेर प्रेमपत्र भन्छु ।”
यो वर्ष जर्नादन सुरुदेखि नै चर्चाको पात्र थिए । अर्थतन्त्रलाई सही दिशानिर्देश गर्न नसकेको भनेर चर्को आलोचना खेपे । उनको चर्चाले बजेट भाषणपछि पहाड उक्लियो । कारण थियो, बजेट भाषणको अघिल्लो रात अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएर करका दर हेरफेर गराएको आरोप । प्रतिपक्षको चर्को विरोधपछि उनले पदबाट राजीनामा नै दिनुपर्यो । भलै, संसदीय विशेष छानबिन समितिले उनलाई दोषी करार गर्न नसक्दा जनार्दन पुरानै कार्यभार सम्हाल्न मन्त्रालय प्रवेश गरे ।
यसलाई मनोज मात्र होइन, देश–विदेशमा रहेका नेपालीले नियालिरहेका थिए । त्यसैले उनलाई धेरैले भने– तपाईंको यो वर्षको उचित पात्र यिनै हुनसक्छन् ।
सुझाव उनलाई अनपेक्षित लागेन । कारण, उनलाई पनि लागिरहेको त्यही नै थियो, जे सुझाव आयो । त्यसैले उनको यो वर्षको एउटा पात्र बने, जनार्दन ।
कोही गाली गर्छन्, ‘मेरो नक्कल किन गरेको’ भनेर । कतिपय ‘लौन, मेरो नक्कल गरिदिनुपर्यो’ भन्न लगाउँछन् । नेतादेखि समाजसेवीसम्म यसका लागि मरिहत्ते गर्ने गरेको मनोजको अनुभव छ । तर, समाजले रुचाउने पात्र र व्यंग्य गर्न लायक पात्र मात्र उनको रोजाइमा पर्छन् ।
“जोसुकैले आग्रह गरोस्, जोसुकैले दबाब दियोस् । धम्की वा प्रलोभन दियोस् । म मेरो धर्म छोड्दिनँ,” मनोज सुनाउँछन्, “मैले मेरो कर्ममा जब धर्म छोड्छु, त्यस दिन मेरो कर्म नै रहँदैन भने म किन मेरो धर्म छोड्थेँ र !”
पूर्वराजा, पूर्वप्रधानमन्त्री, मोदी, ट्रम्पजस्ता ‘हेवीवेट’ व्यक्तिको नक्कल गर्ने मनोजले जब पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको नक्कल गरे, त्यसपछि हो ‘लौन, ....को पनि नक्कल गरिदिनुपर्यो’ भन्ने अनुनय उनले सुन्न थालेको । तर, उनको दाबी छ, “मैले मेरो धर्म र इमान कुल्चिएको छैन । दर्शकको भरोसालाई झुक्न दिएको छैन ।”
केही वर्ष अगाडि सरकारले शून्य लगानीमा वैदेशिक रोजगारीको व्यवस्था मिलायो । मोटो रकम ऋण गरेर विदेशिने आमगरिब नेपालीका लागि सरकारको निर्णय प्रशंसायोग्य थियो । तर, मेनपावर व्यवसायीले आन्दोलन छेडे । लिँदै आएको पैसा निर्वाध विनासर्त लिनु पाउनुपर्ने उनीहरूको बटमलाइन थियो । प्रधानमन्त्रीले घुँटा टेके । खुट्टो टेक्न खोज्ने तालुकदार मन्त्री नै बर्खास्तमा परे । मेनपावर व्यवसायीलाई दोहोरो फाइदा, एकातिर वैदेशिक रोजगारीमा जानेसँग पूर्ववत् पैसा उठाउन पाए, अर्कातिर रोजगारदाता विदेशी कम्पनीसँग पनि लागत रकम लिन पाए ।
विषय पुरानै हो । तर, समस्या पुरानो होइन । आज पनि सबैले भोगिरहेको समस्या हो । राज्यले नसकेको (नचाहेको), मनोजको व्यंग्यले के पार लगाउला र ! हद्द भए ‘एउटा कमेडियन के–के जाती भनेर कराउँदै थियो’ भन्लान् । तर, मनोजले यो वर्ष यही विषयलाई सटायर हान्दै छन्, शेख बनेर ।
“मेरो भेट अरेबियन शेखसँग हुन्छ । रोजगारी र नेपाली कामदारका विषयमा कुरा हुन्छ,” शेखको क्यारेक्टरबारे मनोज प्रस्ट पार्छन्, “उसले मलाई भन्छ– नेपालमा मेनपावर दलालहरूले मान्छेको दलाली गरिरहेका छन्, बेचिरहेका छन् । तिमीहरूको देशमा भएर बाँच्न पाइरहेका छन्, हाम्रोमा भए सरकारले झुन्ड्याइसकेको हुन्थ्यो ।”
मनोज नेपाली मात्र होइन, विदेशी बहुचर्चित पात्रहरूलाई पनि व्यंग्य गर्न भ्याउँछन् । तर, उनले नक्कल गर्ने व्यक्ति प्रत्यक्ष होस् वा परोक्ष नेपाल र नेपालीसँग जोडिएका हुन्छन् । गत वर्ष परोक्ष रूपमा कोरोनाविरुद्धको खोपमार्फत नेपालसँग जोडिएका पात्र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको नक्कल गरे ।
यो वर्ष नेपालको तुलना श्रीलंकासँग भयो । सही बाटो नसमातेको नेपाली अर्थतन्त्र कतै टाट पल्टिएको श्रीलंकन अर्थतन्त्रजस्तै त हुने होइन ? धेरैले चिन्ता व्यक्त गरे । सरोकारवालाले राज्यलाई सचेत गराए । श्रीलंकाकै हविगत नेपालको पनि हुन्छ/हुँदैनमा तर्क-वितर्क भए ।
श्रीलंकाको राज्यसत्ताको बागडोर लामो समयदेखि सम्हालेका पात्र थिए, तत्कालीन राष्ट्रपति महिन्दा राजापाक्षे । परोक्ष नै सही, मनोजलाई राजापक्षे पात्र उचित लाग्यो । जिउडाल पनि धेरै फरक नपर्ने, त्यसैले उनले राजापाक्षेको फोटो अगाडि राखे । उनले लगाउने सेतो लुगा जुटाए । रातो गलबन्दी त राजापाक्षेको ट्रेडमार्क नै भइगयो । चाहियो नै । खोजे । र, ऐना अगाडि बसेर आफूलाई राजापाक्षेजस्तै देखिने बनाउन थाले । आफैँलाई चित्त बुझेपछि सुरु भयो, कन्टेन्टको खोजी ।
‘नेपाललाई स्वर्गको टुक्रा बनाउँछु’ भन्ने र ‘स्वीट्जरल्यान्ड बनाउँछु’ भन्ने ६ प्रधानमन्त्री अहिले पनि जीवित रहेको देश । कन्टेन्टको के अभाव ! “महिन्दा राजापाक्षेले नेपालका जीवित ६ जना पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा (प्रधानमन्त्री), केपी ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुराम भट्टराईलाई देश कसरी चलाउने भनेर भर्चुअल क्लास दिन्छन्,” मनोज भन्छन्, “श्रीलंका र नेपालको आर्थिक अवस्था दुवैको बिग्रिएको र गैरजिम्मेवार नेताहरू करिब–करिब उस्तै रहेकाले मैले यो कन्टेन्ट बनाएँ ।”
गाईजात्रा नेपाली समाजको उत्सव हो । हाँस्ने र हँसाउनेहरूको दिन हो । धेरै कलाकारलाई जन्माएको र परिचित गराएको त्यही गाईजात्रा यति बेला सुस्ताएको छ । कोरोनाका कारण दुई वर्ष भर्चुअल भएको गाईजात्रा कार्यक्रम स्वयं कलाकारका लागि खल्लो भयो । कारण, आफैँले व्यंग्य गरेका व्यक्तिलाई आफ्नै अगाडि राखेर प्रहसन गर्नुको मजा टेलिभिजनमा पाइँदैन थियो ।
भलै, मनोज गाईजात्रामा फरक पात्रका साथ आइरहेकै छन् । ऐना अगाडि उभिएर देशी/विदेशी क्यारेक्टरको नक्कल गरेर दर्शक हँसाइरहेकै छन् ।