काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य दीपा न्यौपानेले भारतको आई लिग छनोट खेल्ने भएकी छन् ।
नेपाल पुलिस क्लबकी मिडफिल्डर दीपा आई लिग छनोट खेल्न बुधबार त्यसतर्फ प्रस्थान गरेकी छन् । दीपाले केरेला महिला लिगमा डन बोस्को फुटबल एकेडेमीको प्रतिनिधित्व गर्नेछिन् । केरेला महिला लिगको उपाधि विजेता आई लिगमा छनोट हुनेछ ।
“भारतमा प्रतियोगिता खेल्न पाउँदा निकै खुसी छु । यो मेरो विदेशमा पहिलो अवसर समेत हो,” दीपाले भनिन् ।
नेपाली राष्ट्रिय फुटबल टोलीकी सदस्य सावित्रा भण्डारी सम्मिलित गोकुलम केरेला, केरेला ब्लास्टर, केरेला युनाइटेडजस्ता क्लबहरू सहभागी हुने केरेला लिगमा डन बोस्को साविक उपविजेता हो ।
दीपाको सम्झौता अवधि एक वर्ष भएको बताइएको छ । यद्यपि, सम्झौता रकम भने खुलाइएको छैन ।
“अहिलेलाई प्रतियोगिताको लागि सम्झौता भएको छ । आई लिगमा छनोट भए त्यसमा पनि अवसर मिल्ने समझदारी भएको छ,” दीपाले भनिन् ।
आजदेखि सुरु हुने प्रतियोगिताको पहिलो खेलमा गोकुलम केरेला र केरेला युनाइटेड भिड्नेछन् । डन बोस्कोले आफ्नो पहिलो खेल भोलि लड्र्स पीआरविरुद्ध खेल्नेछ ।