काठमाडौं । चलचित्र ‘प्रेम गीत–३’का नायक प्रदीप खड्का र निर्माता तथा निर्देशक सन्तोष सेन पूर्वीए नेपालको पाथिभारा मन्दिर पुगेका छन् । चलचित्र ‘प्रेम गीत–३’ रिलिजको पूर्वसन्ध्यामा उनीहरू दर्शनका लागि ताप्लेजुङको पाथिभारा देवीकाे मन्दिर पुगेका हुन् ।
‘प्रेम गीत–३’ भारतका टेलिभिजनमा रिलिज गर्ने मनोकामना पूरा होस् भनेर आफूहरूले पटकपटक ‘जप्ने’ नाम पाथिभारा रहेको भन्दै सन्तोषले प्रदीपसँगको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।
भारतीय टेलिभिजनसँगै त्यहाँका सिनेमा हलमा र अरु देशमा पनि ‘प्रेम गीत–३’ रिलिज हुने भएपछि आफूहरू पाथिभारा माताको दर्शन गर्न पुगेको सन्तोष बताउँछन् ।
भारतीय टेलिभिजन र थिएटरमा नेपाली सिनेमा रिलिज सम्भव नरहेको भन्ने सुझाव र प्रतिक्रियाका वावजुद अथक प्रयास र मिहिनेतले ‘प्रेम गीत–३’ भारतमा रिलिज सम्भव भएको सन्तोषको भनाइ छ ।
सेप्टेम्बर २३ मा चलचित्र ‘प्रेम गीत–३’ भारतका थिएटरमा रिलिज हुँदै छ । यसका लागि त्यहाँको वितरकले चलचित्रको प्रचारप्रसार सुरु गरिसकेको छ । मुम्बईलगायत भारतका थुप्रै सहरमा ‘प्रेम गीत–३’को होर्डिङ बोर्ड लगाउन सुरु गरेको छ ।