site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
कविजीको सम्झनामा
Sarbottam CementSarbottam Cement

कविवर सिद्धिचरण श्रेष्ठ भन्नेबित्तिकै मलाई ‘मेरो प्यारो ओखलढुंगा’ र ‘चम्क युवक अब चम्क न चम्क’ भन्ने कविताको सम्झना भइहाल्छ । सम्झना मात्र होइन, यसबाट के–के प्रेरणा पनि पाइहाल्छु ।

प्रत्यक्ष रूपमा उहाँलाई म २००६ सालदेखि चिन्दछु । अहिले हाम्रा माझमा हुनुहुन्न, तर उहाँले यो नाशवान् शरीरलाई नाश नहुने कीर्तिसँग साटिसक्नुभएकाले उहाँ सधैँ हाम्रा माझमा नै हुनुहुन्छ । उहाँले ठूलो योगदान गर्नुभएको विभिन्न क्षेत्रको सेवा (जस्तो : भाषा, साहित्य, संस्कृति, राजनीति, समाजसेवा आदि) को बयान म गर्न सक्तिनँ ।

२०३० सालमा म अञ्चल प्रशासनबाट काठमाडौं आएपछि उहाँकै प्रेरणाबाट त्रिभुवन स्मारक समितिको सदस्य बनेँ । सो समितिका अध्यक्ष उहाँले मलाई ‘श्री ५ त्रिभुवनको सामीप्य पाएको तपाईं पुरानो मान्छे, यस समितिको उपाध्यक्ष पदमा बसेर सहयोग गर्नुपर्यो’ भन्नुभयो । मैले ’हवस्’ भनेर आजसम्म सो पदमा छँदै छु ।

Prabhu Bank
Agni Group
NIC Asia

उहाँ मलाई माया गर्नुहुन्थ्यो र विश्वास पनि । उहाँ समितिमा काम भइरहेकै छ भनेर चित्त बुझाएर बस्नु हुन्नथ्यो । काम नराम्रो हुन्छ कि, गाल पर्छ कि भन्ने कुरामा साह्रै चिन्ता लिइरहनुहुन्थ्यो र हामीलाई बराबर सचेत गराइरहनुहुन्थ्यो ।

आफू पनि स्मारकस्थल थानकोटमा गएर, कहिले–कहिले उहीँ बसेर पनि कामको रेखदेख र अराउपराउ गरिरहनुहुन्थ्यो । उहाँकै अध्यक्षकालमा सो स्मारकस्थलमा धेरै कामहरू सुरु भए र सकिए पनि । अझ पनि अरू काम यही सिलसिलामा भइरहेकै छन् ।

Global Ime bank

कविजी नेपाली शिक्षा परिषद्का पनि अध्यक्ष हुनुहुन्थ्यो । म पनि यसै परिषद्को सदस्य हुँदा यसबाट पनि उहाँसँग बराबर सम्पर्क भइरहन्थ्यो । कविजीको अध्यक्षकालमा नेपाली शिक्षा परिषद्मा पनि निकै राम्रा कामहरू भए । लेखनाथ साहित्य सदन पनि बन्यो ।

म कविजीकहाँ बराबर गइरहन्थेँ । कहिलेकाहीँ उहाँ पनि मकहाँ पाल्नुहुन्थ्यो । उहाँकहाँ जाँदा धेरै कुरा हुन्थे, अनि कविता सुनाउनुहुन्थ्यो कहिले देवघाटबारे लेखेको, कहिले यो उपत्यका पानी–पानी छँदाबारे लेखको ।

कहिले उहाँ युवक नवराज बस्नेतलाई अगाडि राखेर आफूले भनेर लेखाइरहनुभएको हुन्थ्यो । तमाखु खाँदै भन्नुहुन्थ्यो, “पहिले लेखेका अधुरा पूरा गर्न लागेको । के गर्नु, आफ्नो आँखा छैन ।”

तिनताका नवराज बस्नेत कविजीकहाँ नै बस्नुभएको थियो । बस्नेतजी धनुषा, लालगढ निवासी मेरा छिमेकी पनि हुनहुन्थ्यो ।

अनि, कहिले यस्तै भेटमा कुरा हुँदा उहाँ ‘शान्ति भएन’ भन्नुहुन्थ्यो । म व्यावहारिक रूपमा भन्थेँ, “यस्तो सफल जिन्दगी बिताएको मान्छेलाई पनि केको अशान्ति ?”

तर, उहाँलाई चित्त बुझेजस्तो लाग्दैनथ्यो । अनि, म सोच्थेँ उहाँले अर्कै तहको शान्ति खोजेको होला भनेर । हुन पनि उहाँलाई कहिलेकाहीँ देवघाटमा काठेबाबा (काठको लँगौटी मात्र लगाएर बस्ने) का अगाडि घण्टौँ बसेको देखेको मात्र होइन, म पनि केही बेर बसेको छु । काठेबाबा पनि चुप, कविजी पनि चुप, मचाहिँ हिँडिहाल्थेँ !

कहिले कविजीलाई झम्सिखेल, ललितपुरमा कवीरपन्थी सन्तहरूसँग जीवनसम्बन्धी, शान्तिसम्बन्धी आदि अनेक आध्यात्मिक प्रश्न गर्दै डटेर बसेको पनि देख्ने–सुन्ने मौका पाएको छु ।

यस्तै एकपटक देवघाटमा कविजीसँग बस्ने मौका पर्यो । हामी मैयादेवी श्रेष्ठको कुटीमा बसेका थियौँ । योगी नरहरिनाथ पनि देवघाटमा हुनुहुँदो रहेछ । कविजी मलाई भन्नुहुन्थ्यो, “म त अब यहीँ सानो कुटी बनाएर बस्छु, तपाईं पनि यहीँ बस्नुहोस् ।”

मैयादेवी भन्नुहुन्थ्यो, “बनाइहालौँ कुटी । जग्गा ठीक छ ।”

मचाहिँ कविजीसँग भन्थेँ, “सिद्धिचरण कुटी भनेर सानो एउटा कुटी बनाइदिने र कहिलेकाहीँ मन लागेको बेला यहाँ आएर बस्ने । तर, म सधैँ देवघाटमा बस्छु भनेरचाहिँ नआउने । किनभने, जिन्दगीमा ठूलो कमाइ गरेको मान्छेकहाँ कति मान्छे अनेक कुरा र अनुभव सोध्न आउँछन्, कतै पुरस्कार दिन बोलाउँछन्, कतै लिन, कतै प्रमुख अतिथि, कतै सभापितत्व गरिदिन भन्छन् । फेरि, लेख्ने–लेखाउने क्रम चलिरहेकै छ । जिन्दगीभर यसो गरेको बानी पनि आफ्नो छँदै छ ।”

एकपटक यस्तै करा गर्दै थियौँ, योगी नरहरिनाथ पनि त्यहीँ आइपुग्नुभयो र मैयादेवीसँग के–के सम्मेलन गर्ने, कवि सम्मेलन गर्ने, कविजीलाई र थापालाई यो–यो काम सुम्पने भन्ने कुरा हुन थाल्यो ।

उहाँहरूको कुरा सकिएर योगीजी पाल्नुभएपछि मैले कविजीलाई भनेँ, “योगीजी र मैयादेवी भएर यहाँ के–के गर्ने हुन् अब ! हामी काठमाडौं भागिहालौँ ।”

एउटा कुरा, सबैलाई पत्याउन पनि गाह्रो, तैपनि लेख्न मन लाग्यो, लेख्छु । मेरी छोरीको विवाह थियो । आउनेहरूलाई स्वागत गर्न म ढोकैमा थिएँ । कविजी र श्रीमती विमला मास्के दुवैजना हाँस्तै आउनुभयो गोडधुवाको पोको बोकेर । निमन्त्रणा पठाएको जस्तो नलागेर मेरो चेहरा अलि भिन्नै भयो ।

कविजीले ‘छोरीको विवाह भन्ने थाहा पाएँ, अनि आएको’ भन्नुभयो । मलाई पनि यस्तो माया पाएर असाध्यै खुसी लाग्यो र गद्गद भएँ । अर्को दृष्टिले छाँगाबाट खसेजस्तै पनि भएँ ।

म २०११ सालमा ओखलढुंगामा बडाहाकिम भएर जाँदा कार्यभार सम्हालेकै पर्सिपल्ट ओखलढुंगा बजारनजिकै रहेको कविजीको जन्मथलो हेर्न गएको थिएँ, जहाँ एउटा पुरानो घर पनि थियो । अहिले कविजीको निधनपछि, किन हो कुन्नि मलाई फेरि जान मन लागको छ, कविजीको प्यारो ओखलढुंगा हेर्न ।
(राष्ट्रभाषा, २ साउन २०४९)
(बद्रीविक्रम थापाको पुनरप्रकाशित ‘स्मृति–विस्मृति’ बाट ।) 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २१, २०७९  ०७:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement