काठमाडौं । नेपालमा आत्महत्याका घटना दिनानोदिन बढ्दो क्रममा छ । नेपाल प्रहरीको पछिल्लो तथ्यांक अनुसार नेपालमा सरदर दैनिक १५ वटा आत्महत्याका घटना हुने गरेका छन् । पछिल्लो समय सामूहिक आत्महत्या, परिवारका सदस्यको हत्यापछि आत्महत्याजस्ता घटनामा वृद्धि भइरहेको छ ।
आत्महत्यालाई आपराधिक घटनासँग जोडेर हेर्ने गरिएपनि विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले यसलाई मानसिक, न्युरोलजिकल र गम्भीर जनस्वास्थ्य समस्याको रूपमा व्याख्या गरेको छ । संगठनले मेन्टल हेल्थ एक्सन प्लान, २०१३–२०३० बनाएर आफ्ना सदस्य राष्ट्रहरूमा सन् २०३० सम्म आत्महत्याको दर एक तिहाइमा झार्ने लक्ष्य राखेको छ ।
डब्ल्यूएचओ नेपालका मानसिक स्वास्थ्य फोकल पर्सन डा. केदार मरहठ्ठाका अनुसार नेपालमा वार्षिक आत्महत्याको दर ७ प्रतिशत रहेकोमा कोभिड १९ भित्रिएको वर्ष यो दर बढेर १४ प्रतिशत पुगेको छ ।
कसरी न्यूनीकरण गर्ने आत्महत्याका घटना ?
मानसिक रोग विशेषज्ञ डा. मरहठ्ठाका अनुसार मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूले पटकपटक आत्महत्याबारे सोचेर योजना बताएर आत्महत्या गर्दछन् । यस्ता व्यक्तिले परिवार आफन्त वा साथीहरूबीच कुनै न कुनै लक्षण देखाएका हुन्छन्, त्यसलाई नजिकका व्यक्तिले पहिचान गरेर परामर्श वा उपचारमा लैजानु आवश्यक हुन्छ ।
यदि कुनै व्यक्तिले आत्महत्याबारे पटकपटक कुराकानी गरिरहन्छ, आफूलाई नकारात्मक सोचले सताएको बताउँछ भने उसको कुरालाई बेवास्ता नगर्ने र परामर्शमा पुर्याउने जिम्मेवारी नजिकका व्यक्तिले निभाउनुपर्दछ । केही व्यक्तिले भने आवेगमा आएर तत्कालै कुनै घटना वा तनावलाई सहन नसकेर आत्महत्या गर्ने गर्छन् ।
जस्तोसुकै स्वभाव भएका व्यक्तिहरूले पनि आफूलाई भइरहेका समस्या, पीडा र तनावको बारेमा नजिकैका व्यक्तिसँग कुराकानी गर्ने गर्छन् । यदि कसैले आफूलाई विविध तनावका कारण आत्महत्या गर्न मन लागेको बताएमा त्यस्ता व्यक्तिलाई काँतर, जीवनसँग हारेको व्यक्ति अथवा वाहियात सोच भनेर आरोप लगाउनुभन्दा उनीहरूको कुरा राम्रोसँग सुनिदिए सहयोग हुने डा. मरहठ्ठा बताउँछन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार १५ देखि १९ वर्ष उमेर समूहका किशोर किशोरीमा मृत्युको चौथो कारण हो, अत्महत्या । यो उमेर समूहमा अरूको बहकाउमा लाग्ने र छिटो विश्वास गर्ने भावना आउने भएकाले आत्महत्या गर्ने सम्भावना रहन्छ । उनीहरूलाई आत्महत्याबारे सोच आउन नदिन तनावलाई कसरी झेल्ने, करिअर कसरी छान्ने, कुलतबाट कसरी बच्ने, कसैले नकारात्मक कार्य गर्न दबाद दिए कसरी नो भन्नेजस्ता जीजवउपयोगी शिक्षा दिनुपर्ने डा. मरहठ्ठा बताउँछन् ।
त्यस्तै, उनीहरूका गतिविधि र दैनिकीबारे अभिभावकले पनि उत्तिकै चासो राख्नु जरुरी हुने उनी बताउँछन् । उनीहरूलाई के कस्ता कुराले नराम्रो महसुस भइरहेको छ, के गर्यो भने त्यसको समाधान निस्किएला भन्नेबारे अभिभावकले बालबालिकासँग एकदमै नजिक भएर कुराकानी गर्नुपर्ने उनी बताउँछन् ।
नेपालमा मानसिक स्वास्थ्य सेवा सीमित भएकाले पनि आत्महत्याका घटना बढेकाले सरकारले यो सेवा सर्भसुलभ बनाउनु पनि नियन्त्रणको महत्त्वपूर्ण उपाय हुने डा. मरहठ्ठाको तर्क छ ।
यदि कसैलाई आत्महत्याबारे सोच आएमा आफ्नो नजिकको विश्वासिलो व्यक्तिलाई भावना सुनाउनुपर्छ । नेपालमा आत्महत्या रोकथाम हेल्पलाइन ११६६ सञ्चालनमा रहेको छ । यदि आत्महत्याबारे कुनैपनि सोच आएमा यो नम्बरमा जुनसुकै समयमा फोन गरेर तालिमप्राप्त परामर्शदाताहरूको सहयोग लिन सकिन्छ ।
भिडियो