यो मुलुकमा सकारात्मक केही छैन ? सकारात्मक प्रयत्न र परिणाम केही आएकै छैन ? कि हाम्रो समाजकै सकारात्मक सोच क्षीण हुँदै स्खलनतिर गएको हो वा सकारात्मक भनिने विषय नै गौण हुन थालेको हो ?
चिया चर्चा वा बाटोघाटोमा भेट हुने चिर परिचित र भर्खरै भर्खर चिनाजानी भएका सबैको प्रतिक्रिया निराशा, नकारात्मक र दुःखी भावमा व्यक्त भएको अत्यधिक सुनिन थालेको छ । प्रायः सबैको मत नकारात्मकता अभिव्यक्तिबाट सुरु हुन्छ ।
के छ, कस्तो चल्दै छ ? भन्ने आपसी क्षेमकुशल सोधाइको औपचारिकतापछि सुरु हुने अरु कुरा बाँकी नै के रहन्छ र ? तब ठोक्किन्छ देश, समाज र राजनीतिकै गफागफ । थाहा राख्ने अरु कुरा, अन्य देशका कुरा वा बाह्य समाजका कुरा नहुने त होइन किन्तु अन्ततः उदाहरण आफैँ र आफ्नो देशको नकारात्मक चित्र चरित्रमा धेरैको सुस्केरा फुस्किन सुरु भइहाल्छ ।
कसैले सकारात्मक पाटो कोट्याउन चाह्यो भने उसले सुरु गर्न पाएकै हाुदैन उत्तिखेरै ‘आग्राको कुरामा गाग्राको जबाफ’ जस्तो प्रतिवाद आइहाल्छ । तब मौन खुम्चिनुबाहेक उपाय हँुदैन । यो सोचमा प्रदूषण हो कि वैशिष्ट्य ?
निश्चय पनि हाम्रो वाचाल शक्ति बढेको छ । वाचाल शक्तिमा स्तरको मापन कसले, कसरी गर्ने ? स्वयं व्यक्ति, समाज कि अरु कोहीले ? वा संगतको फल अनेक छन् भनेर चित्त बुझाउने ? अथवा जस्तो संगत त्यस्तै क्रिया, प्रतिक्रिया सम्झेर तोलाको जिब्रो लुकाउने र धार्नीको मुन्टो हल्लाउने ? कहिले काहीं असमञ्जस हुन्छ ।
वाणीको ब्रह्मत्व, विचारमा सन्तुलन र बहुकोणीय दृश्यभावले राम्रा, नराम्राको पहिचान र प्रस्तुति दिन सक्षम बनाउँदै लग्ने रहेछ । विचारमा पनि वर्ग छ । सामन्त पनि यसैमा भेटिन्छन्, सहरिया गाउँघरका सामान्य नागरिकभन्दा बढी नकारात्मक सुनिन्छन् । कारण होलान् ।
सहरको आवश्यकता, प्रविधिको चकाचौँध र अपेक्षामा त्यो वर्गले जब तादम्य भेट्दैन उसलाई नकारात्मक दृश्यभन्दा पर गोचर हुँदैन ? यो त्यो वर्ग हो जसले आफूलाई सोच्न सक्ने जानकार ठान्छ । यहीँ त्यस्तो मजदुर छ उसको सीमा बिहान, बेलुकाको भेटमा निहित छ । फुर्सद छैन अरु सोच्ने उसलाई ।
धनाढ्य के कुरा ? ऊ आफ्नै चित्र चरित्रको शुद्धताको पुस्ट्याइँमा ध्यानमग्न छ । तर, ध्यानमा चलचित्रको रिलजस्तो दृश्यमा काला, निला, हरिया, पहेँलाबीच शुभ्र पोका पुन्तरा आइहाले ऊ कति पुलकित होला ? यो भौतिक सुखसयली वर्ग टोलै थर्काउने शंखघण्ट बजाउँछ । आआफ्नै विश्वासअनुसार सबैले प्रार्थनाको जप गर्छन् पाप मोचनको कामनासहित ।
वर्ग विभाजित सम्पत्तिको कारणमात्रै किन ? विचारमा वर्ग छ, व्यवहारमा पनि । भूगोलमा वर्ण छ र वर्ग देखिन्छ । मान्छेमा वर्ग धेरै प्रकार छ । सकारात्मक पनि छ, नकारात्मक पनि । मानिसले सोचाइको विकास सकारात्मकबाट गर्ने कि नकारात्मकबाट ? निजी जीवनमै पनि । प्रश्न छ ।
मानिस हुनुपर्ने सकारात्मक प्राणी हो । उसभित्र नकारात्मक भाव हुने नै भयो । यही भावले सकारात्मक भाव खोज्ने हो कि ? कुनै एकमात्र हुने भए त्यसको र अर्कोको औचित्य के बाँकी रहन्थ्यो र ? यी भावमा सीमा र सिंहावलोकनको मात्रा चाहिने हो ।
मानिस नकारात्मक त्यसै हँुदैन तर भनिन्छ केही केही स्वभावैले नकारात्मक हुन्छन् रे ? यो पनि ‘जेनेटिक’ प्रक्रिया नै पो हो कि ? जे होस्, तथ्य चाहिँ कुमालेले आकृति दिने कमलो माटोमा पहिचानजस्तै मानिसलाई परिस्थिति, परिवेश र प्रक्रियाको चक्रले स्वभाव निर्मित गर्छ रे ।
नेपाली समाजमा नकारात्मक सोचको उद्गम गहिरो छ । लामो शृंखला र इतिहास छ । राणावंश शासित नेपाली समाज निषेध र नकारात्मक समयचक्रमा एकसय चार वर्ष दमित रह्यो । आन्दोलन दन्कियो । आन्दोलन कसैको वा खराबप्रतिको नकारात्मक भावकै उपज हो । आन्दोलनले राणा फाल्यो, खोपीमा थन्क्याइएको राजसंस्थालाई समेत प्रजातन्त्रले मुक्ति दियो ।
त्यही निरीह संस्था मुक्तिसँगै राजतन्त्र चलाउने असीमित आकांक्षाले नकारात्मक र निषेधको बाटो हिँड्यो । नागरिक स्वतन्त्रतालाई निषेध गर्न थाल्यो, नकारात्मक भन्न थाल्यो र मुक्तिदाता लोकतन्त्रलाई नै दुत्कार्ने कुकर्मको प्रयोक्ता भयो । नकारात्मक र निषेधको जगमा राजतन्त्रले तीस वर्ष नागरिकको समय खोस्यो ।
दलीय पद्धति पुनः आयो, ल्याइयो । नकारात्मक परम्पराको विकल्प टड्कारो भएन कि ? दलहरुले समाजमा उत्पन्न गर्ने सकारात्मक भाव अझै उपार्जन गर्न सकेनन् कि ? उनीहरु चुके । त्यसैले समाज र मानिसको भावधारा नकारात्मक दिशातिर जबर्जस्त लाग्यो र चिन्तनधारा नै विशृंखल हुन थाल्यो कि ? यो लक्षण के हो ? सम्भावित परिणाम कस्तो ? सकारात्मक सोच्ने कि नकारात्मक ?
दलहरु एकअर्काप्रति अति नै नकारात्मक हुने । शालीन, सभ्य विचार र अभिव्यक्तिले खरो आलोचक हुन नजान्ने । भन्छन् नि ‘पाँडे गाली’मा ओर्लिने । विपक्षको केही पनि सकारात्मक नदेख्ने बरु बद्ख्वाइँमात्र गर्ने प्रवृत्ति नकारात्मक सोचको वाहक हो । यस्तो प्रवृत्तिको प्रत्यक्ष, परोक्ष (दुः)प्रभाव नागरिक समाजमा परेकै छ ।
यस्तो प्रवृत्तिको फैलावटमा पत्रकारिता, सञ्चार माध्यम र सामाजिक सञ्जालको योग कस्तो छ ? कर्मचारी तन्त्र त दोष पन्छाउने संस्कारकै छ । यो संस्कार नकारात्मक हो । विश्लेषकको हिस्सा यसमा कति ? समीक्षा हुन सक्छ कि सक्दैन ?
नकारात्मक संस्कारको एकदुई उदाहरण राखौँ ? पहिलो–‘गोबद्र्धन शर्मा ट्रस्ट’को । गण्डकी प्रदेश सरकारको बजेटमा यो ट्रस्टलाई पचास लाख रुपियाँ दिने प्रस्ताव सार्वजनिक भयो । यस्ता अरु संस्थालाई पनि बजेटको व्यवस्था थियो ।
गोबद्र्धन शर्मा तनहुँमा जन्मिएका प्रजातान्त्रिक आन्दोलनका धरोहर हुन् । अहिले मुलुक र यहाँका नागरिकले जुन स्वतन्त्रता, जुन अवसर र जस्तो प्रणाली पाएका छन् त्यसमा उनको जीवन जोडिएको छ, समर्पित छ ।
सहयोग सार्वजनिक हुनेबित्तिकै सामाजिक सञ्जालहरुमा बडो सादगी, उपदेश र घृणा मिश्रित प्रतिक्रिया आए । सामाजिक सञ्जाल चलाउने पुस्ता इतिहासक पढ्दै न कि, मूल्यांकन गर्दैन ? वा योगदानको सम्मान गर्ने दायित्व बुझ्दैन कि ? अथवा आफ्नै धरातल पनि चिन्दैन कि ? आफूलाई मात्रै चाहिन्छ भन्ने मनोकुण्ठाबाट समाज ग्रस्त हुँदै हो कि ?
निश्चय पनि विकृति, विसंगति र वितण्डाविरुद्ध बोल्नै पर्छ । यसैका लागि गोबद्र्धन शर्माले जीवन समर्पित गरेका हुन् ।
यसको अर्थ योगदानको अवमूल्यन, इतिहासको इज्जतहरण र त्यागको अपमान गर्नु कृतघ्न समाजको द्योतक हो ।
नेपाली समाजमा गोवद्र्धन शर्मा स्मरणीय पात्र होइनन् र ? योगदानको तुल्यतामा उनको स्मृति पचास लाख रुपियाँमा सीमित होला ? यस्ता व्यक्तित्वलाई स्मृतिमा बचाइराख्ने दायित्व राज्यको हो कि, होइन ? रकम सहयोग यस्तै उपायमध्ये एक हो ।
बिचरा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बजेटको यो प्रस्तावप्रति चौतर्फी अविवेकी टिप्पणीको कारण स्थगित गरे, फिर्ता लिए । उनी गोबद्र्धन शर्मा पोखरेलका माहिला छोरा हुन् । गोबद्र्धन शर्मालाई चिन्दै नचिनी गरिएको सामाजिक सञ्जालको टिप्पणी नकारात्मक संस्कारकै उपज उदाहरण हो ।
अर्को उदाहरण प्रमुख प्रतिपक्षी दलको अध्यक्ष केपी शर्मा ओली निस्सृत हालका सुन्दर र उपेदश भन्न मिल्ने वाणी वाणको हो । एउटा हिन्दी भनाइ छ नि – ‘सौ चुहे खाके, बिल्ली चली धाम’। धाम विकल्प शब्दमा प्रयोग गरियो, खासमा ‘हज’ भनिन्छ । धाम भन्दा सबैलाई हुने हज भन्दा खास एक समुदायलाई मात्रै पर्छ कि ?
ओहो, ओली जीले सुशासनको गफ दिन थालेको । गठबन्धनलाई गोली गाँठोदेखिको बल निकालेर सादगीको गाली पुराण सुनाएको । कत्ति सुहाएन । एक वर्षअघि मात्रैको आफ्नो कृत्य, कुकृत्यको ऐना अघि उभिएर ? लामो किन भन्नु पर्यो र भुक्तभोगी उही समाज छ, पूर्वप्रधानमन्त्री ओली जी । नकारात्मक व्यवहार त गरिएकै हो नकारात्मक सोचको नेतृत्व पनि लिने ? सकारात्मक दिशा दिने दायित्व छैन कि ?
भन्नुको मतलब अहिले गठबन्धन सरकारका दल दूधले धोएका छैनन् । यिनले पनि धेरै हिस्सा ओली पथकै लिएका देखिन्छन् – नकारात्मक । यिनै विविध कारण समाज अधिक नकारात्मक बन्दैछ ।
कतै यो लेख नै पनि नकारात्मक नमानियोस् । भन्न खोजेको सकारात्मक सोचाइको सन्देशमा पनि बुझिदिए मेरा लागि यी हरप सार्थक हुनेछन् ।