site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
विकटका महिलाको पीडा : बाटोमै बिचल्ली हुने डरले घरमै सुत्केरी
तस्बिर : हेमन्त केसी, रासस

काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका–३ मुल्सामकी मीना नेपालीलाई साउन १४ गते सुत्केरी हुने मिति भनेर दिइएको थियो । सोहीअनुसार उनी घरबाट ६ घन्टाको बाटो हिँडेर प्राथमिक स्वास्थ्य केन्द्र लिम्सा पुगिन् । चेकजाँच गराइन् । तर उनको अवस्था लगभग सामान्य थियो ।

त्यतिबेलासम्म मीनामा प्रसव व्यथाको संकेत थिएन । अरू कुनै स्वास्थ्य समस्या पनि देखिएन । उनको सुत्केरी हुने दिन भने नजिँकिदै थियो ।

स्वास्थ्य केन्द्रकी अनमी कल्पना रोकायाले उनलाई केन्द्रमै भर्ना भएर बस्न आग्रह गरिन् । तर, मीनाले आफूसँग दूध खाने बच्चा पनि साथमै रहेको कारण देखाएर केन्द्रमा बस्न मानिनन् । बरु आफन्तको घरमा बस्ने र व्यथा लाग्न बित्तिकै आइपुग्ने भनेर विदा भइन् ।

Dabur Nepal
NIC Asia

साउन १६ गते उनलाई सुत्केरी व्यथाले च्याप्यो । उनलाई स्वास्थ्य केन्द्रतर्फ लगियो । तर, स्वास्थ्य केन्द्र पुग्न १५ मिनेट बाँकी छँदै उनले साँझ साढे ५ बजे बाटोमै शिशुलाई जन्म दिइन् । 

"स्वास्थ्य केन्द्र आइपुग्न १५ मिनेटजति बाँकी रहँदा बाटोमै उहाँको डेलिभरी भएछ । पछि त्यहीँबाट अस्पताल ल्याएर सालनाल काटियो । अस्पतालमै राखेर आमाछोरीको अवस्था सामान्य भएपछि अर्कोदिन बिहान डिस्चार्ज गरी पठाएका हौँ," स्वास्थ्य केन्द्रकी अनमी रोकायाले भनिन् । 

उनका अनुसार आमा र शिशुको अवस्था सामान्य छ । उनीहरू दुवै स्वस्थ छन् । 

मीनाले बाटोमै शिशुलाई जन्म दिइरहेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । अधिकांश सामाजिक सञ्जालका प्रयोगकर्ताले देशको स्वास्थ्य स्थितिमाथि गम्भीर रूपमा प्रश्न गरिरहेका छन् । राज्य संयन्त्रलाई गिज्याइरहेका छन् ।

तर, बारेकोटका धेरै महिला बर्थिङ सेन्टर नजिकै नहुँदा घरमै सुत्केरी हुने गरेको स्वास्थ्य केन्द्रको तथ्यांकले देखाउँछ ।

बारेकोट गाउँपालिकाका नौवटा वडामध्ये सडक सुविधा नपुगेको वडा नम्बर ३ विकट वडाको रूपमा चिनिन्छ । सडक सुविधा नपुगेको र बर्थिङ सेन्टरसमेत नभएकाले मुल्सामबासी सुत्केरी गराउन २ नम्बर वडा लिम्सामा रहेको प्राथमिक स्वास्थ्य केन्द नै पुग्नुपर्ने बाध्यता छ ।

पालिकाभित्र चारवटा बर्थिङ सेन्टर छन् । तर ९ वटा वडा भएकाले सबैलाई पायक पार्ने ठाउँमा ती सेन्टर छैनन् ।

"मीना नेपालीको केसमा पनि घरनजिक बर्थिङ सेन्टर नहुँदा ६ घण्टा हिँडेर आउनुपर्ने बाध्यता आएको हो," बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरी भन्छन्, "सबै वडामा पुग्नेगरी बर्थिङ सेन्टर बनाउन यसअघिकै गाउँपालिका अध्यक्षको कार्यकालमा योजना पास भइसकेको रहेछ । तर बनेका छैनन् । ३ नम्बरमा यही वर्ष बर्थिङ सेन्टर स्थापना गर्ने मेरो लक्ष्य छ, त्यसैअनुसार प्रक्रिया अघि बढाएको छु ।"

आफू प्रजनन् स्वास्थ्यजस्तो महत्वपूर्ण सेवाबाट कोहीपनि बञ्चित हुन नहुनेमा सचेत रहेको बताए ।

बाटोमा बिजोग हुने डरले घरमै सुत्केरी
बारेकोट गाउँपालिकामा प्राथमिक उपचार केन्द्र र बर्थिङ सेन्टर नजिकै भएका महिला नियमित गर्भजाँच र शिशुलाई खोप लगाउन पुग्छन् । स्वास्थ्यकर्मी पुग्नसक्ने ठाउँहरूमा प्रसुतीका लागि स्वास्थ्यकर्मीहरूलाई घरमै बोलाउँछन् ।

तर, बर्थिङ सेन्टर धेरै टाढा भएका महिला घरमै सुत्केरी हुने गरेको प्राथमिक स्वास्थ्य केन्द्र लिम्साकी अनमी रोकाया बताउँछिन् । "बर्थिङ सेन्टरबाट टाढा रहेका दिदीबहिनीहरू बाटोमै सुत्केरी भएर बिजोग हुन्छ कि भनेर डराउनुहुन्छ । बरु घरमै सुत्केरी गराउँदा सुरक्षित भइन्छ भन्नुहुन्छ," रोकायाले भनिन् ।

आर्थिक वर्ष २०७७/०७८ मा पालिकाका २८ जना घरमै सुत्केरी भएको तथ्यांक छ । आर्थिक वर्ष २०७८/०७९ आइपुग्दा यो संख्या बढेर ३० पुगेको छ । पछिल्लो वर्ष घरमै सुत्केरी भएका आमाबाट जन्मिएका ३० जनामध्ये दुईजना नवजात शिशुको मृत्यु भएको रोकाया बताउँछिन् ।

पर्याप्त बर्थिङ सेन्टर र स्वास्थ्यकर्मीको अभावमा अझैपनि जाजरकोटका महिला प्रजनन् स्वास्थ्य अधिकारबाट वञ्चित हुनुपरेको देख्दा स्वास्थ्यकर्मीको हिसाबले दु:ख लाग्ने रोकाया बताउँछिन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १८, २०७९  २०:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro