उत्प्रेरणा दिने, आशा जगाउने, बाटो देखाउने, मार्गदर्शन गर्ने, जीवन दर्शन गराउने, सत्य पथका कुराहरु धेरै छन् । ती सबै ससाना हुन्छन्, नदेखिन सक्छन् तर ती जिवन्त छन् र त संसार चलिरहेको छ ।
भ्रष्टाचार, अन्याय, अत्याचार, बेथिति, स्खलित मानवताबीच पनि संसार सुन्दररुपमै अगाडि बढिरहेको छ र यो अझै उज्यालो उन्मुख छ । अव्यवस्था, भ्रष्टाचार र नराम्रा कुराको प्रचार बिजुली गतिमा भइरहेको हुन्छ भने राम्रा कामकुरा प्रशान्त महासागरजस्तै धीर गतिमा संसारलाई, मान्छेलाई बचाउँदै चलिरहेका छन । हजारौं हुन्छन् ससाना कुरा, काम, विचार तर निरन्तर, नित्य र निश्चित ।
आखिरमा यो संसार भनेकै ससाना कुराहरुको सार वा योग न हो । अणु परमाणुको संगम हो । बिउ सानै हुन्छ, अर्बाैं मान्छेहरुमध्ये एकजनाको विचारले सारा संसार तर∙ित बनाउँछ । आउनुस हामी ससाना कुरा गरौं, ससाना काम गरौँ ताकि यो संसार अझ सुन्दर होस् ।
१. अमिर बम्जन नामका एकजना युवा छन् मकवानपुरको थाहा नगरपालिकाको एउटा गाउँमा । जन्मजातै जटिल शारीरिक अपा∙ता लिएर जन्मेका उनी चेत खुलेदेखि कति दृढ र जीवन्त छन् भने उनका अगाडि कस्तै अप्ठेरो पनि सहज लाग्छ । गरिब परिवारमा जन्मिएका उनी साहस र कर्मका यस्ता सम्मिश्रण हुन् जुन बिरलै मानिसहरुमा पाइन्छ । हताखुट्टा दुवै नचल्दा र सधैँ छातीले टेकेर घोप्टो परेर बस्नुपर्दा पनि उनले सृजनामा नयाँ नयाँ उपलब्धि हासिल गरिरहेका छन् । पत्नी, छोरी र परिवारको मियो भएर बसेका छन् ।
उनलाई देख्दा सधैँ सकारात्मक ऊर्जा प्राप्त हुन्छ भने सबै थोकले पूर्ण भएर पनि कसरी हामी बहाना बनाएर आफैँले आफैँलाई नकार्छौ भन्ने पनि बुझ्न सजिलो हुन्छ ।
जान्न मन छ उनको बारेमा भने आफैँलाई प्रेरित गर्न मन भए हेर्नुस् युट्युबमा अमिरलाई यस लिंकमा :
२. केही दिनअघि एका बिहानै हिँड्दै थिए । सरसफाइ कर्मीहरु बाटो सफा गर्दै थिएँ । मेरो लागि यो दृश्य नौलो थिएन तर केही फरक देखिरहेको थिएँ । एकछिन त म पनि अलमलिएँ तर त्यो फरक खुट्ट्याउन मलाई गाह्रो भएन । उनीहरु सधैँभन्दा फरक दुई काम गर्दै थिए ।
क. बाटोका किनारमा रहेका घर अफिसमा सवारी साधन लैजान पानी बग्ने नालीमाथि राखिएका फलामका जालि निकालेर त्यसका मुनि वर्षौंदेखि जम्मा भएका प्लास्टिक, माटो, बालुवा, बोतललगायतका फोहोरहरु निकालेर पानी बग्न नाली खुलाउँदै थिएँ । साँच्चै भन्ने हो भने यो घर धनीले नियमितरुपमा गर्नुपर्ने काम हो तर घर सफा गरेर घरबाहिर फोहोर फाल्ने हामीलाई नगरपालिका वा सरकारै आएर यस्तो काम गरिदिनुपर्छ ।
ख. बाटोमा नालीबाट पानी बगेर जान ठाउँठाउँमा मँगाल राखिएका हुन्छन् तर त्यस्ता अधकिांश मं्गालहरु खुला छन् । त्यस कारण त्यहाँ प्लास्टिकलगायत सबै फोहोर भरिएर जाम हुन्छ । यतिमात्रै हैन कपनमा एक बालकको यस्तै मंगालमा फसेर ज्यानै गएको थियो । मंगालमा परेर मानिस र जनावरहरुको दुर्घटना त कति भएका छन् कति । उनीहरु यस्ता मंगालहरु ढाक्दै थिए फलामको जालीले । यतिमात्र गर्दा प्लास्टिक, ढुंगा, इँटाहरु पसेर पानी रोकिई मंगाल बन्द हुने सम्भावना त घट्छ नै ठूला मानवीय जोखीमहरु पनि कम हुन्छन् । कसले किन सोच्यो यो पनि गर्नुपर्ने काम हो भनेर र गर्ने वातावरण मिलायो होला ?
३. भर्खरै पोखरा महानगरका प्रमुखको आतिथ्यमा ‘मेट्रो मेयर मिट‘ सम्पन्न भएको छ पहिलो पटक । आफूले यस्तो कार्यक्रम सुरु गर्न उछिनेकोमा पोखराका प्रमुख प्रफुल्ल पनि देखिए । नदेखिउन् पनि किन ? ठूलाबडालाई बोलाउँदा सबै हिसाबले नाफा जो हुन्छ । तर उनी आफैँले यौटा भुल गरे । त्यो थियो पानीको बोतल खोल्दा बिर्कोमा लगाइएको प्लास्टिकको सिल भुइँमा फाल्ने । हुनत, यो हामी अधिकांशले पचाइसकेकै कुरा हो । उनकै समकक्षी काठमाडौंका मेयरले भने त्यो सिल भुइँमा नफालेर खल्तीमा हाले । यही सानो फरकले पनि उनीहरु दुवैको सोचाइको स्तर र संवेदनशीलता उजागर भयो ।
प्रविधिले मानिसलाई त्यसमा पनि सार्वजनिक भूमिकामा रहेकालाई त नितान्त निजी अवस्थामा पनि छोड्दैन । कसैले उनीहरुको भिडिओ खिचिरहँदा क्यामेराको लेन्स त्यहाँ पनि पुग्यो र उनीहरुको भेटको दृश्यसँगै त्यो प्लास्टिकको टुक्रा एकजनाले भुइँमा फालेको र अर्काले गोजीमा हालेको दृश्य पनि कैद भयो । हुनत, खल्तीमा हाल्नेबित्तिकै त्यो फोहोर उचित स्थानमा विसर्जन हुन्छ भन्ने त हैन तै पनि खल्तीमा हाल्ने व्यक्तिले उचित ठाउँमा नै तह लगाउलान् भन्ने अपेक्षा त हुन्छ नै ।
यी र यस्तै ससाना कुराहरुले त यो संसारलाई सुन्दर र बस्न योग्य बनाएका हुन् । तपाईँ हामी पनि यस्ता ससाना कुरा पक्कै गर्न सक्छौँ र हामी सबैले यसो गरेमा आउने फरक चाँहि साँच्चै ठूलो र प्रभावकारी हुनेछ । के अब पनि बेला भएन र ससाना कुरामा आनो जिम्मेवारी पूरा गरेर ठूलो परिणाम निकाल्ने ? हामी सकारात्मक परिवर्तन होस् र त्यसको पनि थालनी हामीबाटै होस् भन्ने चाहन्छौं भने सुरु गरौँ ससाना काम गर्न जसले परिणाम दिने पक्का छ ।
२०७९ श्रावण १५