बुटवल । लुम्बिनी प्रदेशमा पछिल्ला तीन वर्षमा ३०० बढी कर्तव्य ज्यान मुद्दा दर्ता भएका छन् । प्रदेश प्रहरी कार्यालय दाङका अनुसार आर्थिक वर्ष २०७६/०७७ देखि २०७८/०७९ सम्म ३०८ वटा मुद्दा दर्ता भएका हुन् ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा प्रदेशका १२ वटै जिल्लामा दर्ता भएका कर्तव्य ज्यान मुद्दाको संख्या ८८ थियो । आर्थिक वर्ष २०७७/०७८ मा १२५ कर्तव्य ज्यान मुद्दा दर्ता भएका थिए । आर्थिक वर्ष २०७८/०७९ मा ९५ कर्तव्य ज्यान मुद्दा दर्ता भए ।
लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै रूपन्देहीमा कर्तव्य ज्यान मुद्दा दर्ता भएका छन् । पछिल्लो तीन वर्षमा रूपन्देहीमा ५६ वटा कर्तव्य ज्यान मुद्दा दर्ता भएको प्रहरीको तथ्याङ्क छ ।
रूपन्देहीका प्रहरी प्रमुख रवीन्द्र रेग्मीले रूपन्देहीमा सीमा नाका, जनसंख्या धेरै, आर्थिक तथा पारिवारिक कारणले कर्तव्य ज्यानसहित अन्य अपराध पनि धेरै हुने गरेको बताए ।