काठमाडौं । शिल्पी थिएटरमा मञ्चन भैरहेको नाटक ‘हिउँको पृथ्वी यात्रा’ले दर्शकको साथ पाइरहेको छ । दर्शकको मागपछि नाटकको मञ्चन मिति थप गरिएको छ ।
दर्शकको माया र प्रोत्साहनलाई सम्बोधन गर्दै शिल्पीले ‘हिउँको पृथ्वी यात्रा’ मञ्चनको समय एक हप्ता थप गरेको जानकारी शिल्पीका निर्देशक घिमिरे युवराजले जानकारी दिए । साउन १ गतेदेखि १५ गतेसम्मका लागि मञ्चन सुरु भएको नाटक अब एक हप्ता बढेसँगै साउन २१ गतेसम्म निरन्तर मञ्चन हुनेछ । नाटक मंगलबारबाहेक हरेक दिन साँझ ५ः३० बजे र शनिबार अतिरिक्त शो १ बजे पनि हुनेछ ।
पृथ्वीमा भएका हरेक सजिव प्राणीबीच विकासको नाममा विनाशले निम्त्याएको विपद्लाई नाटकले हिउँ अनि नदीमार्फत बताउन खोजेको छ । घिमिरे युवराज र अमजद प्रवेजको लेखन अनि निर्देशनमा तयार भएको नाटकमा पवित्रा खड्का, संगीता उराँव, झकेन्द्र बि.स., ज्योति पोखरेल, रविन परियार, गोविन्द ओली, हिमाल भुजेल, सुशिला लोहार, ज्याक बरालको अभिनय छ ।