site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सुनाम संस्कारको नयाँ उपन्यास
Sarbottam CementSarbottam Cement

सुनाम संस्कार एकाएक साहित्यमा उदाए । भूमिगतकालमा विरह र प्रेमका छेउ न टुप्पाका कविता लेख्थे । अचेल पनि पत्रिकामा रहरले हैन, अल्छी मानेर पढ्नुपर्ने कविताहरू छापिन्थे उनका ।

आफूलाई उम्दा कवि ठान्थे । यदाकदा कथा पनि लेख्थे । उनका कथामा खासै ‘कथा’ पाइँदैनथ्यो । ती शब्दको उरुमजस्ता मात्र लाग्थे । पत्रिकाको पाना भर्नका लागि छापिएका हुन्थे ।

तर पनि सुनाम संस्कार साहित्यको केन्द्रमा थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

साहित्यलाई पनि ठेकदारीजस्तै कमाउने भाँडो बनाएका थिए । कसलाई कहाँ प्रयोग गर्ने, कसलाई छिर्के हान्ने, कसको हुर्मत लिने, कसलाई सिँढी चढाउने । साहित्यिक वृत्तको ठूलो झुन्डमा उनकै तजबिजी र तकनिकी स्वीकार गर्न थालिएको थियो । नेपाली साहित्य ‘सुनामपथ’मा हिँड्न लागेको थियो ।

पछिल्ला दिनमा उनको साहित्यिक सक्रियता ह्वात्तै बढेको थियो । दर्जनभन्दा बढी साहित्यिक संस्थाका संस्थापक अध्यक्ष बनेका थिए । साहित्यिक पुरस्कार लेनदेनमा उनको विशेष दिलचस्पी थियो । सरकारी पुरस्कार समेत उनकै सल्लाहमा पँजनी गर्न थालिएको थियो ।
०००

Global Ime bank

‘कवि सुनाम संस्कार उपन्यास लेख्दै !’

यै हेडलाइनमा न्यु शान्तिपुर पत्रिकाले कला–साहित्य पृष्ठमा ठूला अक्षरले सुनामको उपन्यासबारे समाचार लेख्यो । कला–साहित्यको पूरै पृष्ठ सुनामको लेखिन लागेको उपन्यासको चर्चाले भरिएको थियो । उनमा उपन्यासको कथाङ्कुरण भएको बारे पत्रिकाले लेख्यो, ‘सुनाम संस्कारजी मलमूत्र परित्यागार्थ शौचालय पस्नुभएको रहेछ । अलि दिनदेखि उहाँलाई कब्जियतले सताएको रहेछ । आयो आयोजस्तो हुने तर नआउने । आए पनि मलद्वारले अनौठो आवाजसहित सिँगानजस्तो थोरै मल झार्ने । अलि–अलि आउँ पनि परेको अनुभव भएको रहेछ । कमोडमा बसेर कन्दाकन्दा सुनाम संस्कार हैरान हुनुभएको रहेछ । उठेर जाऊँ, फेरि आउला, भित्री वस्त्र बिग्रेला । बसौँ, आउँदैन । यस्तै दोधारमा बसेकै बेला सिद्धार्थ गौतमलाई दिव्य ज्ञान प्राप्त भएभैmँ सुनामलाई उपन्यासको विषयवस्तु फ्याट्टै फुरेको रहेछ ।’

सुनाम संस्कारको औपन्यासिक विषयवस्तु फुराइको सन्दर्भमै न्यु शान्तिपुर पत्रिकाले थप प्रस्ट पारेको थियो, ‘अन्दाजी आधा घण्टाको शौचालय विश्राममा अचानक उहाँलाई उपन्यासको प्लट फुरेछ अनि उपन्यास लेख्न थाल्नुभएछ । सुनाम संस्कारलाई अझै पनि कब्जियतको समस्या छ । तर, कब्जियतकै कष्टका बीच उपन्यास लेखन तीव्र बनाउनुभएको छ । आधा दर्जन कविताकृति लेखिसक्नुभएका सुनाम संस्कार उपन्यासमा समेत मज्जाले जम्ने विश्वास गर्न सकिन्छ ।’

पार्टीमा भूमिगत रहँदा जिल्ला इन्चार्ज ‘विद्रोह’ले दलबहादुर क्षेत्रीलाई ‘सुनाम संस्कार’ बनाइदिएको थियो । पार्टीमाथिको प्रतिबन्ध हटेपछि सुनाम संस्कारले त्यो पार्टी त्यागेका थिए ।

दलन्तरण भइसकेपछि पनि सुनामले यो छद्म नाम परिवर्तन गरेनन् । यै नाम फापेको उनको ठहर थियो । यो नाम निकै प्यारो लागेको थियो । सुनाम यै नामले सबैतिर चिनिन चाहन्थे ।

उनको साथीसँगाती वृत्तमा चलेको गाइँगुइँअनुसार दुईवटा सरकारी बैंकमा लुटेको पैसा पार्टीले उनैलाई राख्न दिएको थियो । त्यो पैसा उनैले गुपचुप पारे । त्यै पैसाले काठमाडौँमा घर किने । सदरमुकाममा घडेरी किने ।

पार्टीले उनलाई विशेष निगरानीमा राखेको र पार्टीमा रहन असुरक्षा भएपछि पार्टी परिवर्तन गरेका थिए ।

सुनाम संस्कार एउटा श्रेणीविहीन ठेकदार थिए । श्रेणीकृत ठेकेदारको काम आफूले लिएर गर्थे । सामान्य पेटी ठेकदारले असामान्य शक्ति आर्जन गरेका थिए ।

उनको अप्रत्यासित शक्ति आर्जन देखेर उनलाई चिन्नेहरू छक्कै परेका थिए । छोराछोरी अमेरिका पठाएका थिए । जिल्ला सदरमुकामको घर भाडामा लगाएका थिए । गाउँको घरमा बाआमा राखेका थिए ।

पेटको असहजताबारे उनले श्रीमतीलाई भनेका थिएनन् । हिजोअस्तिदेखि नै सुनामको पेटमा गडबडी भएको थियो । शौचालयमा केही ढिलो हुन्थ्यो । श्रीमतीले हेक्का राखेकी थिइनन् ।

तर, सो दिन श्रीमान्ले शौचालयमा निकै विलम्ब गरेकोले उनी संशयमा परेकी थिइन् । सुनाम शौचालयबाट बाहिरिएपछि श्रीमतीले सोधिन्, ‘ट्वाइलेटमा धेरै बेर अलमल गर्नुभो । हजुरलाई सन्चो छैन कि के हो !’

सुनामले भने, ‘अलि–अलि पेट कट्टी भै’राछ आँकुरा । ढुस्स पेट पनि फुलेको छ । श्यामकलालाई अलिकति ज्वानो र नुन राखेर पानी तताउन भन है !’

कामदार श्यामकला भातभान्सामा व्यस्त थिइन् । उनलाई कामको लेखो थिएन । घर पुछ्ने, कुचो लगाउने, कुकुर डुलाउने, बजार जाने उनका नियमित रुटिन थिए । कहिलेकाहीँ काम निकै थपिन्थे ।

भेटघाटका लागि पाहुना आइरहन्थे । पाहुना बढी हुँदा काम पनि बढी हुन्थ्यो । मध्य दिनसम्म जुठा भाँडाको पसारो हुन्थ्यो । आँकुराले ज्वानोपानी तताउन अह्राएपछि श्यामकला मुन्टो हल्लाएर मालिक्नीको आदेश तामेली गर्न भान्सामा पसिन् ।

कहाँका चिसा बन्दुक, कहाँको कष्टकर भूमिगत जीवन, कहाँको सातुसामल, कहाँ पाखापखेरा र ओडारको वास । अहिले सुनाम सम्पन्नताका दिन बिताइरहेका थिए । मानौँ, ती दुःख उनले भोगेका थिएनन्, सपनामा देखेका थिए र ती सबै झुटा थिए । सुनामको जीवनमा अकल्पनीय उलटपुलट भएको थियो । 
०००
न्यु शान्तिपुरले अतिशयोक्तिपूर्ण समाचार छापेको भोलिपल्ट यस्तै व्यहोराको समाचार न्यु क्रान्तिपुर पत्रिकाले पनि कला पृष्ठमा विशेष महत्त्वका साथ छाप्यो ।

नामी–नामी प्रिन्ट मिडिया र तिनका अनलाइन संस्करणमा सुनाम संस्कारको उपन्यास लेखन र नेपाली साहित्यमा दिएको योगदानका बारे महिनौँसम्म चर्चा भइरह्यो ।

न्यु शान्तिपुर पत्रिकाले पहिलो समाचार छापेको ठ्याक्कै महिना दिनमा अर्को समाचार छाप्यो, ‘सुनामको पहिलो च्याप्टर समाप्त’ । यस शीर्षकमा पनि सो पत्रिकाले लामै बयान छापेको थियो । पत्रिकाले सुनामको पेटको गडबडी निको भएको पनि लेखेको थियो ।

अर्को दिन न्यु क्रान्तिपुरले छाप्यो । एवम् रीति– समाचारपत्रहरूले सुनामको उपन्यासबारे न्युज दिइरहे ।

सुनामका सामाजिक सञ्जालका साथीले बधाईको ओइरो पहिरो नै लगाए । अमेरिका, अष्ट्रेलिया, जापान, यूके, कोरियातिरबाट प्रकाशन हुने नेपाली अनलाइन पत्रिकाले सुनामको उपन्यासको हाइलाइट समाचार छापे ।

मानौँ, सुनाम संस्कार उपन्यास हैन, महाभारत लेख्दै छन् । नमाज लेख्दै छन् । बाइबल लेख्दै छन् । धम्मपद लेख्दै छन् । लाग्थ्यो– उनको उपन्यासको अगाडि बीपी पुड्का हुनेछन् । पारिजात फिका हुनेछिन् । तारिणी, विजय, गोविन्द, भिक्षु, विकल, मदनमणि, डायमन, जगदीश, बानिराहरू होचा हुनेछन् ।

दर्जनौँ पत्रिकाले सुनामको उपन्यासको दोस्रो, तेस्रो गर्दै अन्तिम च्याप्टरसम्मकै लेखनको समाचार छापे । यसबीचमा सुनामबारे पनि फरक–फरक कोणबाट तथ्यहरू बाहिर आए ।

उनले सुत्ने, उठ्ने, खाने, लाउने, लेख्ने समयलगायत दैनन्दिनका कुरा समाचार बने । तर, उपन्यासको विषयवस्तुबारे कसैले दुईचार शब्द पनि खर्च गरेनन् ।

उपन्यासको आवरण सार्वजनिक भएको दिन सहरका सबै पत्रिकाले पुस्तकको सानदार फोटो छापे । लामो–लामो अन्तर्वार्ता हाले । उपन्यास अंश छापे । उनलाई सयौँले भेटेर बधाई दिए । सामाजिक सञ्जालमा बधाई दिने हजारौँ भए । लाइक, कमेन्ट, रियाक्टादि त कति हो कति !

सुनामको किताब विमोचन हुने दिन सहरका मुख्य ठाउँमा पर्चा बाँडियो । पोल–पोलमा पोस्टर टाँसियो । पुस्तक पसलहरूमा ब्यानर राखियो । देशका प्रख्यात साहित्यकार, नेता, पत्रकार, राजनीतिज्ञ, समाजसेवी, कलाकार, समीक्षक, समालोचकलगायत मानिस उपस्थित थिए । विशेष सीपले सज्जित दुबोको मालामा सुनाम बेहुलोझैँ सजिएका थिए ।

प्रधानमन्त्री कार्यालयमा उपन्यास विमोचनको चाँजो मिलाइएको थियो । केही समयदेखि प्रधानमन्त्री कार्यालय कार्यकर्ताको किताब विमोचनस्थल बनेको थियो । चिया–चमेना, हल र रहलपहल सबै खर्च सरकारी हुन्थ्यो । सुनामको पनि त्यै भयो । त्यहाँ मानिसहरू बाक्लै उपस्थित थिए । हलमा भरिभराउ दर्शक थिए ।

उपन्यास विमोचनका लागि प्रधामन्त्रीजीको प्रवेश भयो । उपस्थितले उठेर प्रधानमन्त्रीजीलाई तालीले स्वागत गरे । प्रधानमन्त्री अतुलनीय मुस्कानका साथ नमस्कार गर्दै आसनमा बस्नुभो ।

सुनाम संस्कारको प्रधानमन्त्रीजीसँग राम्रै र लामै उठबस थियो । उनी पूर्वपार्टी परित्याग गरेपछि प्रधानमन्त्रीकै पार्टीमा प्रवेश गरेका थिए । प्रधानमन्त्रीजीले नै ऊ बेला सुनामलाई सिन्दूर–मालासहित पार्टीमा स्वागत गर्नुभएको थियो । सुनाम प्रधानमन्त्रीको पार्टीको एक भरलाग्दा कार्यकर्ता बनेका थिए ।

विमोचन सुरु भयो । पाश्र्वमा मंगल धुन बज्न थाल्यो । प्रधानमन्त्रीजी उठ्नुभो । साहित्यकारजी उठ्नुभो । पत्रकारजी उठ्नुभो । सबै उठ्नुभो ।

मञ्चासीन सबैले किताबको र्यापिङ पेपर खोल्नुभो । दर्शकहरूले ताली बजाउनुभो । किताब विमोचित भयो ।

प्रधानमन्त्रीजीले भन्नुभो, ‘सुनामजी जस्ता साहित्यकार पाएर हाम्रो भाषा–साहित्य धन्य भएको छ । विकास निर्माणमा उहाँले दिनुभएको योगदानको त सर्वत्र चर्चा भएकै छ, साथसाथै कवितामा उहाँको उपस्थिति निकै अर्थपूर्ण रहेको छ । उपन्यास विधामा पनि उहाँले नयाँ उचाइ लिनुहुने कुरामा म विश्वस्त छु । सुनामजीलाई सफलाको शुभकामनासहित बधाई दिन चाहन्छु ।’

बिगहाउस मिडियाका हाइप्रोफाइल पत्रकारसँग सुनामको राम्रो ‘सम्बन्ध’ थियो । सुनामका यसअघिका कार्यक्रममा पत्रकारको भिडै हुन्थ्यो । अझ स्वयं प्रधानमन्त्री उपस्थित भएको कार्यक्रममा पत्रकारको भिड हुने नै भयो ।

कार्यक्रमस्थलमा पत्रकारहरूको कुदाकुद, भिडमभिड, लुछाचुँडी, धकेलाधकेल, उछिनपाछिन हेर्न लायक थियो । केका लागि थियो यो ! र, केका लागि हुने गर्थ्यो !

तर, एउटा सामान्य ठेकदारको सामान्य किताबको विमोचनमा प्रधानमन्त्रीको महत्त्वपूर्ण समय खेर गएको र सरकारी सम्पत्ति दुरुपयोग भएको बारे कसैले प्रश्न गर्थेन ।

प्रधानमन्त्री हतारमा हुनुहुन्थ्यो । सुनामको उपन्यास लोकार्पणलगत्तै उहाँ बाहिरिनुभो । पत्रकारले बोले । समीक्षकले बोले । साहित्यकारले बोले । अन्त्यमा उपन्यासकार सुनामले बोले ।

उपन्यासको विमोचन सकियो । ‘केन्द्र’का पत्रकारहरूले लगत्तै पुस्तकको कभरसहित अनलाइन संस्करणमा ब्रेकिङ समाचार छापे । ‘मोफसल’ले पनि त्यसैलाई काटकुट पारी न्युज हाल्यो ।

बेलुका सुनामले विशेष पार्टीको आयोजना गरे । नामी–नामी पत्रकारहरू बोलाइए । टेबुल–टेबुलमा राखिएको व्यञ्जनसूची हेरेर व्यञ्जनादि अडर गर्न सकिन्थ्यो । सुनामले सबैलाई इच्छामाफिक भोजन गराए । राष्ट्रिय–अन्तर्राष्ट्रिय ब्रान्डका बियरका कार्टुन खोलिए, रित्याइए ।

खसीका चोक्टा चपाइए । कुखुराका साँप्रा लुछिए । मांसाहारीले मांसाहार गरे । शाकाहारी शाकाहार गरे । पार्टी सकिँदा रातको बाह्रै बज्यो । सहभागीका खुट्टा टेकिन छाडे । कोही होसमा कोही बेहोसमा लड्खडाउँदै आ–आप्mना घरकोठामा पुगे ।

भोलिपल्ट पत्रिकाहरूले विमोचनको समाचार पूरा पृष्ठमा छापे । सरकारी पत्रिकाले प्रधानमन्त्रजीले पुस्तक विमोचन गर्नुभएको फोटो फ्रन्टपेजमै ब्यानर न्युजसहित छाप्यो । सुनामलाई चिन्नेले पनि चिने । नचिन्नले पनि चिने ।

उपन्यासको ‘केन्द्र विमोचन’ पछि अर्को हप्ता ‘प्रदेश विमोचन’ भयो । त्यहाँ पनि मुख्यमन्त्रीले सुनामको मुक्तकण्ठले प्रशंसा गरे । ‘वहाँजस्तो साहित्यकार नेपाली साहित्यले पाउनु गर्वको कुरा हो’ भने ।

अर्को हप्ता ‘जिल्ला विमोचन’ र ‘पालिका विमोचन’ एकै दिनमा भयो । भोलिपल्ट ‘गृह विमोचन’ भनी वडामै विमोचन कार्यक्रम भयो । यसरी सुनामको उपन्यासको विमोचनको लमतन्ने शृंखला समाप्त भयो ।

आश्चर्य ! हल्लाखल्ला, चर्चा परिचर्चा, आक्रामक प्रचारप्रसार, अधिकारको उपयोग÷दुरुपयोग भरमार भए पनि सुनामको उपन्यास केन्द्र विमोचनमा जम्मा दश प्रति बिकेको रहेछ । प्रदेश विमोचनमा सात प्रति । पालिका विमोचनमा पाँच प्रति । गृह विमोचनमा तीन प्रति ।

सुनामको उपन्यास जम्मा पच्चीस प्रति खुद बिक्री भएको देखियो । उनैले एक चल्तापुर्जा प्रकाशकलाई सम्पूर्ण खर्च दिएर प्रकाशकको लोगो प्रयोग गरेका थिए । प्रकाशकलाई लगानी उठाउने कुनै झन्झट थिएन । प्रकाशक चुपचाप थियो, किनभने ऊ पहिल्यै नाफामा थियो ।

यत्राविधि साथीसँगाती र सम्बन्ध, चकाचौध प्रचारप्रसार, बिगहाउस मिडिया र तिनका हाइप्रोफाइल पत्रकारले धमाकेदार समाचार दिँदा पनि बजारमा पुस्तकको माग नभएकामा सुनाम चिन्तित भए । सोचेका थिए– उपन्यास वर्षभरि नै बिक्रीको एक नम्बर ट्रेन्डिङमा पर्छ । परिमाण ठिक उल्टो भएपछि सुनाम रन्थिनिए । आफन्त र साथीभाइसँग पनि रिस उठ्यो । 

‘यति राम्रो विषयवस्तु, साथीहरूको बढाइचढाइ, पत्रकारहरूको व्यापक संलग्नता, विमोचनमा प्रधानमन्त्रीको उपस्थिति हुँदा पनि किताब किन बजारमा माग भएन ! विमोचनमा किन मानिसले पुस्तक किनेनन् !’

सुनामले विमोचनको शृंखला सकेर आएको रात यस्तै कुरा सोचे । उनलाई रातभर निन्द्रा लागेन । समय कहिल्यै गएन । घडी हेर्दै र कोल्टे फेर्दै छटपटीमै रात बित्यो ।

सुनामले उपन्यास बिकाउनका लागि विशेष रणनीतिक योजना बनाए । एक दिन उनले घरमा आफन्तीहरूको भेला गरे । गृहको शाखा अधिकृत सालोलाई बोलाए । परराष्ट्रको उपसचिव जेठानलाई बोलाए । युवा परिषद्की नासु सालीकी छोरीलाई बोलाए । शिक्षा मन्त्रालयको भान्जोलाई बोलाए ।

सुनामले सालोलाई एक सय प्रतिको बोरा थमाए । परराष्ट्रको जेठानले पुस्तकालय र विदेशतिर पठाउन भनेर दुई सय प्रति बोक्यो । शिक्षा मन्त्रालयको भान्जाले उपत्यकाका स्कुलमा सप्लाई गर्ने गरी पाँच सय प्रति गाडीमा हाल्यो । सालीकी छोरीले तीन सय प्रति उठाई । एवम् प्रकारले आफन्त र साथीभाइले छापिएको सबै उपन्यासको रकम सरकारी ढुकुटीबाट भुक्तानी हुने गरी उठाइदिए ।

किताब सर्टेज भएको समाचार फेरि न्यु शान्तिपुरले महत्त्वका साथ छाप्यो । अर्कोले छाप्यो अनि अर्को अर्को गरी भएभरका पत्रिकाले छापे । प्रथम संस्करणको पन्ध्र दिनमै उपन्यासको दोस्रो संस्करण निस्कियो । सुनामले आफन्तको अर्को भेला गरे । त्यसरी नै किताब थमाएर पठाए । यसरी नै सुनामको उपन्यासको नयाँ संस्करण छापिँदै गयो ।

सामाजिक सञ्जालमा उपन्यासको काया भाइरल भयो । सुनाम भाइरल भए । तर, उपन्यास भाइरल हुन सकेन । उनको उपन्यासको कथाको, पात्रको, उचाइको, साहित्यिक गुणवत्ताको कसैले चर्चा गरेन । 
०००
एक दिन सुनाम संस्कार प्रातः भ्रमणमा निस्केका थिए । परबाट एकजना ‘खालीसिसी पुराना कागज’वाला उनै भएतिर आउँदै थियो । बगलकै स्कुलबाट एकजना महिला गेटबाहिर आइन् । उनले पुराना कागजवालालाई सोधिन्, ‘किताब पनि लैजाने हो ?’ खालीसिसीवाला बोल्यो, ‘भइहाल्छ नि हुजुर ! जल्दी–जल्दी ल्याइहाल्नुस् ।’

ती महिला भित्र पसिन् र एक बोरा किताब ल्याएर खालीसिसीवालाको अगाडि राखिदिइन् । उनले भनिन्, ‘एक बोरा किताबको कति दिनुहुन्छ ?’ खालीसिसीवालाले भन्यो, ‘पत्रिकाजस्तो हैन हुजुर । बोराको एक सय दिइहाल्छु ।’

क्रेता र विक्रेताको एकै वचनमा कुरा मिल्यो । सुनाम संस्कारले बोराको किताब मोलमोलाइको बातचित सुने । खालीसिसीवालाले मोलेको बोराभरि आफ्नै उपन्यास देखेपछि सुनाम तिल्मिलाउँदै अगि बढे ।

सहरमा फोहोर नउठेको हप्तौँ भएको थियो । गनाएर नाक थुनेर हिँड्नु पर्थ्यो । नाक थुने पनि आँखा फोहोर रासतिर पुगिहाले । उनले देखे, फोहोरको रासमा एक चाङ उपन्यास उनैलाई हेरिरहेका थिए ।

अलि पर पुगेपछि उनलाई मूत्र त्यागको इच्छा भयो । यताउता हेर्दा अलि परै सार्वजनिक शौचालय देखे । हतार–हतार त्यहाँ पुगे । शौचालय अत्यन्त फोहोर र दुर्गन्धित थियो । नाक बन्द गरेर मूत्र त्याग गर्दै थिए, उनका आँखा मानव मल पुछपाछ पारेर फालेको कागजमा परे । त्यो कागज उनकै उपन्यासको पहिलो च्याप्टरको पहिलो पातो थियो ।

किताब बिक्नु र बिकाउनु, किन्नु र किनाउनुको फरक सुनाम संस्कारले आफ्नै किताबमा, आफ्नै आँखाले चक्षुबोध गरे । तर, आत्मबोध गर्न सकेनन् ।

सोचे, ‘कसरी मेरो उपन्यासको यति छिट्टै यस्तोे हालत भयो ! पत्रिकाले यस्तो कुरा थाहा पाएर समाचार लेखे भने !’ उनलाई चिटचिट पसिना आयो ।

शौचालयबाट सुरु भएको उनको उपन्यास लेखन यात्रा एक प्रकारले शौचालयमै गएर टुंगिएको थियो । उपन्यास बोरामा, फोहोरको रासमा र शौचालयमा ल्याइपुर्याउनेहरूलाई सत्तोसराप गर्दै सुनाम शौचालयबाट बाहिर निस्के । बाहिर सडक, रूख, बिजुलीका पोल, गाडी, मानिस, सबै फनफनी घुमिरहेको देखे ।

sayapatrim@gmail.com

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १४, २०७९  ०८:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !