site stats
बाह्रखरी :: Baahrakhari
देश
पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध
फाइल तस्बिर ।

लमजुङ । अविरल वर्षासँगै आएको बाढीपहिरोले गए रातिदेखि डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ ।

सो सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१, उदिपुरको देउराली डाँडामा पहिरोले सडक अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए । वैकल्पिक सडकका रूपमा रहेको श्रीजंग गण नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस सडकमाथिबाट रिठ्ठेबगरमा लेदो आएर सडक अवरुद्ध बनेको उनको भनाइ छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

लेदोले सडक अवरुद्ध हुनुका साथै उक्त स्थानको वैकल्पिक सडक पनि भासिएको छ ।  मर्स्याङ्दी नदीले तलबाट कटान गर्नुका साथै माथिबाट बगेर आएको लेदोले करिब तीन मिटर सडक भासिएको प्रहरीले जनाएको छ ।

सडक अवरुद्धका कारण बिहानैदेखि कुनै पनि सवारीसाधन आवतजावत हुनसकेको छैन । डुम्रे–बेँसीसहर सडकखण्डअन्तर्गत उक्त देउराली डाँडामा गत वर्ष समेत पहिरो गएपछि वैकल्पिक रूपमा सो स्थाननजिकै माथिबाट सडक सञ्चालन गरिए पनि गएको साता आएको बाढीपहिरोले उक्त सडक समेत बगाएपछि उक्त सेनाको सडक हुँदै सवारी सञ्चालन गर्ने गरिएको छ ।

सडक अवरुद्ध भएपछि बेँसीसहरबाट काठमाडौं, पोखरा, चितवन, गोरखा, तनहुँलगायत स्थान जाने र ती स्थानबाट बेँसीसहर आउने सवारीसाधन सञ्चालन हुनसकेको छैन । गएको असार २८ गते सोही स्थानमा सडक अवरुद्ध भएको थियो । त्यसअघि पनि पटकपटक सडक अवरुद्ध हुँदै आएको थियो । ४२ किलोमिटर दूरी रहेको यस सडकमा पहिरोले यात्रुलाई समस्या उत्पन्न हुँदै आएको छ । रासस

प्रकाशित मिति: सोमबार, साउन २, २०७९  ०९:११
प्रतिक्रिया दिनुहोस्