site stats
बाह्रखरी :: Baahrakhari
देश
एमालेले भनेजस्तो के म्याद गुज्रिएर १० लाख डोज कोरोनाविरुद्धको खोप फ्याँकिएको हो ?

काठमाडौं । कोभिड–१९ विरुद्धको खोप व्यवस्थापन गर्न नसक्दा पछिल्लो समय धेरै खोप म्याद गुज्रिएर खेर गएको आरोप वर्तमान सरकालाई लागेको छ । पछिल्लो समय दाताहरूमार्फत आएको खोप कोल्डचेनमा थन्किएको तर कतिपय नागरिक खोप पाउनबाट अझै बञ्चित भएको भन्दै सरकारको आलोचना भइरहेको छ ।

नेकपा (एमाले)ले त सरकारले १० लाख डोज खोप म्याद गुज्रिएर फालेको र थप २० लाख डोज खोप छिट्टै म्याद गुज्रिने अवस्थामा रहेकोसमेत दाबी गरेको छ । के आरोपमा भनिएजस्तै ठूलो मात्रामा खोप उपयोग नभएर फ्याँकिएको हो त ? 

यस्तो छ हालसम्म खोपको उपलब्धि 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार नेपालमा हालसम्म खरिद र अनुदानको गरी पाँच करोड ७८ लाख ८३ हजार ९७० डोज कोभिड १९ विरुद्धका खोप भित्रिएको छ । त्योमध्ये साउन १ गतेसम्म ४ करोड ७८ लाख ३८ हजार ८५४ डोज खोप लगाइएको मन्त्रालयको तथ्यांक छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अहिले १२ वर्षमाथिका नागरिकलाई पहिलो दोस्रो र बुस्टर डोज खोप कार्यक्रम सञ्चालन भइरहेको छ भने १२ वर्षमुनिका बालबालिकाई पहिलो र दोस्रो डोज खोप दिइँदै छ । मन्त्रालयको तथ्यांकअनुसार १२ वर्षमाथिका दुई करोड ३३ लाख २७ हजार ६१९ लक्षित जनसंख्यामध्ये हालसम्म दुई करोड ४४ लाख ७ हजार ७६ जनाले दुवै डोज र दुई करोड ५१ लाख ७ हजार ७६२ जनाले पहिलो डोज खोप लगाएका छन् ।

त्यस्तै ६८ लाख ७३ हजार १६ जनाले बुस्टर डोज खोप लगाएको मन्त्रालयको तथ्यांक छ । 

७६ लाख डोज खोप होल्डमा झन्डै चार लाख डोज म्याद गुज्रिने अवस्थामा
कोभिड १९ विरुद्धको खोप सहज भएपछि कोभ्याक्स सुविधामार्फत ७१ प्रतिशत र अन्य माध्यमबाट बाँकी खोप नेपाल भित्रिएको थियो । पछिल्लो समय निशुल्क प्राप्त हुन लागेको खोप समेत खपतको अवस्था हेरेर होल्ड गर्नुपरेको खोप शाखा प्रमुख सागर दाहाल बताउँछन् ।

"पछिल्लो पटक ९२ लाख डोज १२ वर्षमाथिकालाई प्रयोग हुने फाइजर खोप निशुल्क प्राप्त हुन लागेको थियो । तर हाम्रो खपतको अवस्था हेर्दा तत्काल ल्याउनुनपर्ने देखिएपछि १४ लाख डोज ल्याएर अरु होल्ड गरिएको छ," दाहालले भने ।

त्यस्तै  खोप शाखाको पछिल्लो तथ्यांकअनुसार तीन लाख ८१ हजार ७० डोज कोभिसिल्ड खोपको यही जुलाई २३ मा म्याद गुज्रिँदैछ । शाखाप्रमुख दाहाल भन्छन्, "खोपका तीनवटै डोज चलिरहेको छ । यो अवस्थामा अबको केही दिनमै बाँकी रहेको कोभिसिल्ड खोप खपत होला भन्ने हाम्रो अपेक्षा छ ।"

बाहिर सुनिएजस्तो खोप म्याद गुज्रिएर फाल्ने अवस्था नआएको दाहालको दाबी छ  । "जुनसुकै खोपमा केही प्रतिशत वेस्टेज हुन्छ नै यो मात्रा बीसीजी खोपमा ५० प्रतिशत हुन्छभने कोभिड खोपमा १० प्रतिशत छ तथ्य यही हो । वेस्टेज प्रतिशतलाई देखाएर खोप खेर फालेको भन्न मिल्दैन," दाहाल भन्छन् ।

तर खोप व्यवस्थापनमा खटिएका कर्मचारी भने कोभिडकालको दोस्रो लहरमा प्रदेशहरूले आत्तिएर धेरै खोप मागेको तर खोप लगाएको हिसाब खोज्दा नदेखाएको बताउँछन् । कतिपय स्थानीय तहले लक्षित नागरिकमा खोप नदिएर म्याद गुजारेका कारण तथ्यांक पठाउन नसकेको ती कर्मचारी बताउँछन् ।

प्रकाशित मिति: सोमबार, साउन २, २०७९  ०५:४५
प्रतिक्रिया दिनुहोस्