काठमाडौं । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको पौडी पोखरीमा आइतबारबाट ई–टिकटको सुरुआत गरिएको छ ।
विगतको झन्झटिलो टिकट प्रणालीलाई विस्थापन गर्दै रेकर्ड प्रणालीलाई चुस्त दुरुस्त र सरल बनाउन ई–टिकटको सुरुआत गरिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ ।
राखेपका सदस्यसचिव टंकलाल घिसिङले ई–टिकटको उद्घाटन गरेका हुन् । अन्तर्राष्ट्रिय खेलकुद परिसरका प्रमुख देवराज कट्वालले अनलाइन टिकटको पनि चाँडै सुरुआत गर्ने बताएका छन् । ग्रिन टेक कन्सर्न प्रा.लि.ले यो प्रविधिको व्यवस्थापन गरिहेको कट्वालले बताए ।
"विगतमा छपाइ टिकटमा काम गर्दा धरै असहज र झन्झट हुन्थ्यो । यो प्रविधिमा काम गर्दा धेरै सहज भएको छ । अनलाइन टिकट पनि सुरु भएपछि काउन्टरमा भिड पनि कम हुन्छ । त्यसले अझ सहज हुन्छ," परिसरमा कार्यरत सुरत खत्रीले बताए ।