काठमाडौं । अमेरिकाका फ्रेड कर्लीले विश्व एथलेटिक्स च्याम्पियनसिपमा १०० मिटर दौडको उपाधि जितेका छन् ।
२७ वर्षे कर्लीले गत वर्ष सम्पन्न ओलम्पिकमा रजत पदक जितेका थिए । उनले ९.८६ सेकेन्डमा दूरी पार गरेका थिए । मार्भिन ब्रासी–विलियम्स र ट्रेभोन ब्रोभेल दुवैले ९.८८ सेकेन्डमा दूरी पार गरेका थिए ।
१९९१ पछि विश्व च्याम्पियनसिपको १०० मिटर दौडमा स्वर्ण, रजत र काश्य गरी सबै पदक अमेरिकाले जितेको यो पहिलो हो ।
“आजको यो नतिजाले मेरो लागि धेरै ढोका खुलेका छन्,” कर्लीले भने, “मेरो भविष्य उज्वल छ ।”
कार्लीले यसअघि ४०० मिनेट दुरीको दौडमा काश्य पदक जितेका थिए । त्यस्तै २०१९ मा ४ गुणा ४०० मिटर रिलेमा स्वर्ण पदक जितेका थिए । टोकियो ओलम्पिक कर्लीको १०० मिटर दौडमा डेब्यू थियो । डेब्यूमै उनले रजत पदक जित्न सफल भएका थिए ।
उनले हिट चरणमा कीर्तिमानी ९.७९ सेकेण्डमा दूरी पार गरेका थिए । तर, फाइनल चरणमा उनले आफ्नै सहकर्मीलाई ०.०२ सेकेन्डले पछि पार्दै स्वर्ण पदक जितेका हुन् ।