काठमाडौं । पाँच लाख रुपैयाँ र एउटा मोबाइल सेटको प्रलोभनमा नेपालीले भारतमा मिर्गौला बेच्ने गरेको खुलेको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको अनुसन्धानबाट यस्तो रहस्य खुलेको हो ।
यसका लागि गिरोहले काठमाडौंका सडकपेटीका बालबालिका र सोही क्षेत्रमा जीवन बिताउनेहरूलाई निसाना बनाएको देखिएको छ ।
ब्युरोले मिर्गौला बेचबिखनमा संलग्न पाँचजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–५ घर घई भक्तपुरको मध्यपुर थिमि नगरपालिका–५ बस्दै आएका २८ वर्षीय विधान, हिमाल भनिने धनबहादुर रोका, गुल्मीको तम्घास नगरपालिका–२ घर भई काठमाडौंका गौशाला बस्दै आएका ३१ वर्षीय विजय कुँवर, दोलखाको चामुण्डा विन्द्रासयनी नगरपालिका–६ घर भई काठमाडौंको कालोपुल बस्दै आएका २८ वर्षीय धुपेन्द्र शाही, दोलखाकै चामुण्डा विन्द्रासयनी नगरपालिका–६ घर भई काठमाडौंको चाबहिल बस्दै आएका ३२ वर्षीय विमलबहादुर शाही र झापाको पृथ्वीनगर नगरपालिका–१ घर भई थिमि बस्दै आएका २१ वर्षीय छोटे भनिने आशिष तामाङ छन् ।
उनीहरूलाई राजधानीका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये विमलबहादुर र धनबहादुरले भारतमा गएर आफ्नो समेत मिर्गौला बेचेको पाइएको छ । पक्राउ परेका पाँचैजना एकै गिरोहका सदस्य हुन् । उनीहरूले दुईजनालाई भारत लैजान तयारी अवस्थामा राखेका बेला प्रहरीले पक्राउ गरेको हो ।
पाँच लाख र मोबाइलको प्रलोभन
ब्युरोका एसपी दानबहादुर मल्लका अनुसार उनीहरूले सुरुमा काठमाडौंका सडकपेटीका बालबालिकासँग चिनजान गर्थे । चिनजानपछि शरीरमा दुई मिर्गौला हुने र एक बेच्दा केही फरक नपर्ने बताउँथे ।
एसपी मल्लले भने, “उनीहरूले अनेक कुरा गरेर प्रलोभन देखाउँदा रहेछन् । भारतको कोलकाता गई मिर्गौला बेच्दा पाँच लाख रुपैया पाइने र नेपाल फर्किंदा ५० हजार पर्ने मोबाइल समेत पाइने भनेर प्रलोभन दिएको पाइयो । यसबाहेक हामीले पनि मिर्गौला बेचेका हौँ भनेर विमलबहादुर र धनबहादुरले देखाउँदा रहेछन् ।”
मिर्गौला बेच्न सहमत भइसकेपछि उनीहरूले काठमाडौंकै भव्य होटेलमा राखेर रगतलगायत परीक्षण गराउने गरेको खुलेको छ । मिर्गौला दिन योग्य देखिएपछि उनीहरूले भारत लैजाने गरेको पाइएको छ ।
पक्राउ परेका पाँचैजनाले विभिन्न भूमिका निर्वाह गर्दै आएका थिए । उनीहरूले सडकपेटीमा जीवन निर्वाह गर्ने र विभिन्न निर्माण क्षेत्रमा काम गर्ने मजदुरलाई आफ्नो जालमा पार्ने गरेको खुलेको एसपी मल्ले बताए ।
नेपालबाट भारत पुर्याएपछि सुविधासम्पन्न होटेलमा राखेर पौष्टिक आहार समेत खुवाइने गरेको खुलेको छ ।
पीडित कति ?
पक्राउ परेकामाथि प्रहरी अनुसन्धान जारी छ । केही पीडित प्रहरीको सम्पर्कमा भए पनि सबै कुरा अनुसन्धानका दृष्टिले भन्न नमिल्ने ब्युरोले जनाएको छ ।
नेपालमा मिर्गाैला बेच्नु अपराध भएकाले पीडित आफैँ प्रहरीको सम्पर्कमा भने आउँदैनन् । तर, पक्राउ परेका पाँचजनाको गिरोहले हालसम्म करिब २०० जनाको मिर्गौला बेचिसकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
एसपी मल्ल भन्छन्, “पुष्टि हुन बाँकी छ । पीडित सम्पर्कमा आउँदैनन् । तर, यही गिरोहले २०० जना बढीलाई भारत पुर्याएर मिर्गौला बेच्न लगाएको प्रारम्भिक अनुसन्धानमा देखिन्छ ।”