धादिङ । धादिङ जिल्लामा डेंगीका बिरामी बढ्न थालेका छन् । पछिल्लो एक महिनाको अवधिमा जिल्लामा डेंगीका ४९ बिरामी पहिचान भएका हुन् ।
बिरामी जाँच गराउन आएका मध्ये धादिङ अस्पतालमा ४६, गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा दुई र सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा एक गरी ४९ जनामा डेंगीको संक्रमण पुष्टि भएकोे हो ।
पोथी लामखुट्टेले टोकेर संक्रमण हुने डेंगीको बिरामी थपिन थालेपछि पानी जम्न सक्ने भाँडा जस्तै, गमला, फूलदानी, खाली बट्टा, खाली ड्रम, गाडीका काम नलाग्ने टायरमा पानी जम्न नदिन आग्रह गरिएको छ ।
धादिङ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मधुकर दहालले लामखुट्टेबाट बच्न तथा ज्वरो आएमा, बान्ता भएमा वा डेंगीका लक्षण देखिएमा स्वास्थ्य संस्थामा आउन आग्रह गरेका छन् । रासस