काठमाडौं । साहसिक पर्वतारोही निर्मल पुर्जाको डकुमेन्ट्री फिल्म ‘१४ पिक्स : नथिङ इज इम्पोसिबल’ एमी अवार्डमा मनोनीत भएको छ । डकुमेन्ट्री ‘आउटस्ट्यान्डिङ म्युजिक कम्पोजिसन’ विधामा नोमिनेसनमा परेको हो ।
एमी अवार्डको नोमिनेसनमा परेपछि निर्मलले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका छन् । उनले १४ पिक्सको साउन्डट्रयाकका सर्जक नैनितालाई धन्यवाद दिँदै लेखेका छन्, “बधाईका साथै धन्यवाद नयनतारा देसाई, जसले १४ पिक्सको संसारलाई आफ्नो साउन्डट्रयाकले जीवन भरिदिएकी छन् ।”
टोर्किल जोनसको निर्देशन रहेको उक्त डकमुेन्ट्री फिल्ममा पर्वतारोही निर्मल र उनको टिमले आठ हजारभन्दा माथिका १४ हिमाल सात महिनाभित्र आरोहण गरेको विषय समावेश छ । निर्मल र उनको टिमले सात महिनाभित्र उक्त आरोहण पूरा गरेर पहिलाको रेकर्ड तोडेका हुन् ।
विजेताको घोषणा आउँदो अगस्ट १२ तारिखमा हुनेछ ।