मुम्बई । बलिउड अभिनेत्री सुस्मिता सेनले अन्ततः शुक्रबार बेलुकादेखि चर्चामा आएको ललित मोदीसँगको अफेयरबारे जवाफ दिएकी छन् । वास्तवमा उनले ललित मोदीसँगको प्रेमसम्बन्धलाई लिएर नकारात्मक कमेन्ट गरिरहेका ट्रोलरहरूलाई जवाफ दिँदै यस विषयमा बोलेकी हुन् ।
जबदेखि ललित मोदीसँग सुस्मिताको प्रेमको खबर आयो ट्रोलरहरूले उनलाई ‘गोल्ड डिगर’ भन्दै ट्रोल गरिरहेका छन् । यही नकारात्मक टिप्पणी गरिरहेकाहरूलाई सुस्मिताले नबोलेरै कडा जवाफ दिएकी हुन् । सुस्मितालाई ट्रोलरले यो नकारात्मक ट्याग दिनुको पछाडि उनको र ललितको उमेरको अन्तर पनि एक हो । खबरका अनुसार ललित, अभिनेत्रीभन्दा १२ वर्षले जेठा छन् । यसका साथै उनी बिजनेस टाइकुन पनि हुन् ।
ट्विटरमा सुष्मितालाई नकारात्मक हिसाबले प्रतिक्रिया दिनेहरूलाई दह्रो जवाफ फर्काउँदै युट्युबर तथा सोसियल मिडिया इन्फ्लुयन्सर आँचल अग्रवालले लगालग तीनवटा कमेन्ट गरेकी छिन् भने अभिनेत्री सुष्मिताले अग्रवालका यही दुई ट्विट लाइक गर्दै नबोलेर ट्रोलरहरूलाई दह्रो जवाफ दिएकी छिन् ।
आखिर के लेखिएको छ आँचलको ट्विटमा ?
आँचल अग्रवालले पहिलो ट्विट गर्दै यसो लेखेकी छिन्, “हामीसँग नयाँ कुरा सिक्न र अझ राम्रो हुनका लागि थुप्रै जानकारीका स्रोत हुँदा पनि हामी किन पूर्वाग्रही छौँ । अनि तपाईं को हो गलत भन्ने, यदि, यो गल्ती नै हो भने पनि यो उसको गल्ती हो, तपाईं आफ्नो जीवनमा फोकस हुनुहोस्, किनभने उहाँको गल्तीले तपाईंलाई कुनै असर गर्दैन ।”
त्यस्तै, आँचलले दोस्रो ट्विट गर्दै सुस्मितालाई ‘गोल्ड डिगर’ भन्नेहरूलाई जवाफ फर्काएकी छिन् । “आजजसो हामीलाई थाहा भयो कि उनी आफूभन्दा धनी पुरुषलाई डेट गरिरहेकी छिन्, मानिसहरू उनलाई ‘गोल्ड डिगर’ भनिरहेका छन् । तर, मैले किमसँग डेट गरेकै कारण पिट डेभिडसनलाई ‘गोल्ड डिगर’ भनेको सुनेको छैन, उसलाई हिरोको रूपमा प्रशंसा गरिन्छ । किन ?”
अन्तिम ट्विटमा उनले सुष्मिताले कुनै अन्तवार्तामा आत्मनिर्भताबारे बोलेका कुरालाई सम्बोधन गर्दै उनको प्रशंसा गरेकी छिन् ।