site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रिय जानकी ! 

पर्वतजी, अबचाहिँ मैले भनेको मान्नुपर्छ है । बिहे गर्ने बेला त टर्न लाग्यो नि, के छ विचार ?’

पर्वत मौनव्रती छ । उसको नजिकै आएर उत्तम फेरि भन्छ, ‘तपाईं पनि यार, सुन्नु न मेरो कुरा ! मेरो आँखामा एउटी लायकदार केटी छ, उम्काउन नमिल्ने । कुरा अगाडि बढाऔँ है ?’

चमेनागृहमा चिया पिउँदै गर्दा आज पनि उत्तमले पर्वतलाई बिहेको प्रस्ताव राख्यो । तर, पर्वतको उत्तर उही छ, ‘उत्तमजी, म अझ पनि बिहे नगर्ने विचारमा छु । अब यो उमेरमा आएर के बिहे गर्नु ! फेरि, हृदयमा जानकी बसेकी छ, म चाहेर पनि उसलाई भुल्न सक्दिनँ । हृदयमा जानकीलाई राखेर म कसरी अरूसँग खुसी हुनसक्छु ? त्यसैले दोस्त, म कसैको जीवन बर्बाद पार्न सक्दिनँ ।’

KFC Island Ad
Dabur Nepal
NIC Asia

पर्वतको सेतो कपालमा जानकीको सौन्दर्य अझ फुलेको आभास हुन्छ । सदाझैँ उत्तम मुस्कुराउँदै चुप लाग्छ । अनि, चमेनागृहबाट दुवैजना छुट्टिएर आ–आफ्नो घरतिर लाग्छन् ।

एउटै छ पर्वतको जीवनशैली । घर आयो, केही पकायो, अनि एक्लै बसेर टीभी हेर्दै कुपुकुपु खायो । ठूलो थर्मसमा तातो पानी लिएर पढ्ने कोठामा पस्यो, राति अबेरसम्म घरको पुस्तकालयमा बसेर पढ्यो । युद्ध साहित्यमा खोइ के खोज्छ पर्वत ?

‘सुकरातका पाइला’ पढ्ने धुन बेलाबेला जाग्छ उसलाई । आज पनि ‘सुकरातका पाइला’ खोज्दै छ पुस्तकको दराजमा । पुस्तक नभेटेपछि दराजको चारैतिर आँखा दगुराउँछ । तर पनि फेला पर्दैन सुकरातका पाइला ।

किताब खोज्ने धुनमा पुरानो डायरी फ्यात्त भुइँमा झर्छ । पर्वत सचेत हुँदै त्यो डायरी टिप्छ । बाहिरै लेखिएको छ, ‘प्रिय जानकी !’ व्यग्रताका साथ टेबलमा बसेर ऊ डायरीका पाना पल्टाउन थाल्छ ।

‘प्रिय जानकी ! छुटेको समय । छुटेका ठाउँ । छुटेको उमेर । छुटेको सहर कति अमूल्य हुने रहेछ । शरद् ऋतुको यो उल्लासमय मौसममा चाडपर्वहरूको लस्कर देख्दै छु परपरसम्म । तर, मेरो मन किन भारी छ ? हरेक उत्सवमा म किन तिमीलाई सम्झिन्छु ? तिमीबिना किन नाच्न सक्दैन यो मन उत्सवमा पनि ? प्रिय, किन हिजोजस्तो छैन आज मेरो जुरशीतल, जितिया, दशहरा, दसैँ, दीपावली, तिहार, छठ अनि होरी ! वर्तमानमा अतीतको त्यो सुन्दर जाँतो किन घुम्छ फनफनी ?

यसघडी म अनुभूत गर्दै छु तिम्रो साथमा बिताएका ती स्वर्णिम पलहरू । ती चार्डपर्वहरू । त्यो एकताको गाँठो । त्यो सद्भावको रङ । त्यो भाइचाराको बलियो डोरी । कति उत्सवमय थियो हाम्रो समय । तिम्रो आँगनमा टेकेदेखि मैले आफूलाई सौभाग्यशाली ठानेको थिएँ ।

पहाडबाट पढ्नकै लागि आएका थियौँ । सरस्वती स्कुलदेखि आरम्भ भएको हो हाम्रो यात्रा । समयका पृथक् रङमा कति निर्बन्ध भएर रंगियौँ । उमेरको विभिन्न पल र स्वादमा हामी हरायौँ ।

जानु, आरआर कलेजमा भर्ना भएपछि देखेको थिएँ यौवनको सुनौलो संसार ! आत्माको पुकार । प्रेमको रोमाञ्चक फूलबारी । हृदयभरि पहाड बोकेर आएको थिएँ मधेस । मखलेल थिएँ मधेसको नौलो संसारमा । अझ राम्रो छ मेरो स्मरण, बाबाले हाम्रो पढाइको खातिर जनकपुरमा घर किन्नुभएको थियो । पहाडबाट हामी बसाइँ सरेर आएका थियौँ, जानकीको पवित्र भूमिमा ।

जातीय विविधता, सांस्कृतिक बहुलता र मात्र नेपालीहरूको सहिष्णुताको सुन्दर बागवानी थियो हाम्रो जनकपुर । संकटमोचनले हामी सबैको संकट हरण गरेर हामीलाई सहयोगी, सदाशयी र शान्तिप्रिय बनाएका थिए । म कति खुसी थिएँ तिम्रो नाम पनि जानकी भएकोमा ।

म मेरो किताबमा लुकेर लेख्थेँ, पर्वत + जानकी । जानकी मन्दिर जाँदा मलाई बडो आनन्द आउँथ्यो । मेरी जानकीको मन्दिरजस्तो लाग्थ्यो । कति भाग्यशाली ठानेको थिएँ तिम्रो सान्निध्यमा रमाउँदा । तिम्रो छिमेकी हुन पाउँदा हृदय निकै आनन्दित भएको थियो । मेरो भाग्यको सुनौलो द्वार थियो जनकपुर ।

तिम्रो पिताजी र मेरो बाबा कति मिल्नुहुन्थ्यो है जानु ! तिम्रो पिताजी सधैँ धोती र कुर्तामा सजिनुहुन्थ्यो । मेरो बाबा ढाकाटोपी र दौरासुरुवालमा । कति मिलेको धोती र ढाकाटोपीको त्यो जोडी । सांस्कृतिक एकता कति लोभलाग्दो ।

कति आदर्श थियो सम्बन्ध । विविधतायुक्त समाज कति सुन्दर थियो । तिम्रो पिताजीको जन्मदिनमा मेरो बाबाले ढाकाटोपी उपहार दिनुभएको मलाई अझ याद छ । कति सम्मान गरेर त्यो ढाकाटोपी लगाउनुभएको थियो तिम्रो पिताजीले । टोपी लगाएको कति सुहाएको थियो हगि !

हाम्रो गाउँ कति सुन्दर थियो । हाम्रो घर वरिपरि फराकिला जग्गामा ठूलाठूला घरहरू कति व्यवस्थित थिए । घर पछाडि कति धैरै थिए फुसका घरहरू । ती घरको बाहिर मिथिला चित्रहरू कति कलात्मक थिए । लढिया र बैलगाडा पनि कति धैरै कुद्थे पछाडिको कच्ची सडकमा । बैलको घाँटीमा झुन्डिएको त्यो घण्टीको आवाज आज पनि सुन्छु । पिठिया जाँदा पनि बाटोभरि देखिन्थे टोकरीमा सब्जी र सिंगडा बेच्न हिँडेका हटारुहरू ।

बाबाहरू पनि तारको झोला बोकेर पिठिया जानुभएको झल्झली आज पनि देख्छु । बाह्रबिघाको छातीबाट रिक्सा चल्थ्यो चुइँचुइँ । उहाँहरू त्यही रिक्सा चढेर खिच्रिमिच्री र तरकारीका झोला ल्याउनुहुन्थ्यो । पिठियाबाट ल्याएको मुरब्बा कति स्वादिलो । आहा, कति मिठो !

माछा पनि पिठियाबाटै आउँथ्यो । त्यति ठूलो माछा पहिलोपटक मैले जनकपुरमै देखेको थिएँ । माछाको झोल तिम्रो अम्माले जस्तो अरूले बनाउनै जानेनन् हाम्रो घरमा । करेलाको भरुवा, भान्टाको भर्ता सम्झनेबित्तिकै अझ पनि मुखमा पानी आउँछ । जनकपुर छोडेदेखि मैले त्यो स्वाद भुलेको छु ।

आज पनि सम्झिन्छु मेरो बाबाको पान खाएको त्यो रसिलो मुख । बाबालाई पान खान तिम्रो पिताजीले नै सिकाउनुभयो, स्मरण छ नि तिमीलाई ? उहाँहरू पान खाँदै सँगै हिँडेको देख्दा अरूले घुरेर हेर्थे । उहाँहरूको मित्रता देख्दा बडो आनन्द लाग्थो ।

थाहा छ जानु, हामी पहाडबाट आएको बेला हाम्रो घरमा खानेपानीको धारा जडान गरिएको थिएन । कल मात्र थियो । मलाई कलको पानी मिठो लाग्दैन थियो नि ! कलमा नुहाउँदै गर्दा एक दिन मैलै ललिपप भन्न नजानेर डन्डावाला चकलेट भन्दा तिमीहरू हाँसेको अझ कानमा गुन्जिन्छ । कल सम्झिँदा अझ पनि नाक खुम्च्याउँछु । कलको पानी खान नसकेर कति दिन प्यासी भएको थिएँ । तर, मलाई कल गनाएको तिम्रो पिताजीलाई थाहा भइहाल्यो । अरूको पीडा, दुःख र मनको छट्पटी कति चाँडै बुझ्नुहुन्थ्यो है ! अनि, तिम्रो घरबाट खानेपानी ल्याउने व्यवस्था उहाँले नै मिलाइदिनुभयो ।

तिम्रो स्पर्शले हुनुपर्छ तिम्रो घरबाट ल्याएको खाने पानी खुब मिठो लाग्थ्यो । मलाई अझ याद छ, तिमीले किटको बाल्टिनमा पानी भरेर हाम्रो घरको दिवालमा राखिदिन्थ्यौ । एकदिन थाहा छ जानु, कौवाले त्यो पानीमा पीतकरवीरको फल ल्याएर राखिदिएछ, अनि तिम्रो पिताजीलाई चिन्ता परेर हाम्रो घरमा पनि खानेपानीको धारा जोड्न पहल गर्नुभयो । कति सहयोग गर्नुभएको थियो हाम्रो परिवारलाई ।

उहाँले सदैव असल छिमेकीको भूमिका निभाउनुभयो । मेरो बाबाले पनि हृदय खोलेर तिम्रो परिवारलाई प्रेम गर्नुभयो । क्षीरनीरझैँ हामी मिलेका थियौँ ।

हामीहरू भिन्न समुदायका भए पनि भ्रातृत्वभावले सम्पन्न थियौँ । हाम्रो आर्य संस्कृति उही थियो । हामीलाई हाम्रो परम्परा र संस्कृतिले आन्तरिक रूपमा बलियो पारेको थियो । प्रेमिल र सहयोगी बनाएको थियो । हाम्रो भाषा मात्र फरक थियो भाव त एउटै थियो ।

बिहानबिहान तिम्रो घरमा पनि गीता पाठ हुन्थ्यो, हाम्रो घरमा पनि । रामायण, महाभारत, विष्णुपुराण, देवी पुराण, भागवत् तिम्रो र हाम्रो घरका शोभा थिए । तर, किन विष घोलियो ?

भाषा अभिव्यक्तिको माध्यम त रहेछ, हामीले मैथिली भाषा पनि निकै चाँडो सिक्यौँ । एकार्काको भाषाप्रति हामी कति उदार थियौँ । मलाई त धेरैजसो मैथिली शब्द तिमीले नै सिकायौ । तिम्रो दिदीले पनि मलाई आफ्नै भाइजस्तो गर्नुभयो । हामी कति मिल्थ्यौँ । तिम्रो भाइचाहिँ निकै सानो थियो है ! त्यही पनि हामीसँग मिसिएर खेल्थ्यो...।’

डायरी पढ्दा पढ्दै पर्वत आकुलव्याकुल भएर आँखाबाट गंगासागर बगाउन थाल्यो । मन आतंकित भएपछि आफैँसँग ऊ बर्बराउन थाल्यो, ‘जानु, म व्याकुल छु अहिलेसम्म ! अहिले पनि तिम्रो आवाज मेरो कोठामा आएर मलाई पुकार गर्छ । मलाई बोलाउँछ । मेरो आँखाभरि तिम्रो मुहार उदाउँछ । तिम्रो निकटतामा म जहिले अभिभूत हुन्छु ।

प्रिय जानु, मलाई आज फेरि जनकपुरमा हराउन मन छ । तिमीसँग साइकलमा घुम्न मन छ । सँगै फिल्म हेर्न जान मन छ ।’ यति बोलेर केही बेर टेबुलमा घोप्टो परेर बसिरह्यो पर्वत ।

मन केही हलुका भएपछि पुनः डायरी पल्टायो ।

‘प्रिय जानकी, हाम्रो घरमा धारा नजोड्दा तिम्रो दादीले कराएको सम्झिएर आज पनि मुस्कुराउँछु । दादी भन्नुहुन्थ्यो, ‘रे पर्वतीया ! सरकारी धाराको पानी छ । फारु गरेर चलाऊ ।’

डायरी लेख्दै गर्दा मैले सम्झेको छु, तिम्रो घरपछाडिको त्यो करुनाको बोट । हामी कति खान्थ्यौँ काँचो करुना । अनार र अम्बाको बोट कति धेरै थिए । घरअगाडिको गुल्मोहरको त्यो ठूलो रुख आहा ! करवीरको त्यो झ्याम्म परेको बोट ।

आज पनि झलझली आँखामा कुद्छ जनकपुरको रेल । कानमा बज्छ जचुकालीको त्यो साइरन । जयनगरबाट आएको होस् या बिजलपुराबाट, रेल हेर्न कुदिहाल्थ्यौँ बिहान–दिउँसो । हामी कसरी कुद्थ्यौँ रेलको लिकतिर । आहा, त्यो बालापन ! हृदयभरि झलमल्ल छ जनकपुर । जिब्रोमा उही मिथिलाको पकवान स्वादिलो भएर आउँछ ।

तिम्रो अम्माले बयममा राखेको त्यो करुनाको अचार कति मिठो हुन्थ्यो है ! हामीले रातिराति चित्रहार हेर्दा चोरेर खाएको स्मरण छ तिमीलाई ! तिम्रो पिताजीले टीभीमा समाचार हेर्न मेरो बाबालाई सधैँ बोलाउनुहुन्थ्यो । म पनि बुवाको पछि लागेर लुसुक्क तिम्रो घरमा आउथेँ । निकै लामो समयसम्म हाम्रो घरमा टीभी थिएन । तर, कहिले हामीलाई अनुभव नै भएन टीभी नभएको कुरा । कति सहयोगी थियो भावना । स्वागतार्थ थियो तिम्रो घर । सौहाद्र्रपूर्ण थियो सम्पूर्ण वातावरण ।

हामी फरक संस्कृतिका भएर पनि एकार्काको संस्कृति, परम्परा, चाडपर्व र रीतिरिवाजलाई सम्मान गर्थ्यौँ । मिलेर मनाउँथ्यौँ दसैँ र छठ । सकेसम्म हामी हरेक उत्सवमा एक भएर रमाइलो गर्थ्यौँ । हरेक शनिबार हामी तिम्रै घरमा फिल्म हेर्थ्यौँ ।

प्रिय जानु, स्मृतिले मलाई व्याकुल पार्दै छ यसघडी । मलाई त्यही पलमा पुनः पुग्न मन छ जनकपुर । तिमीलाई अब कहाँ भेटौँ...।’

डायरी पढ्दा पढ्दै ऊ भावुक भयो । कुर्सीबाट जुरुक्क उठेर ऊ भान्सामा गयो । लामो श्वास फे¥यो । कालो कफी लिएर पुनः कोठामा आयो र पर्वत डायरीमा हरायो ।

‘प्रिय जानकी, तिम्रो स्मरणको अग्नि हृदयमा दन्किँदा आज राति पनि निदाउन सकिनँ । तिमीसहितको मेरो संसार किन छैन अहिले ? थाहा छ जानु, आज मेरो जिब्रोमा केको स्वाद सलबलाएको छ ? पहिलोपटक तिम्रो घरमा होलीका मिठाइ, खाना र मालपुवा खाएको दिनले व्याकुल पारेको छ । तराईको पहिलो होलीले मलाई अचम्म पारेको थियो । घरसम्म सुनिन्थ्यो ठूलो आवाजमा होरीको त्यो भक्तिमय गीत, ‘मिथिलामे राम खेलैय होरी मिथिलामे, मिथिलामे हो मिथिलामे, मिथिलामे राम खेलैल होरी मिथिलामे...’ ।

होलीको पूरा दिन हामीहरू सबैजना तिम्रो घरमा नै खाना खान्थ्यौँ । कति स्वादिष्ट हुन्थ्यो खाना । खाना खाएपछि मात्र हाम्रो होली आरम्भ हुन्थ्यो ।

रंगीन पानी टाउकोबाट तिम्रो दिदीले ममाथि हालिदिँदा म त तर्सिएर चिच्याएको थिएँ । अझ तिम्रो काकुले मेरो मुख खोलेर हरियो रङ दाँतमा दलिदिएको, बाफ्रे बाफ, कति तितो !

पछि वैदेही दिदीले ऐना ल्याएर मलाई देखाउनुभयो, दाँत त हरिया थिए । कति हाँस्नु, मैले त मलाई नै चिनिनँ ! अबिरले म रंगिएको थिएँ । तिमी र वैदेही दिदी त झन् विभिन्न रङको मिश्रणले अझ सुन्दर देखिएका थियौँ ।     

मेरो बाबालाई तिम्रो बाबाले भाङ खुवाएर मतवाला बनाएको सम्झना छ नि ! खटियाबाट कतिपल्ट लड्नुभयो, तर भन्दै हुनुहुन्थ्यो, ‘म हावामा उडिरहेको छु । म स्वर्गमा छु । म उडेर जानकी मन्दिरको परिक्रमा लगाउँदै छु ।’

निकै लामो समयसम्म बाबा हावामा उड्नुभयो । तिम्रो दिदीले निम्मुपानी खान दिएर बल्लतल्ल ठिक पारेको याद छ नि ! जानकी मन्दिरमा पनि त्यो दिन पुजारीहरू होरी खेल्थे । होरीको भजन गाउँथे । तिम्रो बाबाले गाएको होलीको गीत आज पनि मेरो कोठामा गुन्जिन्छ ।

कति श्रुतिमधुर लाग्छ आज पनि त्यो गीत, ‘आम गाछ पर कोइली कुहुकै पवन कहै सन्देश, फागुन मे संग होरी खेलए, पाहुन अओताह देश...।’

चारैतिर होरीको रङ र गीतले जनकपुर उत्सवमय हुन्थ्यो । होरीको गीतले जनकपुर जुरुक्कै उठ्थ्यो ।

तर, मेरी बहिनी त होली खेल्नुपर्छ भनेर बाहिरै निस्किन्न थिई । उसले चुकुल लगाएर बसेको याद छ तिमीलाई ? हामीले त भुलेका थियौँ त्यो दिन उसलाई । अम्माले पार्वतीलाई सम्झिएर पुवा, पेरुकिया, बर्फी, मोतिचुरको लड्डु, परवरको भरुवा, छोलाको तरकारी र पुरी लगिदिनुभएको थियो ।

त्यो पनि बल्लतल्ल झ्यालबाट समाई पार्वतीले । कति डरपोक थिई ऊ । कति सचेत थिई । ऊ प्रायः घरबाट बाहिर पनि हिँड्न रुचाउन्न थिई । बल्लतल्ल स्कुल जान्थी, त्यो पनि हामीसँग टाँसिएर ।’

डायरीको पानाबाट टाउको उठाउँदै पर्वत एकोहोर छाती पिट्दै बर्बराउन थाल्यो, ‘वैदेही दिदी र पारूलाई सम्झिँदा मलाई ऐँठन भयो जानु ! फागुको रङमा रमाउने त्यही आँगनमा किन रगतको होली खेलियो ? किन हाम्रो बस्ती उजाडियो ? किन हाम्रो स्वर्गमा आतंक फैलाइयो ? किन हामीलाई एक भएर बस्न दिएनन् ? किन हामीलाई एकताको सूत्रमा बाँधिरहन दिइएन ?

आखिर किन यस्तो घृणित राजनीति घोलियो जनकको पावन भूमिमा ? हामी मिलेर बसेको किन सह्य भएन अर्को छिमेकीलाई ? तिम्रो पिताजी हामीसँग नजिक भएकोमा रोष प्रकट गर्थ्यो सायद त्यो पल्लाघरे ।’

पर्वतले निकै बेर व्याकुल हुँदै डायरीलाई छातीमा च्यापेर बसिरह्यो । फेरि भान्साबाट एक मग कालो कफी लिएर आयो । अनि, अघिजसरी नै डायरीमा पढ्न थाल्यो ।

‘प्रिय जानकी, जनक राजा सबैका पिता थिए । तिम्रो पिताजीको नाम पनि त जनक नै थियो, हैन जानु ! जनकभन्दा फरक पनि हनुहुन्थ्यो उहाँ । सबैसँग पितातुल्य व्यवहार गर्नुहुन्थ्यो । हामी मिलेर बसेको अरूलाई असह्य पक्कै भयो । छतबाट घुरिरहन्थ्यो हामीलाई दक्षिणको त्यो छिमेकी । हामी एकजुट भएर हाम्रो आँगनमा त्यौहार मनाएको देख्दा डाहले मुर्मुरिन्थ्यो ।

तिम्रो घरमा आएको पर्व तिम्रो घरमा मात्र कहाँ सीमित हुन्थ्यो र ! त्यहाँको त्यौहार हाम्रो आँगनसम्म आउँथ्यो । हाम्रो चाड तिम्रो आँगनसम्म पुग्थ्यो । हाम्रो घरको सेल, अर्सा, पत्रे, खीर, ढकनी तिम्रो भान्सामा सजिन्थ्यो । तिम्रो घरको ठेकुवा, भुसुवा, खिचडी, निम्की, दलपिठ्ठी, घुघुनी हाम्रो भान्सासम्म आउँथ्यो ।

हे बजरंगबली, मधेसको महक ! हाम्रो एकता । तिम्रो सुन्दरता । जनकपुरको जादु । जनकपुरको बिछोड मेरो हृदयमा अमिट भएर बसेको छ । स्मरणमा बारम्बार पुग्छु जनकपुर ।’

पर्वत पुनः टेबलमा घोप्टियो डायरीका पानासँगै ।

‘प्रिय जानकी, तिम्रो र मेरो आँखा पहिलो भेटमै एक भएको पल अझ ताजा छ । समयले हामीलाई सँगै हुर्कायो । पछि कलेजको खुला चउर हाम्रो मधुवन भयो । घर र कलेज दुवै हाम्रा प्रिय स्थान थिए । हरेक दिन हामीलाई त्यौहार आएको अनुभव हुँदै गयो । आज उमेरले मलाई निकै सिँढी उकालिसक्यो जानु ! तर पनि हृदयमा तिम्रो उपस्थिति जीवन्त छ ।’

डायरी टेबलमा राखेर पर्वतले ऐनामा आफूलाई हे¥यो । ऐनामा हेर्दै ऊ बोल्न थाल्यो, ‘तिलचामले कपाल भए पनि आज म तिम्रो सम्झनामा जवान हुँदै छु जानु ! जबजब तिम्रो स्मरणले व्याकुल पार्छ, तबतब तिमीले चुमेका मेरा यी हातहरूलाई छातीमा राखेर पुनः उज्यालिन्छु । आज पनि उही उन्मादमा म सम्मोहित भएको छु । यस्तो बोध हुन्छ कि तिमी मेरै समीप छौ ।

आँखा बन्द गरेर तिम्रो स्पर्श महसुस गर्छु । तिम्रो सुवासमा मोहित हुन्छु । मेरो हात तिम्रोजस्तो लागेर गालामा सुस्तरी छुवाउँछु । अनि, तिमीलाई सम्झिएर आफ्नै हातलाई चुम्छु । तिम्रो ताजगी अनुभूत गर्छु ।’

पर्वतले ऐनामा बारम्बार चुमिरह्यो आफ्नै हात । अनि फेरि डायरी पठनको आरम्भ गर्‍यो ।

‘प्रिय जानकी,
आज घटस्थापनाको दिन मैले फेरि जनकपुर सम्झिएँ । देवीचोक सम्झिएँ । तिमी र म पूजा गर्न गएको दिन सम्झिएँ । बाटोभरि निर्माण गरेका स्वागतद्वार आँखाभरि नाच्न थाले । त्यौहारमा बेहुलीझैँ सिँगारिएकी झलमल्ल जनकपुर नगरी सम्झिएँ । पूर्वस्मृतिमा हराउँदै छु मेरी प्राण ! मेरी जानु, तिमीलाई बिर्सिन हरसम्भव कोसिस गर्छु, तर असमर्थ हुन्छु प्रिय ! दिनभरि त म काममा व्यस्त हुन्छु, तर कोठामा आएपछि डायरीका पानामा तिमीसँग हराउँछु । आज म काठमाडौँको घन्चमन्चमा तिमीलाई नै सम्झिँदै छु । फुङ्ङ छ मेरो दसैँ । शरद्को उत्साह छैन मेरो दसैँमा । नीरस छ दसैँको वातावरण ।

मनमा उमंग नभएपछि सबैतिर उदासी छाउँदो रहेछ । मनको उदासीबाट उन्मुक्ति पाउन म बारम्बार अतीतको छायामा डुबुल्की लगाउँछु । हृदयको गहिराइबाट तिम्रो प्रेमले पुकारेको आभास गर्छु । अनि, हृदयमा तिम्रो र मेरो प्रेमको फूल ढकमक्क फुलेको देख्छु । अनि, म उही समयमा पुग्छु तिमीलाई अँगाल्न ।

आहा, बिहानबिहान मन्दिरबाट आउने घण्टको आवाज कति मधुर लाग्थ्यो ! अखण्ड राम धुन कति प्रीतिकर । नौरथा, दीपावली र छठको बेला जनकपुर बेहुलीजसरी नै सजिन्थ्यो । दीपावलीमा तिम्रो उस्तै रौनक छाउँथ्यो । मैले तिमीलाई त्यहीँ आफ्नो बनाएको थिएँ । संकल्प गरेको थिएँ तिमीबिना मेरो जीवन अपूर्ण हुन्छ भनेर । त्यसैले मैले जानकी तिमीलाई भुल्न सकेको छैन । म नितान्त एक्लो छु । तिमीलाई एक झलक हेर्न व्याकुल छु । अहिले पनि हरेक दिन तिम्रो फोटोसँग संवाद गर्छु ।

जानु, तिमी र मेरो प्रेमको साक्षी भएर अझ पनि बसिरहेको होला बाह्रबिघा ! याद छ तिमीलाई ? हामी घण्टौँ त्यहाँ बसेर मुम्फलीबदाम खान्थ्यौँ । तिमीले मलाई पहिलोचोटि साइकल सिकाएको सम्झना छ ? म कतिचोटि लडेँ । तिमीले मलाई कतिचोटि सिकायौ । मैले भर्खरै सिकेको थिएँ साइकल ।

त्यो दिन तिमी आइनौँ । म पिँडारीचोकतिर साइकल लिएर निस्किएँ । बिजलपुरातिरबाट रेल आउँदै गरेको होसै भएन । रेल त पापमोचनी पोखरीनेर आई पो सकेछ ! अचानक मलाई डर लाग्यो । हतारमा साइकलको ब्रेक लगाएँ, तर रोडमा आएको गाडी नै देखिनँ । मलाई समीर दाइको गाडीले झन्डै हानेको । वैदेही दिदीले पछाडिबाट च्याप्पै समात्नुभयो र म जोगिएँ ।

श्रद्धाञ्जली अर्पण गर्छु हाम्री निर्भीक दिदीलाई । दिदी नभएको भए म त्यही दिन मरिसक्थेँ । दिदीको सहयोग, सद्भाव र प्रेमले म बाँचेँ । तर, मैले दिदीलाई बचाउन सकिनँ । त्यो दिन मेरो अन्तिम अवस्था आयो भनेर तिमीलाई पुकारेको थिएँ । वैदेही दिदीले पनि आफ्नो अन्तिम अवस्थामा पक्कै मलाई पुकार्नुभएको थियो होला । सबैलाई बिनाभेदभाव सहयोग गर्ने दिदीको के दोष थियो ? सत्य बोल्नु अभिशाप भयो ।

भर्खरै त पत्रकारिता जीवन आरम्भ गर्नुभएको थियो दिदीले । पत्रकार बन्ने रहर कत्रो थियो । पहिले नै भन्नुभएको थियो, ‘पर्वत, एक दिन टीभीमा मैले समाचार वाचन गरेको तिमीले देख्नेछौ । त्यो दिन तिम्रो घरमा टीभी भए पनि हाम्रै घरमा आएर हेर है !’

डायरीले मुख छोपेर पर्वत निकै बेर कोक्कियो । ऊ पुनः आकाशतिर हेरेर  बोल्न थाल्यो, ‘किन मान्छे उद्दण्ड हुन्छ ? किन अराजक हुन्छ ? दिदीले आफूले देखेको त्यो सत्य घटनालाई उजागर पार्नुभएको त थियो नि ! किन सत्य पच्दैन मान्छेलाई ? आफ्नै छोरीचेलीलाई पनि राजनीतिको चितामा किन होम्छ मान्छे ? जात, धर्म, इमान सबै पोलेर खाए युद्धको सुरा घिचेका नरपिचासहरूले ।

युद्धको आँखाले देख्दो रहेनछ मानवताको सुन्दर बस्ती । युद्धको नशा घातक हुने रहेछ । आफ्नो विरासत र विरादरी पनि भनेनन् कसैले । हुन त आतंककारीको कुनै जात हुँदैन, कुनै घर्म हुँदैन । हत्यारालाई कुन श्रेणीमा राख्ने जानु ! ती कुनै पनि हालतमा योद्धा थिएनन् । निजी स्वार्थका लागि जुर्मुराएका मुर्कटा थिए ।’

केही बेर लामो श्वास फेर्दै डायरीको पाना पुनः पल्टाउन थाल्छ पर्वत, ‘प्रिय जानकी, दिदीलाई सम्झिँदा मलाई अर्को कुरा बारम्बार स्मरण हुन्छ – हामीले पापमोचनी पोखरीमा नुहाएको । तिमीले पिट्नाले लुगा धोएको । तिम्रो काकु र मैले पोखरीमा साँच्चै पन्डुबी आउँछ भनेर तिमीलाई डर देखाएको । तिमीलाई हामीले कति सताएका थियौँ त्यो दिन, सरी है जानु !

तिमी पोखरीको डिलमा बसेर लुगा धुँदै थियौ । हामी पौडी खेल्दै थियौँ । पोखरीको बीचमा पुगेपछि हामी केही बेर पानीभित्रै लुक्यौँ । तिमीलाई तर्साउन त्यो दुस्साहस गरेका थियौँ । हामीलाई नदेख्दा तिमी कति तड्पियौ । कति छट्पटियौ । तिमो अनुहारमा देखेको थिएँ मैले त्यो भीषण डर । हामीहरू निकै बेर पोखरीमा हराएपछि दिदी आउनुभएको थियो, हामीलाई खोज्न ।

दिदी हराएको बेला मैले किन दिदीलाई खोज्न सकिनँ । दिदीको शव देख्नसम्म पाइएन । कसरी सके ती पापीले दिदीको त्यो फूलजस्तो टाउकोलाई काट्न ? काटिएको दिदीको टाउको रगतको आहालमा डुबेको थियो ।

काटिएको टाउकोबाट अनेकौँ प्रश्नको लहर लिएर दिदीका आँखा उत्तर जान्न प्रतीक्षित थिए । काटिएको टाउको नजिकै विनाशको पर्ची पनि थियो चेतावनीसहित, ‘पर्वतको परिवारलाई चार दिनभित्र बर्दिबास कटाउने ।’ अराजक छिमेकीले लगाएको आगो निभाउनसम्म नभ्याएर लखेटिएका थियौँ हामी बर्दिबासतिर ।

तर प्रिय, किन आउँदैन बर्दिबास स्मृतिमा ? मलाई अहिले कुन कुराले उद्वेलित पार्छ थाहा छ ? जनकनगरी छोडेर बर्दिबास जाँदा पहिलोचोटि बाबाले मलाई एक सिर्कना लगाउनुभएको थियो । गाडी चढ्ने बेला पिँडारीचोकमा भएको त्यो भीषण युद्ध स्मरणबाट हट्न मान्दैन ।

म भुइँमै थचक्क बसेर रोएको थिएँ, जनकपुर छोड्नुपर्दा । भन्दै थिएँ, ‘म जानकीलाई छोडेर कतै जान्नँ । कुनै पनि हालतमा म हुर्किएको, बढेको, पढेको ठाउँ र मेरा साथीहरू छोडेर जान सक्दिनँ । मेरो व्याकुल मन देखेर बाबाले पुनः फर्किने वाचा गर्नुभयो । म आशावादी थिएँ जानु, आशावादी !

हामी वीरगन्जको बसमा चढेका थियौँ । उति नै बेला एउटा कालो मुस्लोले पापमोचनी पोखरीलाई छोप्यो । नजिकै ठूलो आवाजमा बम पड्कियो । सडकमा मान्छेहरू तितरबितर भए । पोखरीको छेउमा लस्करै राखेका रिक्साहरू गर्ल्याम्म पोखरीमा नै खसेको आवाज आयो । पानी छचल्किएर सडकसम्म आयो ।

हाम्रो गाडी बेतोडले हुइँकियो । बाबा क्याबिनमा हुनुहुन्थ्यो । म ढोकामै थिएँ । आमा त मामा घर जानुभएको थियो । बाबा र म संघर्षको मदानी तान्दै थियौँ । मुजेलियाको बौवा गाडीको सहचालक थियो । उसैसँग म पनि ढोकामा उभिएर गफिएको थिएँ ।

निमेषभरमा दक्षिणतिरबाट एउटा रकेटजस्तो तेजिलो ज्योति गाडीलाई ताकेर आयो । गाडीको बीचभागमा त्यो आगोको झिल्को आएर डडेलो लगाउन थाल्यो । मलाई होस आउँदा म बर्दिबासमा थिएँ ।

पछि थाहा भयो, हाम्रो घरपछाडिको लक्ष्मण काका त्यही गाडीमा जल्नुभएछ । औँठीको भरमा उहाँलाई चिनेछन् । बसको सिटमै उहाँको भौतिक शरीर खरानी हुनुभन्दा अगाडि डढेर कालो ठुटो भएछ । पीडामा भाग्न खोजेको चेतना हात भएर झ्यालमा टाँसिएको रहेछ । त्यही जलिनसकेको हातमा भएको औँठीले मात्र उहाँलाई ठम्याउन सकिएछ ।

त्यो गाडीमा कताका मान्छे मरे भन्ने कुरै थिएन । आँसु, वेदना, पीडा, पोलाइ, मृत्यु र भय के जातविशेष हुन्छ र ? आगोले त जात हेरेन, जानकी ! आगोको आँखा हुँदो रहेनछ । जल्दो गाडीभित्रका मान्छेको क्रन्दनले मेरो होस गुम्दै थियो । तराईको बस तिमीले देखेकी नै थियौ, पछाडिको सिटमा भएका मान्छे सबै खरानी भएछन्, भाग्न नसकेर ।

तिमी कल्पना गर्न सक्छौ त्यो कस्तो अवस्था थियो ? म अझ व्यक्त गर्न असमर्थ छु । गाडीभित्र आगो लागेपछिको मानव मनस्थिति । त्यहाँ भागदौड मच्चिँदा धोती लगाउनेका धोती जले । टोपी लगाउनेका टोपी । त्यहाँ राजनैतिक स्वार्थको दुर्गन्ध मात्र फैलिएको थियो । युद्ध थिएन त्यो । मात्र संवेदना र मानवताको चिता जलाइएको थियो । त्यहाँ जात थिएन । धर्म  थिएन । थियो त केवल आतंक मात्र । आफ्नो अस्तित्व रक्षाको लागि भाग्दै थिए आगोको लप्काबाट ।

जलेको जनकपुर किन आउँछ मेरो मस्तिष्कमा ! म हेर्न चाहन्नँ मेरो जनकपुरलाई खेलौना बनाएको । स्वार्थमा मुछिएको मस्तिष्कले खेलिएको घिनलाग्दो राजनीति म बुझ्दिनँ । अनेकौँ पोखरीले घेरिएको पावन भूमिमा किन निर्माण गरे रगतको नयाँनयाँ पोखरी ? किन त्यो सुन्दर बागवानी तहसनहस पारे ? किन बुझेनन् समय छँदै अनेकतामा एकताको शक्ति ?

उफ्, म लेख्न असमर्थ भएँ जानु यस घडी ! मुटुमा सुइरो रोपिएको छ । चोइटिएको छ संवेदना । रोएको छ खुसी । अपांग भएको छ रहर । जबजब दुर्भाग्यले घेरेका ती दिन आँखामा नाच्छन्, मेरो लेख्ने हात काम्छ । आजलाई मैले डायरी बन्द गरेँ प्रिय, भोलि पुनः तिमीलाई भेट्न आउँछु ! म भोलि वैदेही दिदी र पार्वती बहिनीको त्यो दुखान्त कथा तिमीलाई पुनः स्मरण गराउँछु ।’

भोलिपल्ट पर्वत पुनः कालो चिया लिएर कोठामा आयो । अनि, चिया पिउँदै डायरीको पाना पल्टाउन थाल्यो ।

‘प्रिय जानकी, हाम्रो दैनिकी कति स्वस्थकर थियो ! प्रभातकालीन भ्रमणमा हामी सबेरै उठेर मुजेलियासम्म जान्थ्यौँ । कति ढुक्कको समय थियो । मन्दिरबाट आउने राम र हनुमानको भजन । नयाँनयाँ सिनेमाको प्रचार । सिनेमा लागेपछि रिक्सामा डायलग बोल्दै हिँड्ने त्यो प्रचारी ।

त्यो सुमधुर संगीतहरूको सुरम्य नगरीमा किन भय, चीत्कार, आतंक, डर, पीडाको आलाप रोजियो ? जनकपुरको सुमधुर संगीतले छोडेपछि मलाई वैदेही दिदी र पार्वतीको त्यो व्याकुल आवाजले लखेट्छ । जनकपुरको प्राकृतिक आवाजमा कसले घृणाको आवाज फैलायो । कसले साथ दियो उदण्ड नायकलाई ?

युद्ध, शान्ति र आन्दोलनको सामूहिक आवाजले यस घडी विक्षिप्त भएको छु । कति विश्वासी थियो हाम्रो समाज । रङको डर थिएन, न त थियो भाषाको डर न त भूगोलको । हाम्रो घरभन्दा दक्षिणतिर कतै पनि त थिएन पर्खाल । स्यालहरू कति कराउँथे । ब्वाँसो पनि दिउँसै कराउँथ्यो ।

भुँडीफोरुवाहरू पनि पोखरीको डिलमा बसेर माछा ढुक्थे । तर पनि हामीलाई कसैको डर थिएन । चारै दिशा मिलेर निर्माण भएको सुन्दर भूगोल खुला थियो । हामी र हाम्रो भन्ने भाव थियो । सबैतिर शान्ति थियो ।

थाहा छ जानु, एकदिन हामी रामानन्दचोकको दुलाहादुल्हन मन्दिर गएका थियौँ । त्यहाँ ऐनाहरू कसरी मिलाएर राखिएको थियो । आफ्नै प्रतिविम्बदेखि हामी डराएका थियौँ । सायद आफैँलाई हामी चिन्न नसक्दा रहेछौँ । त्यही मन्दिरमा भएको ऐनाले देखाएजसरी मान्छेका अनेकौँ रूप हुने रहेछन् । कति धेरै आकृति एउटै मान्छेका छिः !

बाबामम्मी गाउँतिर जानुभएको थियो त्यो दिन । पार्वती घरमा एक्लै थिई । तिमी र म पनि पिठिया गएका थियौँ तरकारी लिन । घरमा आउँदा घरभरि मान्छेको कुँडुलो थियो । तिम्रो दादी, पिताजी सबैजना निकै आतंकित हुनुभएको थियो । घरमा थुप्रिएका मान्छेलाई देखेर मैले बोकेर ल्याएको परबरको झोला नै खरन्जे रोडमा हुत्याएर दौडिएको थिएँ ।

हामीलाई देख्नेबित्तिकै वैदेही दिदी कहालिँदै हामीनेर आउनुभयो । हामी एक सासमा भित्र पस्यौँ । पार्वती रगतमा डुबिरहेकी थिई । एक धरो लुगा शरीरमा कतै थिएन । होली खेल्न पनि डराउने मेरी बहिनी आफ्नै रगतको आहालमा अन्तिम श्वास फेर्दै थिई ।

तिम्रो काकु र वैदेही दिदीले रिक्सामा राखेर पार्वतीलाई अञ्चल अस्पताल लिएर जानुभयो । हामी पनि उतै दौडियौँ । मेरो त होसै थिएन । अस्पताल पुग्दा नपुग्दै पार्वतीको इहलिला समाप्त भयो ।

प्रहरीको सोधपुछमा वैदेही दिदीले जे देख्नुभयो, सोही कुरा प्रहरीलाई भनिदिनुभयो । दिदीले चिन्नुभएछ पार्वतीका बलात्कारीलाई । पारूलाई रगतमा पछार्ने ती कपटी राक्षसहरूलाई प्रत्यक्ष देख्नुभएछ । अनि, पुलिसले समात्यो ती बलात्कारीलाई ।

ठूलै योजना रहेछ । पार्वती त प्रतिनिधि पात्र रहिछ । पार्वतीको घटना त आगोको बीउ रहेछ । कानुनको न्यायिक कठघरामा राख्न सकेन तिनीहरूलाई । तालाचाबी हातमा लिएकाहरूलाई सजिलो भयो । जेलको ढोका कमजोर भयो । ढोका लागेन । हाँस्दै बाहिर निस्किए । उल्टै तिम्रो काकुलाई दोषारोपण गरे । तिम्रै घरदेखि दक्षिणतिरका केटाहरू त थिए ती ।

योग किन रुचिकर हुँदैन मान्छेलाई ? अखण्ड समाज किन मन पर्दैन ? कत्रो भोक कामको । कोपिलाबाट पनि तृप्ति मिल्ने कस्तो प्यास । त्यो दिनदेखि जनकपुरमा कहिल्यै उज्यालो र सफा घाम लागेन । कस्तो अचम्म, घाम ओझेलमा हुँदा पनि पोखरीको पानी चिसो भएन तातिरह्यो !

भजनबाट दैनिकी सुरु हुने सुरम्य भूमिमा भयको सूर्य उदाउन थाल्यो । चन्द्रमाले पनि पोल्न थाल्यो । पार्वतीको रगतबाट आरम्भ भएको बलि झन्झन् तीव्र गतिमा दोहोरिँदै गयो । हत्या, हिंसा, चोरी, डकैत, अपहरण, बलात्कार, बम, बारुदले जानकीको भूमि धूमिल हुँदै गयो । युद्धको धुवाँ कति पिरो । आन्दोलनको आँखा कति क्रूर ।

आन्दोलनको शीतलहर उत्कर्षमा पुग्यो । त्यो चिसो मौसममा कठ्यांग्र्रिएको मानवता मृतप्रायः थियो । सत्यको आवाज निकाल्ने वैदेही दिदीको मुख पनि आखिर थुनियो । सत्यको घाँटी किन रेट्छ समय ? सत्य किन फणा उचाल्दैन ? किन कुल्चिन्छ मान्छे सत्यको शिवलाई ?

म अहिले देख्दै छु प्रिय, दिदीको छिनालिएको त्यो टाउको । मैले देखेको छु यत्रतत्र शरीरसँग जोडिएका आत्माविहीन टाउकाहरू । शरीरसँग मात्र जोडिएका टाउकाहरू प्रायः आँखा बन्द गरेर हिँडेका छन् ।

तर, शरीरबाट छुटेको वैदेही दिदीको टाउकोले आत्मासँग मितेरी लगाएको थियो । वैदेही दिदीका ती आँखा अझ जनकपुरमै छन् होला ? ती आँखा कति सम्यक् थिए । ती खुला आँखा आज पुनः हेर्न चाहन्छु ।

प्रिय, मेरो एउटा इच्छा छ – मलाई फेरि जनकपुरको त्यो स्वर्णिम पल लेख्न मन छ । तिमीसँग हनुमान टाकिजमा गएर ‘जानकी’ हेर्न मन छ । मेरो हृदय आशावादी छ जानु ! मेरो मन आशावादी छ । म आउँछु तिमीलाई भेट्न ।’ क्रमशः

०००

डायरीका अरू पाना खाली थिए । पर्वतलाई अचानक जनकपुर जाने इच्छा जागृत भयो । पर्वत जनकपुर जान ब्याग प्याक गर्न लाग्यो ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  ०७:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro