site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दिल्लीमा दिल मलिन 

न्यु देल्ही, अर्थात् भारतको राजधानी नयाँ दिल्ली । या साधारण बोलीचालीमा दिल्ली ।

ब्रिटिसको दूरदृष्टिलाई मान्नैपर्छ । सय वर्षपछिको भविष्यलाई विचार पुर्‍याएर नबनाएको भए दिल्ली अहिले कहाँ यस्तो भव्य देखिन्थ्यो र !

सन् १९२६ मा योजना कोरेर निर्माण गरिएको रहेछ यो सहर । अजंगका राउन्डेबाट तीन–चार लेनका सडक, नेपालको हाइवेजत्रा फराकिला सडकपेटी, झुम्म परेका हरिया रुखैरुख यसका आधुनिक संरचनाका विशेषता हुन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

धुलोमैलो र वायु प्रदूषण निर्मूल पार्न सकियो भने संसारकै एक सुन्दर सहर हो, दिल्ली ।

हिमाचल प्रदेशका केही स्थानको भ्रमणमा निस्किँदा दिल्ली बन्यो मेरो प्रथम बिसौनी । एक रात यहाँ भारी बिसाएर लाग्नु थियो, धर्मशाला । एउटा भारी थियो, ‘लाहुरेको रेलिमाई’ पुस्तक खाँदिएको रुकस्याक ।

अर्को थियो, फेर्ने कपडा, नुहाउने–धुवाउने सामग्री र डायरीले भरिएको झोला ।

रुकस्याकलाई पछाडि ढाडमा र झोलालाई कंगारुको बच्चाजस्तो अगाडि छातीमा बोकेर इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट निस्कन्छु र फुत्त छिर्छु मेट्रो । एकैछिनको भूमिगत रेल सवार गरेर न्यु देल्ही स्टेसन हुँदै सेन्ट्रल सेक्रेटेरियटबाट निस्कन्छु, बाहिर ।

मेट्रोको ढोकाबाटै देख्छु, एउटा पार्क स्वागतार्थ आफ्नो हरियो आँचल फैलाएर बसिरहेको । आँखाकै दूरीभित्र इन्डिया गेट र राष्ट्रपति भवन कैदमा पर्छन् । आइफोनको अंकित घडीले २६ अक्टोबर २०२३, दिनको ३ बजे देखाउँछ ।

मानसिङ रोडमा अवस्थित रक्षा भवन पुग्नु थियो । नेपाली सेनाका कर्णेल गौरव गुरुङको डेरा छ, त्यहाँ । सोच्छु, यति बेला त करसाहेब परेडमै हुनुपर्छ । एकैछिन यतै पार्कतिर टहलिएर ५ बजे उनको डेरामा पुग्ने सम्झौता गर्छु, आफ्नै मनसँग ।

पार्कमा पोखरीहरू आकाशको छाया ओढेर शान्तसँग निदाइरहेका छन् । झुम्म परेका रुखहरूको छहारी ओढेर मजस्ता थुप्रै पर्यटक भुइँमा पल्टिरहेछन् । प्रायः भारतका गाउँहरूबाट आएका आन्तरिक पर्यटकहरू हुनुपर्छ । काठमाडौंको रत्नपार्कमा देखिन्छन् नि, गाउँले पर्यटक ! त्यस्तै ।

भुइँभरि बिछ्याइएको छ, कार्पेटजस्तै दुबो । निस्तब्ध आकाश भने घुरमैलो लाग्छ । रुखमा खुरखुर चढ्ने र भुइँमा लुखुरलुखुर दौडिने गर्दै छन्, लोखर्केहरू । बेन्चमा कसैले आधा बोतल पानी लडाएर छाडेको रहेछ । एउटा बाँदर कताबाट आउँछ र बोतल फोरेर घुटुघुटु पानी पिउँछ । म त्यो दृश्यको भिडियो हतारहतार आइफोनमा कैद गर्नतिर लाग्छु ।

पार्कका कर्नरहरूमा चटपटे बेच्नेहरू त्यतिकै व्यस्त देखिन्छन् । पैसा तिर्न ग्राहकलाई वैकल्पिक सुविधा छ । क्युआर कोड झुन्ड्याइएका छन् साइडमा । अंकात्मक भुक्तानी गर्दा पनि भयो, नगद तिर्दा पनि भयो ।

पार्कलाई सुरक्षा प्रदान गर्ने, सफा गर्ने र सजाउने कामदारहरू पनि यत्रतत्र देखिन्छन् । यिनै सुन्दर दृष्यलाई आँखामा सजाउँदै रक्षा भवनतिर लम्कन्छन्, मेरा पाइला ।

५ बजिसकेको थियो । करसाहेब अफिसबाट डेरा आउने र म टुप्लुक्कै पुग्ने एकैचोटि भयो ।

‘फौजी आदमी न पर्‍यौँ, हाम्रो टाइमिङ मिल्यो ।’ दिल खोलेर मजाक गर्दै मैले हात मिलाएँ । करसाहेब एकवर्षे नेसनल डिफेन्स कोर्स गर्न दिल्ली आएका हुन् । ब्रिगेडियरमा पदोन्नति हुने तालिम लिँदै छन् ।

दुवैको सैनिक पृष्ठभूमि भएर मात्रै होइन, हामी दुईको मित्रता गाँसिएको, हाम्रो सिर्जनशील जीवन पनि यसको कारण हुनसक्छ । गौरव नेपाली सेनाका एक उच्च अधिकृतका साथै अब्बल गीतकार पनि हुन् ।

दसैँ भर्खरै सिद्धिएको माहोलमा थियौँ । साँझ करसाहेबसँग बसेर पुरानो गोरख गणबारे गफिने मौका मिल्यो । गोरख गण पृथ्वीनारायण शाहको पालामा स्थापना गरिएको मगर पल्टन हो ।

‘दसैँजस्तै लाग्दै छ विजय सर, (प्याला ठोक्काएर चियर्स गर्दै) धेरैअघि पुरानो गोरख गणको कमान्डेन्ट सम्हालेको हुँ नि हजुर ।’ शाहीसेना शैलीमा उनी वार्तालापलाई अगाडि बढाउँछन् ।

‘ए, ए ! प्रथम विश्वयुद्धमा पुरानो गोरख गणलाई एक/एक गोर्खा राइफलको ब्यारेक कुर्न खटाइएको थियो नि !’ म पनि चियर्स गर्छु ।

‘हो र हजुर ? कहाँ लेखेको छ ?,’ उनको आश्चार्यभाव व्यक्त हुन्छ ।

‘मेरो उपन्यास लाहुरेको रेलिमाईमा,’ म पुस्तकतिर इंगित गर्दै भन्छु ।

राणा सरकारले ब्रिटिसलाई विश्वयुद्धमा हातहतियार किन्न आर्थिक सहयोग गरेको थियो । इन्डियन गोर्खा उता युद्ध लड्दै गर्दा यता तिनको ब्यारेक कुर्न नेपाली सेना खटाइएको थियो । यी कुरा इतिहासका पुस्तकमा पढ्न पाइन्छ । यसैलाई आधार मानेर माथि उल्लेख गरिएको प्रसंग लाहुरेको रेलिमाईमा समेटेको हुँ ।

‘एक आख्यानकारको कल्पनाशीलता न हो, गज्जब होला त्यसो भए लाहुरेको रेलिमाई । पढ्न आतुर छु हजुर,’ करसाहेबको कौतूहल दर्सिन्छ ।

म प्रस्ट्याउँछु, ‘तर्कमा आधारित रहेर कल्पनाशीलता मिसाइयो भने आख्यान यथार्थपरक बन्छ ।’

सिर्जना जन्माउनेहरू न पर्‍यौँ, आ–आफ्ना सिर्जनाका उपहार साटासाट गर्छौँ । लाहुरेको रेलिमाई उनलाई दिन्छु । गोरख गणले लगाउने कालो टोपी र गीतको एल्बम उनीबाट प्राप्त गर्छु म । युद्ध साहित्य र युद्ध रणनीतिका विषयमा आ–आफ्ना विचार राख्छौँ । 

बिहानै करसाहब बेड टी लिएर मेरो कोठामा प्रवेश गर्छन् । घडी हेरेको बल्ल ४ बज्दै रहेछ । उनलाई त ६ बजेको जस्तो लागेछ । सँगै बसेर छकालमै चिया पिउँछौँ, गफिँदै । यसले हरियो मगमा चिया पिउने गरेको मेरो लाहुरे अतीतलाई ब्युँताइदिन्छ ।

घुसलखान गरेपश्चात् आर्मी स्टायलको ब्रेकफास्ट खाएर म धर्मशालाका निम्ति हवाई अड्डातिर लाग्छु ।

हिजोको जस्तै मेट्रोमा चढेर एयरपोर्ट पुग्नु थियो । नोभेम्बर लाग्न लागे पनि घाम चर्को छ । ह्याट, सनग्लास, मास्क, टिसर्ट, कट्टु र चप्पलमा म करसाहेबसँग बिदा मागेर बाहिरिन्छु ।

मिनि ग्रेटवालजत्रा पर्खालभित्र काँडेतारले बारिएका निजी र सरकारी भवन देखिन्छन् । राइफल लिएर सुरक्षामा खटिएका गार्ड र प्रहरीहरू मलाई नियालिराखेका छन् ।

अलि पर एउटा अग्लो पुरानो बिल्डिङ भत्काइँदै रहेछ । डोजर र क्रेनले चारैतिरबाट घेरेर डेमोलिसन गरिँदै रहेछ, मरेको हात्तीको सिनोलाई हाइना र गिद्धले चिथोर्दै गरेको जस्तै पारेर । दुर्गन्ध त हैन, मेरो सनग्लास र मास्कमा स–साना भुसुनाजस्तै धुलोका कण ठोक्किन आइपुग्छन् । कान खाने गरी ध्वनि प्रदूषणले पनि आतंकित तुल्याउँछ ।

त्यसो त उच्च वायु प्रदूषणले दिल्ली ग्रस्त छ । निसास्सिएको महसुस गर्छु ।

भित्र पसेर कन्स्ट्रक्सन म्यानेजरलाई ‘खै, तिम्रो वातावरणीय व्यवस्थापनको फाइल देखाऊ त, वरिपरि जाली लगाऊ र पानीको फोहोराले छर्किराख’ भनूँजस्तो लागेको थियो ।

वातावरणीय मुद्दामा यताका छिमेकीले सम्बन्धित निकायलाई उजुरी गर्दा रहेनछन् । यस्ता साइटमा स्थानीय सरकारले वातावरण निरीक्षक पनि नपठाउँदो रहेछ कि कसो ?

यो दुर्दशा देख्दा ‘विश्वमै नम्बर वान प्रदूषित सहरको ताज पहिरेको छ, तिम्रो दिल्लीले’ भनी चिच्याऊँ कि भा’थ्यो मलाई ।

दिल्लीमा कहालीलाग्दो वायु प्रदूषण हुनुमा प्रमुख तीन कारण रहेछन् । एक, सडक तथा भवनजस्ता संरचना निर्माण कार्यले उत्सर्जित धुलो । दुई, कृषकले पराल तथा नललाई खेतमै जलाइदिँदा उत्सर्जित धुवाँ । र तीन, कलकारखाना सञ्चालन र लोडसेडिङ हुँदा चलाइने डिजेल जेनरेटरबाट उत्सर्जित ग्यास ।

वायु प्रदूषणका कारकतत्त्वको ज्ञान नहुने मान्छे भने सडकमा ढुक्कसँग हिँडेका छन् । यहाँ न पैदलयात्रुले न सवारीचालकले, न ट्राफिक प्रहरीले नै मास्क लगाएको देखिन्छ ।

यहाँको आकाशमा प्राकृतिक रूपले हुस्सु त जमेको होला भनिठान्दा हुन्, यी मास्कबेगरका मान्छेहरू ।

म मास्क लगाएर हिँडेको मान्छे भने त्रसित छु । जोखिम पहिचान गर्न सक्ने क्षमता कहिले त अभिशाप हुँदो रहेछ । बेखुस दिल लिएर म मेट्रो स्टेसनभित्र छिर्छु । एस्कालेटरबाट झर्दै गर्दा भारतमा छु जस्तो लाग्दैन । यसको अत्याधुनिकताले मलाई लन्डन पुर्‍याउँछ । तर, एयरपोर्टस्तरको भन्दा पनि बढी सुरक्षा जाँच गरिएको देख्दा आफूलाई सुरक्षितचाहिँ लाग्दैन ।

मेट्रो छिर्नुअघि एक्सरे मसिनबाट छिर्नुपर्ने र झोलालाई पनि यस्तै मसिनबाट छिराउनुपर्ने । पेटी, जुत्ता सबै खोल्नुपर्ने । आतंकवादीको आतंक अति नै रहेछ कि क्या हो दिल्लीमा ! कभी खुसी कभी गम मान्दै मेट्रो चढेर एयरपोर्ट पुग्छु ।

लन्डनको मेट्रोलाई ट्युब भनिन्छ । ट्युबको सञ्जाल मेट्रोको भन्दा बृहत् छ । त्यहाँ पनि आतंककारीको त्रास उत्तिकै हुन्छ, तर यात्रुलाई सास्ती दिने गरी चेकजाँचचाहिँ गरिन्न । इन्डिगो एयरले काठमाडौंमा त्यस्तै गराएको थियो, १० ठाउँमा सेक्युरिटी चेक गरेर । प्लेनमा छिर्ने बेलामा पनि चेक गरियो । तर, निर्धारित समयभन्दा आधा घण्टाअगावै उडाएर सम्माननीय कार्य भने गरेको थियो ।

इन्डिगोप्रतिको त्यो मेरो आदरभाव चिरस्थायीचाहिँ रहन सक्दैन । दिल्लीमा धर्मशालाका लागि ‘चेकइन’ गर्ने बेलामा टिकट जाँचकी ‘पेमेन्ट भेरिफिकेसन’को प्रमाण खोजिन्छन् ।

म भन्छु, ‘ट्राभल एजेन्टलाई पेमेन्ट गरिसकेको छु, त्यही भएर त उनीहरूले मलाई टिकट दिएका हुन् । पैसा भुक्तानी नगरेको भए कसरी टिकट पाउँथेँ र दिल्लीसम्म उडेर आउँथेँ ?’

तर, ती कर्मचारी आफ्नो कम्प्युटर सिस्टममा टिकटको पैसा तिरेको नदेखिएको बताउँछिन् । काठमाडौंमा रहेका मित्र रानालाई सम्पर्क गरेर पेमेन्ट भेरिफिकेसन माग्न खोज्छु, सम्पर्क भए त मरिजाम् !

फ्लाइट मिस हुने भयो भनेर मेरो दिलमा बेचैन बढ्न सुरु गर्छ । काठमाडौंमा अर्को एकजना साथीसँग भने सम्पर्क हुन्छ । तिनले मित्रसँग सम्पर्क गरेर बल्ल पेमेन्ट भेरिफिकेसन पठाइदिन्छिन् । अन्ततः बोर्डिङ पास प्राप्त हुन्छ । यो दिल बल्ल ढुक्क बन्छ ।

इन्डिगोका कर्मचारीले ठग्न खोजेको जस्तो लाग्छ । नेपाली हुनुको हीनताबोधले झुर्मुराउन खोज्छ, यो मन एकैछिन ।

आकाशमा चराजस्तै उड्दै गर्दा दिल्लीमा हिजोअस्ति बिताएका मलिन दिनहरूको सम्झना आउँछ । सम्झनामा आउँछ, त्यसैगरी ६ वर्षअघि मैले गरेको दिल्ली भ्रमण ।

मैले दिल्ली भ्रमण गरेको दिन थियो, २७ मार्च २०१७ । बेलायतबाट दोहा हुँदै दिल्ली पुगेको थिएँ, एटिहाट वायुयानबाट । झ्यालबाट तल देखिने हरिया रुखहरूले बोर्नियोको जंगलमा अवतरण हुँदै त छैन जस्तो आभास भा’थ्यो । त्यति बेला पनि दिल्ली हुँदै मेरो यात्राको गन्तव्य थियो, धर्मशाला ।

नेपाली संगीतका आदिपुरुष मास्टर मित्रसेनको जन्मथलो हो, धर्मशाला । त्यस्ता महान् व्यक्तिलाई जन्माउने भूगोल कस्तो होला भनी हेर्न म सोलो यात्रामा निस्केको थिएँ, मनमा कौतूहलको गह्रुँगो भारी बोकेर ।

त्यतिखेर नोइडास्थित ज्योति थापामगरको घर बनेको थियो, मेरो बिसौनी ।

अंग्रेजीमा ‘विजय हितान’ लेखेको प्लेकार्ड प्रदर्शन गरेर एक युवा पर्खिबसेका रहेछन् । देखेर म परेँ, सरप्राइज ! लामो समयपश्चात् हिन्दीमा बोल्न गइरहेको थिएँ । नजिकै पुगेर आफ्नो परिचय दिएँ । उनी थिए, विजेन्द्र सिंह । ज्योतिले मलाई लिन पठाएको मान्छे ।

४–५ वर्ष भएको थियो, ज्योतिसँग मेरो मित्रताको डोरी बाँधिएको । म्यासेन्जर र इमेलमा बोले पनि पहिला भेट भएको थिएन । मास्टर मित्रसेन थापाको व्यक्तित्व र कृतित्वलाई उजागर गर्ने अभियानमा म लागेपछि त्रिलोकसिंह थापामार्फत ज्योतिसँग सम्पर्कमा आएको थिएँ ।

बेलायतबाट ज्योतिलाई ‘तपाईंको सहर आउँदै छु घुम्न’ भनेको थिएँ । ‘असजिलो मान्नु हुन्न भने मेरै घरमा बस्न सक्नुहुनेछ’ भनेकी थिइन् । होटेल बुक गर्ने झमेला टरेर गयो । मैले उनको उदार दिलप्रति कृतज्ञता व्यक्त गरेको थिएँ ।

विजेन्द्र हल्काफुल्का अंग्र्रेजी बोल्दा रहेछन् । ‘होप यु फ्लाई गुड,’ उनले भने । मेरो लगेजको ट्रली उनले तान्न खोजे, मैले दिइनँ । ‘उतना परेसानी नही रहा,’ मैले पनि टुटेफुटेको हिन्दीमा जवाफ दिएँ ।

उहिले भैरहवा बस्दा बलिउड सिनेमा हेरेर सिकेको हिन्दी झन्डै बिर्सिसकेको रहेछु । उनी अंग्रेजीमा बोले, म हिन्दीमा । हाम्रो वार्तालापभरि अंग्रेजी र हिन्दी भाषाको अभ्यास चल्यो ।

उनलाई पछ्याउँदै म बाहिर निस्केँ । उनले सुटकेसलाई कारको बुटमा हालिदिए । मैले ह्यान्डकेरीलाई पछाडिको सिटमा राखेँ र अगाडि प्यासेन्जर सिटमा बसेँ ।

विजेन्द्रले २.५ सीसीको भोल्भो हुइँक्याउँछन्, चिल्लो सडकमा । निम, जामुन, पिपल, गुलमोहर रुखहरूको छहारीमुनिमुनि । मलिन दिल लिएर आकाश रातदिन टोलाइरहेको जस्तै लाग्थ्यो । खैरो स्मोग (स्मोक+फग =स्मोग) को बुर्काले छोपिएको बिचरा दिल्ली !

डिजेल, पेट्रोल र धुलोमिश्रित गन्धको गोलाबारुद बर्सिंदै थिए, मेरो मास्कमा । भित्र नाकलाई साह्रो पर्दै थियो, श्वासप्रश्वास जारी राखेर मुटुको धड्कनलाई बचाइराख्न । गाडीको निरन्तर टिँटिँ... र पुँपुँ... ध्वनिले कानको जाली फाट्ने गरी आक्रमण गर्दै थिए ।

ती बडेमानका क्यानोपिसितका रुखहरूले सिञ्चन गर्न सक्नेभन्दा बढी सवारीसाधनले कार्बन उत्सर्जन गर्दै छन् जस्तो प्रतीत हुन्थ्यो । दिल्लीले विकासको द्रुत गति समातेको यहाँका निर्माण सम्पन्न र निर्माणाधीन एक्सप्रेस वे र मोटर वेहरूले जनाउँथे ।

तर, तिनमा आकाशे पुल नहुँदा मानिसहरू सडकको बीचबीचबाट क्रस गरेको देख्दा मेरो दिलको धड्कन बढेको थियो । बेलायतमा जस्तो स्वास्थ्य र सुरक्षाको पालना यहाँ कहाँ गरिनु !

यहाँको ट्राफिक व्यवस्थापन पनि त्यति सुलभ देखिएन । ट्राफिक लाइट रातो बलेपछि रोकिन त रोकिन्थे, सवारीसाधन । तर, हर्न बजाउँदै जथाभावी ओभरटेक गर्ने गरेको देखेर मेरा आँखा पाट्टिन सुरु गरेका थिए ।

बस लेनमा बसबाहेक अन्य सवारीसाधन पनि गुड्दा रहेछन् । यो देख्दा लाग्थ्यो, यहाँका मानिस अरूको भाग चोरेर खान डराउँदैनन् । मैले यस्तो बाटोमा कार चलाएँ भने त दुर्घटनामा पर्दो रहेछु ।

विजेन्द्रले पनि ट्राफिक नियम त्यति पालना गरेजस्तो लागेन । तथापि, मैले उनको ड्राइभिङप्रति कुनै आलोचना पोखिनँ ।

कामदारहरू कुचोले सडक किनार बढार्दै थिए । यत्तिको विकसित राजधानीमा मैला त स्विपर यन्त्रले सफा गर्नुपर्ने होइन र ?

एउटा चोकमा ट्राफिक जाममा परियो । गाडी रोकिनासाथ स–सानो मार्केट जमिहाल्यो । बच्चा र महिलाले नरिवल, फोन चार्ज र मास्क बेच्न ल्याए । यसले बेलायतको म्याक्डोनाल्डमा ड्राइभ थ्रु (कारमै बसेर म्याकडोनाल्ड अर्डर गर्न सकिने सेवा)को याद दिलायो ।

एउटा मास्क खरिद गर्छु र विजेन्द्रलाई ‘ए आपके लिए’ भनी दिन खोजेँ ।

‘आई नो निड, साहब, नो निड’ विजेन्द्रले अस्वीकार गर्दै बोले ।

उनलाई के थाहा बाहिरको एयर क्वालिटी इन्डेक्स सात सयभन्दा बढी थियो भनेर । वायुको यो स्वच्छन्दता मापन तेह्र÷चौध गुना अस्वस्थकर ठानिन्छ ।

दुई टुक्रा नरिवल पनि किनेँ – एउटा विजेन्द्रलाई, अर्को मेरा लागि । भोक लागेर होइन, बेच्ने बालकप्रति दया लागेर ।

भोकले नरिवल बेच्नेलाई काम, वायु प्रदूषणले मास्क बेच्नेलाई माम प्रदान गर्दै थियो । प्रदूषित वायुद्वारा रोगग्रस्त मान्छे अस्पताल भर्ना हुँदा डाक्टर, नर्सले रोजगारी पाएका हुँदा हुन् । एउटाको समस्या अर्कोको अवसर बन्न सक्छ भन्ने यथार्थ यहाँ मैले अनुभूति गर्दै थिएँ ।

जाम परेको अवसर पारेर माग्नेहरू पनि हात थाप्दै आउँदा रहेछन् ।

‘साहब, उन लोगोँको पैसा मत दो, ओ काम करके खा सकता है,’ विजेन्द्र त्यति बेला हिन्दीमा बोले ।

सम्भवतः उनको अंग्रेजी सिद्धिएर होला भन्ने लाग्यो मलाई ।

यस्ता बेथिति र प्रदूषणका बाबजुद सडक किनारका हरिया बुट्यान र रंगीन फूलबारीले मेरा आँखामा शीतलता वर्षाउँदै थिए । यस्तो पनि लाग्थ्यो, दिल्ली हरियो वनैवन र बगैँचाहरूको सहर हो । भव्य सरकारी भवन र सुन्दर महलले अग्ला पर्खालबाट मलाई चिहाइरहेजस्तै भान हुन्थ्यो ।

अघिदेखि विजेन्द्रले ‘साहब कि साहब’ भनी सम्बोधन गर्दै थिए । मलाई किन हो असजिलो लागिरहेको थियो । यसले विगतप्रति यो मेरो दिल बल्झाइदियो । कुनै बेला म पनि यस्तै सेवा प्रदान गर्ने संगठनमा कार्यरत थिएँ ।

डेढ घण्टा लगाएर अप्पर पास र एक्सप्रेस वे हुँदै नइडा पुग्यौँ । एल्डेको युटोपिया नामको हाउजिङ स्टेटमा ज्योति मेरो स्वागतार्थ प्रतीक्षारत रहिछन् । नौ तलाको पेन्ट हाउसमा लिफ्टले सर्ररै लग्यो ।

एकजना सेविकाले स्वागत गरिन् । स्वदिष्ट लन्च सेवन गर्दै हाम्रो वार्तालापमा सुरु भयो । ग्राफिक डिजाइनमा अध्ययन गरेकी ज्योति अहिले त्यसैसम्बन्धी अध्यापन गर्दै रहिछन् । सामाजिक स्वयंसेविका र परामर्शदाताका रूपमा पनि आफूलाई व्यस्त राख्ने गरेकी ।

गोर्खाली, नेपाली र भारतबारे इतिहासको ज्ञाता, एक सशक्त महिला छवि भएकी ज्योति । राजनीतिमा पनि उस्तै दखल रहेछ । भनिन्, ‘नेपालले विकास गर्ने हो भने इन्डियासँगको फेयर फ्याक्टरबाट नेपाल मुक्त हुनुपर्छ । नेपाल स्वतन्त्र राष्ट्र हो, तथापि भारतको एउटा स्टेट बन्यो भने सिक्किमले जस्तै विकास गर्न सक्छ ।’

स्वाधीनतालाई विकाससँग साट्न हुँदैन भन्ने विचार बोक्ने म नेपाली, उनको दोस्रो वाक्यप्रति मौन असहमति रह्यो ।

ज्योतिका बाजेबराजु ग्रेटर नेपाल निर्माणका क्रममा अमरसिंह थापाको फौजमा काँगडासम्म लड्दै आएका रहेछन् । त्यसपछि पुस्तौँदेखि धर्मशालामा बस्दै आएका रहेछन् । ६ पुस्ते गोर्खालीकी छोरी रहिछन् उनी । बाजेजिजुबाजे सबै गोर्खा राइफलका लाहुरे । आफ्ना पिता प्रितमसिंह थापामगर सन् १९६३ मा लन्डन स्कुल अफ इकोनोमिक्समा ह्युमन रिसोर्सेस अध्ययन गर्न गएको ज्योतिले बताइन् ।

त्यो जमानामा ज्योतिको परिवारमा शिक्षाको यस्तो चेत देखेर म दंग परेँ । उनका बाजेले भन्ने गर्थे रे, ‘अमरसिंहसित हाम्रो गोत्र मिल्छ ।’

मैले भावुकताका साथ ‘त्यसो भए तपाईं त अमरसिंहकी खनातिनी पर्नुभएछ’ भनेको थिएँ ।

‘इतिहास खोजियो भने हुन पनि सक्छु म अमरसिंहकी सन्तान,’ उनले मेरो भनाइप्रति सहमति जनाएकी थिइन् ।

स्वयम् आफू लाहुरेनी नभए पनि गोर्खाली लाहुरेसम्बन्धी ज्ञानको भण्डार छ, ज्योतिमा । ‘खुकुरी ब्रेभ’ नामको गोर्खाली इतिहासको पुस्तक प्रकाशन गरिसकेकी थिइन् । पुस्तकमा गोर्खालीको उत्पत्तिदेखि भारतीय गोर्खाली पल्टन, नेपाली सेना, साथै ब्रिटिस गोर्खा राइफलका कथाव्यथा कलात्मक रूपमा प्रस्तुत गरिएको छ, जुन पुस्तक मैले उक्त बसाइमा लिएको थिएँ ।

लाहुरेको रेलिमाई लेखनको क्रममा यसलाई विशेष सन्दर्भ सामग्रीको रूपमा प्रयोग गरेको छु ।

जेट ल्याग लागेको थियो । समय अन्तरालले निद्रा मिलेको थिएन । आँखा टोप्रिँदै जाँदै थिए । अस्तिसम्म हिमालको जस्तो चिसो मौसमले सिञ्चित शरीर, त्यति बेला मरुभूमिको बालुवाले धपधप पोलेको जस्तै महसुस हुँदै थियो । वातानुकूलित नभइसकेको बदनलाई आलस्यले गलाउँदै थियो । एसीवाला कोठामा एकैछिन आराम गर्न पल्टिएँ ।

त्यो साँझ डा. श्रदी थापालाई निमन्त्रणा गरिएको रहेछ । ज्योतिको आफ्नो मान्छे पर्दी रहिछन् । बाहिरको मधुर झिलिमिली बिजुली बत्तीको आनन्द लिँदै हामी तीनजनाले सँगै डिनर गर्‍यौँ ।

श्रदी दिल्लीमा गाइनोलोजिस्ट रहिछन् । वार्ताका क्रममा मेराबारे कौतूहल दर्शिए र मैले बेलायतमा कहाँ के गर्दै छु भन्ने प्रस्ट्याउन थालेँ । ‘वातावरण विज्ञानमा मास्टर्स गरेर वातावरणविज्ञको रूपमा सरकारी जागिर खाँदै छु’ भनेँ ।

यो सुनेर उनको मप्रति अलि बढी नै आशक्ति बढेको देखियो । अन्य व्यक्तिगत कुराहरू पनि खोतल्न लागिन् । रुचि÷अरुचिका विषयवस्तु के–के हुन् ?

उताको जनजीवन कस्तो छ ? कति भयो बस्न थालेको ? कोसँग बस्नुहुन्छ ? यस्तै थिए, उनका खुल्दुली ।

आठनौ वर्ष भयो म उतै आफ्नो परिवारसँग बस्छु भन्दा उनी अलि झस्केजस्तो देखिइन् । हाम्रो माधुर्य वार्तालापलाई नजिकबाट सुनिरहेकी ज्योतिले फेसबुकमा त सिंगलजस्तो देखिन्छ त भन्ने खालको कुरा राखिन् । त्यो सुनेर श्रदी मदेखि मोडिएर ज्योतिसँग गफमा व्यस्त भइन् ।

मलाई एकछिन असहज महसुस भयो । यो दिल पुनः मलिन बन्न पुग्यो ।

अर्को दिन ज्योतिले मलाई विजेन्द्रसँग दिल्ली घुम्न पठाइन् । ३२ डिग्री थियो, तापक्रम । हिजोजस्तै प्रदूषणको तुँवालोले छोपेको थियो दिल्लीलाई, वनमाराले वनलाई छोपेझैँ ।

नइडाबाट सेन्ट्रल दिल्लीतिर लाग्दा यमुना नदीको पुल भएर जानुपर्दो रहेछ । यमुना कसरी बगेकी छिन् भनी हेर्ने इच्छा जाग्यो । विजेन्द्रलाई एकैछिन कतै कार रोक्न सकिएला ? भनी सोधेँ । पुलको आधा बाटोमै विजेन्द्रले कार स्वाट्ट रोके ।

सोचेको थिएँ, अलिक सुरक्षित ठाउँमा साइड लगाउलान् । हाइवेमा पनि कारबाट उत्रनु र ! भन्ने लागेर आयो । विजेन्द्र कारबाट उत्रेपछि म पनि डराउँदैडराउँदै उत्रेँ ।

सवारीसाधनहरू हामीलाई बत्ताउने गरेर हुइँकिरहेका थिए । कारबाट बाहिर के निस्केको थिएँ, अमोनिया र मिथेनजस्तो ग्यासले यो नाकलाई ठ्वास्स हान्यो । कुनै बहाव थिएन नदीमा, पोखरीजस्तो जमेको थियो । कालो न कालो मैलो पानीमाथि मेरा आँखा तैरिए । चराहरू कतै देखिन्नथे, न कतै देखिन्थे हरिया वृक्षहरू । मृत दलदलसरी लाग्यो यमुना ।

दिल्लीका सम्पूर्ण मैला ढलहरू यमुनामा खन्याइन्छ भन्ने कुरामा कुनै शंका थिएन । उता, वाग्मतीलाई पनि काठमाडौंले यस्तै पारेको छ । मलाई मानवप्रति नै घृणाभाव जागेर आयो, यो दिल फेरि मलिन बनेर आयो ।

अन्य यात्रीहरू पनि हामीजस्तै कार रोकेर दर्शन गर्दै थिए, यमुना मातालाई । अलि पर दुईजनाले फूल र अक्षता नदीमा खसाल्दै गरेको देखेँ ।

छेवैको एउटा बोर्डमा मेरा आँखा परे । लेखिएको थियो, ‘भगवान्लाई चढाउने कुनै सामग्री नफाल्नू । यदि, फालेमा ५ हजार रुपैयाँ जरिवाना लाग्न सक्छ ।’

त्यसपछि एउटा सपिङ कम्प्लेक्समा कार पार्क गर्‍यौँ । अनि, त्यहीँको एक रेस्टुरेन्टमा विजेन्द्र र मैले सँगै ब्रेकफास्ट खाने सल्लाह भयो । उनले मसँग बसेर खान सहज मानेनन् । ‘मलाई साहब हैन, विजय भैया भन्नू’ भनेँ ।

अनि, उनको गाउँ र त्यहाँको जनजीवनबारे मित्रमैत्री गफ गर्दै ब्रेकफास्ट खायौँ ।

उक्त कम्प्लेक्समा एक प्रदर्शनी चल्दै रहेछ । त्यहाँ अनिरुद्ध देवे र मृगका नामक व्यक्तिसँग भेटेर दिल्लीको वातावरणका बारेमा वार्तालाप चल्यो । उनीहरू दिल्ली जल बोर्डका कर्मचारी रहेछन् । तिनका अनुसार, दिल्लीको खानेपानी यमुना नदी र अझ अर्को नदीबाट ल्याइँदो रहेछ ।

दिल्लीका धेरै स्थानमा ढल प्रशोधनका केन्द्रहरू छन् भनेको सुन्दा खुसी लाग्यो । उनीहरूले त्यस्तो भनिरहँदा अघि देखेको ढलमग्न यमुना नदीको प्रदूषित स्थितितिर फ्ल्यासब्याक हुन पुगेँ ।

त्यहाँबाट ई–अटो समातेर नाडी गार्डेन र इन्डिया गेट गयौँ । राष्ट्रपति भवनअगाडि खुला सडक र सुन्दर पार्क रहेछ । त्यसले मलाई मेरो बाल्यकालतिर डोर्‍याएर लग्यो ।

बाजे पदमसिंह हितान एमसी वर्षैपिच्छे पहाडघरबाट दिल्ली झर्थे, २६ जनवरीका दिन परेड खेल्न । उनलाई ४÷८ जीआर र भारत सरकारबाट निमन्त्रणा आउँथ्यो ।

राष्ट्रपति भवनलाई पृष्ठभूमि पारेर बाजे आफ्ना तक्मा टल्काउँदै परेड खेलेका तस्बिरहरू सानो छँदा हेरेको स्मृति बल्झियो । बाजे यो धर्तीबाट बिदा भइसकेका थिए, यद्यपि बाजेको पदचाप पछ््याउँदै त्यहाँ पुग्दा यो दिल बडो भावुक बनेको थियो ।

राष्ट्रपति भवनबाट विजेन्द्रले गान्धी परिवारको समाधिस्थल शान्ति वन पुर्‍याए । इन्दिरा गान्धीको शव गाडेको स्थानअगाडि उभिँदा उनलाई आफ्नै शिख बडीगार्डले हत्या गरेको दिनको सम्झना आयो । ३१ अक्टोबर १९८४ का दिन त्यो दुःखद समाचार सुनेर म बेस्सरी रोएको थिएँ ।

त्यहाँबाट ई–रिक्सा समातेर लालकिल्ला गयौँ । एउटा गहिरो ट्रेन्च पार गरेर भित्र पस्नुपर्दो रहेछ । ट्रेन्चमा मान्छेले रोपेका हुन् कि आफैँ उम्रेका हुन्, गाँजाका झ्याँङ देखिए ।

सार्वजनिकस्थलमा गाँजाखेती गैरकानुनी हुनुपर्ने हैन र ? आफ्नै मनलाई कौतूहल व्यक्त गरेँ ।

१७औँ शताब्दीमा मुगल सम्राट बहादुर शाहको दरबार रहेछ, लालकिल्ला । त्यति राम्रोसँग मर्मतसम्भार गरिएको जस्तो लागेन । जीर्ण अवस्थाको लालकिल्लामा पर्यटक प्रायः मुस्लिम मूलका देखिन्थे । कट्टर हिन्दुवादी बीजेपी पार्टीको सरकारले मुस्लिम सम्पदालाई वास्ता नगरेको प्रतीत हुन्थ्यो ।

अन्त्यमा, पुरानो दिल्लीस्थित चाँदनी चोक पुगियो । सानो लिस्नोबाट माथि चढेर साँघुरो आँटीमा अटी–नअटी बसेर तात्तातो परौठा खाएका थियौँ । यो गल्ली यति व्यस्त कि खुट्टा हाल्ने ठाउँ नाइँ !

गर्मी र दिनभरको हिँडाइले थकित महसुस भइरहेको थियो । ढाडको मरिज न परेँ, नोइडा फर्किंदा कम्मर कर्र... दुखेर आइरहेको थियो ।

२९ मार्चको दिन बिहानीको खाजा लिएपछि ज्योतिसँग बिदा मागेँ । विजेन्द्रले एयरपोर्ट पुर्‍याइदिएका थिए । अनि, टर्मिनल तीनबाट प्रदूषणको बाक्लो वायुलाई छेड्दै मेरो वायुयान धर्मशालातर्फ उडेको थियो ।

परिचारिकाले चिकन स्यान्डविच सर्भ गर्दै आउँदा पो त्यो लामो अतीतको सम्झना त्यहीँ झ्वाट्ट टुट्न पुग्छ । हिजोअस्तिको दिल्ली बसाइका ती मलिन दिनहरू सम्झँदै स्यान्डविच चबाउन थाल्छु । अनि, एक घण्टा २० मिनेटको आरामदायी यात्रापश्चात् धर्मशालाको गगल एयरपोर्टमा यो ज्यान अवतरण हुन्छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  ०७:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro