बिलखनाथजी देश बनाउन भन्दै कम्मर कसेर राजनीतिमा लागे । जब उनी देश बनाउने ठाउँमा पुगे, तब विदेश घुमेरै फुर्सद पाएनन् । घुम्दा घुम्दै एक दिन उनी देश बनाउने ठाउँबाट ओर्ले ।
ओर्लिएर फेरि उनी कम्मर कसेर देशै बनाउन राजनीतिमा लागिहाले । देश उही थियो, सिस्टम उही थियो, जनता पनि उही नै थिए । र, सबैभन्दा अनुकूलताको कुरो जनताको सोच पनि उही थियो ।
फलतः फेरि पनि जनताले उनलाई देश बनाउने ठाउँमा पुर्याइदिए । तर, फेरि पनि उनी विदेश घुमेरै अघाएनन् । र, भन्न पनि छाडेनन् कि म यो देश बनाएरै छाड्छु, सुशासन र समृद्धि ल्याएरै छाड्छु ।
तथापि, देश बनेन । सुशासन पनि आएन । समृद्धि पनि छाएन ।
देश नबनाएको सजायका कारणले भन्दा पनि सत्ता राजनीतिको कुचक्रले उनी फेरि देश बनाउने ठाउँबाट ओर्लिए । ओर्लिनसाथ फेरि आफ्नो काम जारी राखे ।
फेरि पनि देश उही थियो, सिस्टम त्यही थियो, जनता तिनै थिए । जनताको सोचमा रत्तिभर बदलाव आएको थिएन । त्यसैले पुनः देश बनाउने ठाउँमा बिलखनाथजीलाई पुर्याइदिहाले ।
यसरी जनताले उनलाई पटकपटक देश बनाउने ठाउँमा पुर्याइरहे । सालौँ उनी त्यही ठाउँमा रहिरहे । तर, देश बनेन ।
किन बनेन ? जीवनको उत्तरार्द्धमा मनैमन बिलखनाथजी आफैँले एउटा निष्कर्ष निकाले– यहाँ देश बनाउने वातावरण नै रहेनछ । देश नबनाएको देख्दादेख्दै पनि जनताले भोट दिइहाल्दा रहेछन् ।
उनको थप निष्कर्ष थियो– यसो कहिलेकाहीँ त यसले देश बनाएन, यस्तालाई भोट नदिऊँ भनेर हराइदिए पो देश बन्दो हो कि ! लौ न, देश बनाऊँ भन्यो कि विदेश भ्रमणका बग्रेल्ती अवसरले कामै गर्न नदिँदा रहेछन् !