काठमाडौं । कादिदियातु दियानी र ग्रिज एमबोक बाथीले गरेको गोलमा फ्रान्सले बिहीबार राति बेल्जियमलाई २–१ ले हराउँदै महिला युरोपियन च्याम्पियनसिपको क्वार्टरफाइनलमा स्थान बनाएको छ ।
दियानीले छैटौँ मिनेटमा गरेको गोलबाट फ्रान्सले अग्रता लिएको थियो । दियानीले सकिना कार्चाओईको क्रसमा हेडमार्फत गोल गरेकी थिइन् । ३६औँ मिनेटमा जानीस केम्यानले बराबरी गोल फर्काइन् । त्यसको पाँच मिनेट बित्न नपाउँदै बाथीले गरेको गोल फ्रान्सको जितमा निर्णायक बन्यो ।
८०औँ मिनेटमा अम्बर टेसिकले दोस्रो पहेँलो कार्डको सामना गरेपछि बेल्जियम १० खेलाडीमा सीमित भएको थियो । फ्रान्सकी औलेमाटा सारलाई फाउल गरेपछि टेसिकले रातो कार्डको सामना गरेकी थिइन् । त्यसपछि पाएको पेनाल्टी अवसरमा वेन्डी रेनार्ड गोल गर्न चुकिन् ।
जितसँगै फ्रान्सले दुई खेलबाट ६ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको आइसल्यान्डको दुई अंक छ । बेल्जियम र इटालीको समान एक अंक छ ।
फ्रान्सले यसअघि इटालीलाई ५–१ ले हराएको थियो । फ्रान्सले अब समूह चरणको अन्तिम खेलमा आइसल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।
गए राति नै सम्पन्न अर्को खेलमा इटाली र आइसल्यान्डले १–१ को बराबरी खेले ।