काठमाडौं । कालुम म्याकलियोड र क्रिस ग्रिभेसले अर्धशतक बनाएपछि स्कटल्यान्डले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा बिहीबार राति नामिबियालाई ३ विकेटले पराजित गरेको छ ।
ग्लासगोस्थित टिटउड क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २१५ रन बनाएको थियो । २१६ रनको लक्ष्य घरेलु टोली स्कटल्यान्डले ४८.५ ओभरमा ७ विकेट गुमाएर पूरा ग¥यो ।
जितसँगै अंकतालिकाको दोस्रो स्थानमा रहेको स्कटल्यान्डले २३ खेलबाट ३२ अंक जोडेको छ । पराजित नामिबियाको १७ खेलबाट १६ अंक छ । नेपालले १८ खेलबाट १७ अंक जोडेको छ । ३६ खेलबाट ४४ अंक जोडेको ओमान शीर्ष स्थानमा छ । यूएई तेस्रो र अमेरिका चौथो स्थानमा छ ।
नामिबियाका जान फ्रेलिन्कले अविजित ६० रन बनाए । गेहार्ड इरसमसले ५६ रन जोडे । जेजे स्मितले २६ रन बनाए भने डिभान ला कोकले २३ रनको योगदान गरे । अरू खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।
स्कटल्यान्डका हम्जा ताहिर र गाभिन मैनले समान तीन विकेट लिए । मार्क वाटको नाममा एक विकेट रह्यो ।
स्कटल्यान्डका लागि म्याकलियोडले ५९ र क्रिस ग्रिभेसले अविजित ५३ रन बनाउँदा सफयान शरिफले अविजित ४० रन जोडे । म्याथ्यु क्रसले २९ रन बनाए ।
नामिबियाका रुबेन ट्रमपेलमनले तीन विकेट लिँदा डेविड विसे, बेन शिकोनगो र फ्रेलिन्कले एक/एक एक विकेट लिए ।
नामिबियाले अब शनिबार (भोलि) नेपालसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि, नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो ।