काठमाडौं । रीस टोपलेले कीर्तिमार्नी बलिङ प्रदर्शन गरेपछि इंग्ल्यान्डले लर्ड्समा सम्पन्न भारतविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा १०० रनको विजयी हासिल गरेको छ । योसँगै तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा १–१ को बराबरी भएको छ ।
टोपलेले २४ रन दिएर ६ विकेट लिए । त्यो पुरुष एकदिवसीय अन्तर्राष्ट्रियमा इंग्ल्यान्डका बलरले गरेको सबैभन्दा उत्कृष्ट प्रदर्शन हो ।
उनले उत्कृष्ट प्रदर्शन गरेपछि २४७ रनको लक्ष्य पछ्याएको भारतले ३८.५ ओभरमा १४६ रन बनाउँदा सबै विकेट गुमायो । त्यसअघि, टस हारेर ब्याटिङका लागि निम्त्याइएको इंग्ल्यान्डले ४९ ओभरमा सबै विकेट गुमाएर २४६ रन बनाएको थियो ।
चोटका कारण करियर नै लगभग समाप्त भइसकेका २८ वर्षीय टोपलेले भारतका ओपनर रोहित शर्मालाई शून्य र शिखर धवनलाई नौ रनमा पवेलियन फर्काएका थिए । ब्राइडन कार्सले रिषभ पन्त (०) र डेभिड विलेले विराट कोहली (१६)लाई आउट गरेपछि ११.२ ओभरमा भारत ३१–४ को स्थितिमा थियो ।
त्यसपछि सूर्यकुमार यादवले २७, हार्दिक पाण्डेय र रवीन्द्र जडेजाले समान २९ तथा मोहम्मद सामीले २३ रन बनाए । अरू खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
टोपलेले ९.५ ओभरमा २ मेडनसहित २४ रन दिएर ६ विकेट लिए । त्यो इंग्ल्यान्डका लागि कीर्तिमानी बलिङ हो । यसअघि, पल कलिङवुडको ३१ रन दिएर ६ विकेट लिएका थिए ।
टोपलेबोह विले, कार्स, मोइन अली र लियाम लिभिङस्टोनले एक/एक विकेट लिए ।
त्यसअघि, इंग्ल्यान्डका लागि मोइन अलीले ४७, विलेले ४१, जोनी बेयरिस्टोले ३८, लिभिङस्टोनले ३३, जसोन रोएले २३ र बेन स्टोक्सले २१ रन बनाए । जो रुटले ११ र क्राइग ओभरटनले अविजित १० रनको योगदान गरे ।
भारतका लेग स्पिनर युजभेन्द्र चाहलले ४७ रन दिएर चार विकेट लिए । उनलाई जसप्रित बुमराह र हार्दिक पाण्डेयले समान दुई विकेट लिएर साथ दिए । मोहम्मद शामी र प्रसिद्ध कृष्णको नाममा एक/एक विकेट रह्यो ।
भारत र इंग्ल्यान्डबीचको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट आइतबार म्यानचेस्टरमा हुनेछ ।