काठमाडौं । रुपन्देहीमा नाबालकलाई प्रयोग गरी सुनको सिक्री चोरी भएको घटनामा संलग्न रहेको आरोपमा तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा पर्सा पटेर्वा सुगौली घर भई हाल रुपन्देही कञ्चन गाउँपालिका–४ हर्नाचौर बस्ने ३६ वर्षीय विजय राय नट तथा चोरी गर्ने सोही ठाउँ बस्ने ११ वर्षीय र १२ वर्षीय नाबालक रहेका छन् ।
रुपन्देही कञ्चन गाउँपालिका–४ वनकसियास्थित हाटबजारमा टमाटर किन्ने क्रममा सोही ठाउँ बस्ने ७० वर्षीया महिलाले घाँटीमा लगाएको ३ तोला ४० लाल बराबरको सुनको सिक्री दुई जना नाबालकहरूले चोरेर फरार भएका थिए ।
ती नाबालकलाई कञ्चन गाउँपालिका–४ वनकसिया डिहोबाट प्रहरीले चोरिएको सुनको सिक्रीसहित फेला पारी नियन्त्रणमा लिएको हो । अनुसन्धानका क्रममा उक्त कार्यमा विजयको संलग्नता रहेको खुल्न आएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा विजयले करिब एक महिनाअघि पर्सा जिल्लाको आफ्नो गाउँ घरबाट दुवैजना नाबालकलाई रुपन्देही कञ्चन गाउँपालिका–४ हर्नाचौरमा बोलाई उनीहरूलाई सुनको सिक्री कसरी चोर्ने र कसरी भाग्ने भनी सिकाई बजारमा भिडभाड भएको ठाउँमा लगी बालबालिकालाई प्रयोग गरी चोरी गर्ने गराउने गरेको खुल्न आएको छ ।