काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैज्ञानिक विचार भएका कम्युनिष्ट शक्तिहरू एक हुनुपर्नेमा जोड दिएका छन् । विकल्प फाउण्डेशनले आयोजना गरेको विज्ञान तथा सूचना–प्रविधिसम्बन्धी नीति संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले अझै पनि वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिष्टहरू एक हुनाको विकल्प नरहेको बताए ।
अध्यक्ष प्रचण्डले भने, “नेपालमा अलिक वैज्ञानिक विचार राख्ने भनेका कम्युनिष्ट नै हुन् सबै कम्युनिष्टलाई एकै ठाउँमा जम्मा गरेपछि धेरै राम्रो हुन्छ होला भनेर हिजो निकै ठूलो जोखिम र त्याग गरेर आफूले कम्युनिष्ट एकता गराएकै हो । अझै पनि वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिष्ट एक हुनैपर्छ त्यो मिसन हाम्रो जारी रहन्छ ।”
उनले वैज्ञानिक विचार राख्नेहरु एकताका साथ अघि बढेमात्रै विज्ञान र प्रविधिको क्षेत्रमा नीतिगत सुधार गरेर विकास र समृद्धिको यात्रामा अगाडि बढ्न सकिने धारणा राखे । रासस