काठमाडौं । वैदेशिक रोजगारीमा गएकामध्ये तीन नेपालीले प्रत्येक दिन ज्यान गुमाउने गरेको पाइएको छ । श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका श्रमिकमध्ये प्रत्येक दिन तीनजना नेपालीको ज्यान जाने गरेको पाइएको हो । महालेखा परीक्षकको ५९औँ प्रतिवेदनमा सो कुरा उल्लेख छ ।
आर्थिक वर्ष ०७७-७८ मा २७ महिला र एक हजार ७२ पुरुषसहित एक हजार ९९ श्रमिकको ज्यान गएको छ । जुन दैनिक तीनजना हुन आउँछ । जसबापत उनका परिवारले ७० करोड २५ लाख ८५ हजार आर्थिक सहायता पाएका छन् ।
मृत्यु हुने श्रमिकलाई ७ लाख रुपैयाँ र अंगभंग वा चोटपटकबापत बिमामा उल्लेखित दरमा आर्थिक सहायता प्रदान हुने गरेको छ । आर्थिक वर्ष ०७६-७७ मा १७ महिला र ५६२ पुरुषसहित ५७९ श्रमिकले ज्यान गुमाएका थिए ।