काठमाडौं । काठमाडौंको भृकुटीमण्डप गोदाममा आज बिहान पुनः आगलागी भएको छ । बुधबार ३ बजेदेखि भएको आगालागी प्रहरीले बेलुका निणन्त्रणमा लिएको थियो । भित्र राम्रोसँग आगो ननिभेकाले आज बिहान पुनः सल्किएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिए ।
“भित्री भागको केही आगो निभेको रहेनछ । बिहान पुनः सल्कियो । अहिले बल्लबल्ल नियन्त्रणमा लिन सकियो,” उनले भने ।
समाजकल्याण परिषद्को गोदाम घर र राष्ट्रिय अपाङ्ग कोषको कृत्रिम मानव अंगमा आगलागी हुँदा करोडौंको क्षति भएको अनुमान गरिएको छ । आगलागीको कारण अहिलेसम्म खुल्न सकेको छैन । आगलागी नियन्त्रण गर्न परिसर प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी परिचालन गरिएको थियो ।
विभिन्न नगरपालिकाका ८ वटा दमकल र ३० वटा पानी ट्याङ्कर परिचालन गरी आगो नियन्त्रण गरिएको थियो । प्रहरी वृत सिंहदरबारले आगालागीबारे थप अनुसन्धान गरिरहेको छ ।