काठमाडौं । ब्राजिलियन विंगर राफिन्हालाई अनुबन्ध गर्नका लागि लिड्स युनाइटेड र बार्सिलोनाबीच सहमति भएको छ ।
२५ वर्षीय प्लेमेकर राफिन्हालाई बार्सिलोनाले प्रारम्भिक पाँच करोड ८० लाख युरोमा अनुबन्ध गर्नका लागि सहमत भएको बताइएको छ । दुवै क्लबले आफूहरूबीच सैद्धान्तिक सहमति भएको घोषणा गरेका छन् । राफिन्हाले अब बार्सिलोनामा मेडिकल जाँच पास गर्न बाँकी छ ।
राफिन्हाले लिड्सबाट दुई सिजनमा ६५ खेल खेलेर १७ गोल गरेका थिए । १२ गोलमा अवसर सिर्जना गरिदिएका थिए । लिड्सका मुख्य प्रशिक्षक जेसी मार्शले पनि यसअघि राफिन्हाले क्लब छोडेको पुष्टि गरेका थिए ।
बार्सिलोनाले उनलाई चासो देखाउनुअघि राफिन्हा चेल्सी जाने तयारीमा थिए । इंग्लिस प्रिमियर लिगकै अरू क्लब आर्सनल र टोटनहम पनि राफिन्हालाई अनुबन्ध गर्नका लागि उत्सुक थिए । अन्ततः राफिन्हा आफ्नो मनपर्ने क्लब बार्सिलोनासँग अनुबन्धित भएका छन् ।
लिड्सले यसअघि काल्भिन फिलिप्सलाई पनि म्यानचेस्टर सिटी पठाएको थियो ।