काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टी एक चीन नीतिमा प्रतिबद्ध रहेको बताएका छन् ।
सोमबार बिहान ललितपुरमा आयोजित कार्यक्रममा उनले पार्टी स्थापनाकालदेखि चीनसँग एउटै प्रकृतिको सम्बन्धलाई निरन्तरता दिइएको भन्दै भोलिको दिनमा पनि एक चीन नीतिमा दृढ रहने बताए ।
उनले नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओसँग पार्टीको तर्फबाट भेटघाट गरेको जानकारी दिए ।
“हामी बीपी कोइरालाको मार्गदर्शनमा अघि बढेका छौँ र पार्टी पनि सोहीअनुरूप अघि बढेको छ । बीपीकै पालादेखि नेपाल–चीनबीच विशिष्ट सम्बन्ध छ । त्यो हामीले स्थापनाकालदेखि ध्यानमा राखेका छौँ । त्यो कुरामा एक इन्च पनि तलमाथि हुँदैन,” उनले भने, “हामी एक चीन नीतिप्रति प्रतिबद्ध छौँ । कसैले बहकाएर बहकिदैनौँ । बहकिन दिँदैनौँ ।”
चिनियाँ नेता लिउलाई नेपालको आन्तरिक मामिलामा जुन पार्टीको सरकार भए पनि समान व्यवहार राख्न आग्रह गरेको बताउँदै उनले नेपालको आन्तरिक मामिलामा कसैले पनि हस्तक्षेप गरेको स्वीकार्य नहुने बताए ।