काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकतासम्बन्धी विधेयक पारित गर्नका लागि उच्च तहमा छलफल भइरहेको बताएका छन् । बुधबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।
सो विधेयकको सम्बन्धमा निष्कर्ष निकाल्नुपर्ने अवस्था रहेको उनले उल्लेख गरे । उनले एकीकृत सामाजिक सुरक्षा ऐन बनाउने सम्बन्धमा सरकारले गृहकार्य गर्ने पनि बताए ।
“नागरिकतासम्बन्धी विधेयक यो समितिमा झन्डै २२ महिना छलफल भएर प्रतिवेदनको रूपमा अहिले प्रतिनिधिसभामा छ । त्यसका बारेमा माननीय तहमा पनि र उच्च तहमा पनि छलफल भइराखेको छ,” उनले भने, “त्यसलाई पनि एउटा निष्कर्ष निकाल्नुपर्ने अवस्था रहेको छ ।”
गृहमन्त्री खाँणले सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई पनि छिट्टै पारित गर्नुपर्ने बताए । संसदीय समितिहरूलाई प्रभावकारी बनाउन सरकार सकारात्मक सहयोग गर्न तयार रहेको उनले उल्लेख गरे ।
संसदीय समितिहरूमा रिक्त रहेको सभापतिको चयनका लागि सत्तापक्ष र प्रतिपक्षका नेताहरूलाई अवगत गराउने उनले बताए ।