काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले न्यायपालिकामा न्यायाधीश प्रक्रिया नै गलत ढंगबाट भइरहेकाले बताएका छन् । उनले न्यायक्षेत्रमा विकृति र विसंगतिको सुरुवात विन्दु नै न्यायाधीश नियुक्ति प्रक्रिया रहेको बताएका हुन् ।
आइतबार संघीय संसद्अन्तर्गत राष्ट्रिय सभा बैठकमा बोल्दै उनले न्यायाधीश नियुक्ति गर्दा योग्यता क्षमता र उसले सम्पादन गरेको कामहरू नहेरी ‘तेरो’ र ‘मेरो’ मान्छेलाई नियुक्त गर्दा न्यायालय सुधार हुन नसकेको बताए । “न्यायाधीश नियुयक्ति गर्दा योग्यता क्षमता र उसले सम्पादन गरेको कामहरू नहेरी तेरो वा मेरो मान्छे भन्दै नियुक्त गर्दा न्यायालमा राजनीतिकरण भएको हो,” उनले भने ।
मन्त्री कोइरालाले सर्वोच्च अदालतले न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा गठन गरेको न्यायपालिकाको विकृति र विसंगति सुधार समितिको प्रतिवदेनले पनि न्यायालय क्षेत्र निष्पक्ष बनाउन न्यायाधीशको नियुक्ति निष्पक्ष र स्वतन्त्र ढंगले गर्नुपर्ने कुरा अघि सारेको बताए ।
उनले न्यायपरिषद्ले न्यायाधीश नियुक्तिका लागि निर्देशिका तयार गरिसकेको जानकारी दिए । “न्यायपरिषद्ले न्यायाधीश नियुक्तिसम्बन्धी निर्देशिका तयार पारेको छ, यही हप्ता हामी त्यसलाई राजपत्रमा प्रकाशित गर्छौं र न्यायाधीश नियुक्ति गर्दा पब्लिक अडिटको काम हुनेछ,” उनले भने ।
मन्त्री कोइरालाले अघिल्लो हप्ता सार्वजनिक भएको न्यायाधीश र वकिलको अडियो प्रकरणलाई छानबिन गर्न न्यायाधीश रामप्रसाद श्रेष्ठको नेतृत्वमा अनुसन्धान टोली गठन भएको भन्दै प्रतिवेदन सार्वजनिक हुनासाथ आवश्यक कारबाही न्याय परिषद्बाट अघि बढ्ने जानकारी दिए ।