काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बजेट बनाउँदा बाहिरको मान्छे राख्ने कल्पना कहीँ नहुने बताएका छन् ।
बिहीबार काठमाडौंमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिन आयोजित कार्यक्रममा उनले सरकारले बजेट बनाउँदा व्यापारीसँगको ‘सेटिङ’मा कमिसन खाएर करको दर बढाइएको आरोप लगाए । उनले बजेट बनाउँदा बजेट बनाउने अधिकारीबाहेक अरू व्यक्ति बस्ने कुरा पञ्चायतकालमा पनि नभएको बताए ।
“विश्वमा कहीँ नसुनिएको बजेट बनाउँदा बजेट बनाउने अधिकारी राखेर होइन, बाहिरका अनधिकृत मान्छे राखेर बनाइन्छ । दुनियाँमा कहीँ कल्पना गरिँदैन । बजेट अर्थमन्त्री, अर्थसचिव, राजस्वसचिव आदिले तय गर्छन्,” उनले भने, “त्यस्ता ठाउँमा अरू नै प्रकारका मान्छे ल्याएर करका दर तोकिन्छ । व्यपारीसँग सेटिङमा तोकिन्छ । यो त पञ्चायतकालमा पनि हुँदैनथ्यो ।”
उनले बजेटअघि ‘क्याबिनेट’मा ‘ब्रिफिङ’ गरिने चलन रहेको जानकारी दिए । बजेट गोप्य राख्नुपर्ने भएकाले मन्त्रिपरिषद्को बैठकलगत्तै संसद्मा सिधै जाने गरिएको बताए ।
बजेट निर्माण क्रममा अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्ति राखिएको भन्दै विरोध भइरहेको छ ।