बुटवल । सधैं जेठको अन्तिममा भित्रिने मनसुन यो वर्ष करिब १० दिनअघि नै भित्रिएको छ । मौसमविदहरुका अनुसार विगतका वर्षहरुमाभन्दा यो वर्ष बढी वर्षा हुन सक्नेछ । लाखौं मानिस प्रभावितमात्रै होइन उनीहरुको व्यवस्थापन गर्नुपर्ने अनुमान छ ।
गृह मन्त्रालयको एक तथ्यांकअनुसार यो वर्ष दुई सय बढी विपद्का घटना भइसकेका छन् । अहिले पनि दैनिक भइरहेको वर्षा विगतका वर्षहरुभन्दा बढी देखिएको मौसम विभागले जनाएको छ । मनसुन अघि नै भित्रिँदा एकातिर कृषक त खुसी छन् अर्कोतिर बाढी र पहिरोको जोखिम पनि उत्तिकै छ ।
एउटा ठूलो क्षेत्र छ, जहाँ वर्षा हुन थाल्यो कि चिन्ताले पिरोलिहाल्छ । बुटवलबाट पाल्पातर्फ लाग्दा सुरुमै त्यसरी चिन्तित बनाउने ठूलो पहाड छ सिद्धबाबा क्षेत्र ।
गाडीमा यात्रा गर्नेहरुले हेर्दा तल सीधै तिनाउ नदी त माथि चट्टाने पहाडबाहेक केही देख्दैनन् । यो सडक २०१८ सालदेखि निर्माण थालिएको हो । करिब १० वर्षमा सकिएको थियो निर्माण । बुटवलबाट पाल्पा, स्याङ्जा, गुल्मी, कास्की, अर्घाखाँचीलगायतका पहाडी जिल्लामा प्रवेश क्षेत्र हो सिद्धबाबा क्षेत्र ।
जहाँबाट दैनिक अहिले पनि कम्तिमा तीन हजारको हाराहारीमा सवारी साधन ओहोर दोहोर गर्छन् । कमजोर चुरेक्षेत्र रहेको यो क्षेत्रमा जम्मा तीन किलोमिटर सडकले सधैं सास्ती दिइरहेको छ ।
यो क्षेत्रमा हिउँदमा यात्रा गर्दासमेत गन्तव्यमा पुगिएला कि नपुगिएला भन्ने चिन्ता सधैं रहने गरेको यात्रुको अनुभव छ । अझ वर्षाको समयमा त यात्रा गर्नुअघि ‘सिद्धबाबाक्षेत्रको अवस्था’का बारेमा जो कोहीले जानकारी लिने गर्छन् ।
ठूलो पहाडको फेदीबाट बनेको सडकमा हिउँदको समयमा सुख्खा पहिरोको डर भने वर्षाको समयमा लेदोसहित खसेको पहिरोले डर सधैं रहने गर्छ ।
ट्राफिक प्रहरी कार्यालयले राखेको एक तथ्यांकअनुसार ९ वर्षको अवधिमा यो क्षेत्रमा ४२ वटा दुर्घटना भएका छन् जहाँ ३३ जनाको मृत्यु भइसकेको छ ।
त्यसैले पनि यस क्षेत्रका यात्रुका लागि यो ‘मृत्युमार्ग’ सावित भइदिएको छ । चट्टाने पहाडको फेदीमा रहेको सिद्धबाबा मन्दिरमासमेत वर्षायाममा जोखिम मोलेरै भक्तजन पूजाआजाका लागि पुग्ने गरेका छन् ।
गगनचुम्बी ठाडो चट्टाने पहाडबाट खसिरहने पहिरोले धेरै जनाको ज्यान लिइसकेको छ । पछिल्लो नौ वर्षको अवधिमा पहिरोमा परी ३३ जनाले ज्यान अकालमा ज्यान गुमाए ।
ट्राफिक प्रहरी कार्यालय लुम्बिनी प्रदेशका सूचना अधिकारी मोहनबहादुर खाँणले पछिल्लो ९ वर्षमा सानाठूला गरी ४२ वटा दुर्घटना भएको जानकारी दिए ।
खाँणका अनुसार २०७० सालमा १२ वटा दुर्घटना हुँदा ११ जनाको ज्यान गएको थियो ।
यो वर्षमा सबैभन्दा ठूलो दुर्घटना भएको जानकारी दिँदै उनले एउटा जिप अनियन्त्रित भएर तिनाउ खोलामा खसेको बताए ।
उनका अनुसार जिप दुर्घटनामा पाँच जनाको मृत्यु भएको थियो भने ४ जना घाइते भएका थिए ।
घटनास्थलमा नै ३ जनाको ज्यान गएको थियो भने २ जनाको उपचारको क्रममा निधन भएको थियो । ०७० सालमा ८ जना घाइते भएका थिए ।
यस्तै २०७१ सालमा ७ वटा दुर्घटना हुँदा ५ जनाको ज्यान गएको थियो । २०७२ सालमा ६ वटा दुर्घटनामा परी ५ जनाको ज्यान गएको थियो ।
यस्तै २०७३ सालमा ४ वटा दुर्घटना हुँदा २ जनाको ज्यान गएको थियो । २०७४ सालमा ३ वटा सानाठूला दुर्घटनामा ४ जनाको ज्यान गएको थियो । यस्तै २०७५ सालमा ३ वटा दुर्घटना हुँदा ३ जनाको ज्यान गयो ।
२०७६ सालमा यस क्षेत्रमा २ वटा दुर्घटना भएका थिए । जसमा एकजनाको मृत्यु भएको थियो । विगतका वर्षमा भन्दा पछिल्लो दुई वर्षमा दुर्घटनामा केही कमी आए पनि जोखिम भने उत्तिकै रहेको छ ।
“यात्रा गर्दा जतिबेला पनि ढुंगा र पहिरो खस्छ कि भन्ने जोखिम उत्तिकै छ,” उनले भने ।
२०७७ सालमा ४ वटा दुर्घटना हुँदा २ जनाको ज्यान गयो । यस्तै २०७८ मा एउटा दुर्घटना भएको तथ्यांक प्रहरी कार्यालयसँग छ ।
दैनिक सास्ती नखेपी हुँदैन
रुपन्देहीको बुटवल उपमहानगरपालिका र पाल्पाको तिनाउ गाउँपालिकामा अन्तरगत पर्ने सिद्धबाबा क्षेत्रमा पुग्दा यात्रामा रहेका सबै यात्रु डराउने गरेको अनुभव छ तम्घास–काठमाडौं बसका चालक विमल थापासँग ।
उनले बाह्रखरीसँगको कुराकानीमा भने, “बाटो निकै अप्ठेरो छ, यहाँ तीव्रगतिमा गुडाउन सकिँदैन । पहिरोको जोखिम बढी भएकाले पनि होला यात्रुहरु यहाँ पुगेपछि आत्तिइहाल्छन् ।”
सो क्षेत्रमा यात्रारत दीलिप कार्कीको अनुभव पनि त्यस्तै छ ।
“सिद्धबाबा पुगेपछि अब के होला भन्ने मनमा चिसो पसिहाल्छ,” कार्कीले भने, “म आफैं गाडीको लगानीकर्ता हुँ । लगानी सम्झेर झन् चिन्ता थपिन्छ । यो सडक छिटो सुरक्षित होस् भन्ने कामना छ ।”
हिउँदामा धुलोका कारण यात्रा गर्न कठिन छ, त्यसमाथि यसपल्ट कतिपय स्थानमा फराकिलो बनाउने काम जारी छ ।
वर्षा याममा माथिबाट ढुंगा र पहिरो खसिहाल्छ कि भन्ने चिन्ता ।
मोटरसाइकलमा दैनिक यो सडक ओहोरदोहोर गर्ने शिक्षक विष्णु पाण्डे भन्छन्, “पाल्पातर्फबाट बुटवल पुग्दा आफैं चिन्न नसकिने अवस्थामा पुगिन्छ । सयौंपटक आवाज उठ्यो तर सुनुवाइ भएन । यसको विकल्प छिटो खोज्नुपर्ने अवस्था छ ।”
पर्याप्त बजेट छैन
सिद्धबाबाको करिब तीन किलोमिटर सडक जोखिमपूर्ण छ । यो क्षेत्रमा साना–ठूला झन्डै सयवटा पहिरा छन् । कमजोर धरातल भएको चुरेका कारण धेरै पहिरो गएको भूगर्भविद् डा. रञ्जन दाहालको भनाइ छ ।
माथिबाट खस्ने पहिरो हटाउन र मर्मतसम्भारका लागि वार्षिक करिब ५० लाख बजेट आउने गरेको डिभिजन सडक कार्यालय पाल्पाका प्रमुख रामेश्वर लम्सालले बताए ।
उक्त रकमले चिडिया खोलादेखि राम्दीसम्म करिब ५८ किलोमिटर सडक मर्मत गर्नुपर्छ । त्यति रकम पर्याप्त नभएको लम्सालको भनाइ छ ।
“त्यहाँ दुई–तीनवटा लोडर र डोजर तयारी अवस्थामा राख्नुपर्छ, तिनको इन्धन खर्च नै २० लाखभन्दा बढी हुन्छ, इन्जिन मर्मतको छुट्टै खर्च छ,” सडक डिभिजन प्रमुख लम्सालले बाह्रखरीसँग भने,“दुवैतिरबाट पहिरोले छेकेको अवस्थामा अन्य हेभी इक्विपमेन्ट भाडामा पनि लिनुपर्छ । अहिलेको बजेट पर्याप्त छैन ।”
तीन किलोमिटरमा मात्रै किन झर्छ पहिरो ?
सिद्धबाबाको तीन किलोमिटर क्षेत्र सधैँ पहिरो जाने क्षेत्र हो । यहाँ जुनसुकै समयमा पनि पहिरोकै डर हुन्छ । भौगोलिक कारण नै बढी पहिरो जाने इन्जिनियरहरुको भनाइ छ ।
इन्जिनियर रबि शाह भन्छन्, “अन्य विभिन्न कारणहरु भए पनि मुख्य कारण भनेकै भौगोलिक बनावट र बर्खाको समयमा पानीको भेल नै हो । यसले गर्दा नियमित पहिरोहरु गइरहन्छ ।”
चुनावी मुद्दामै सीमित
प्रतिनिधिसभाको गत निर्वाचनमा पाल्पा–२ बाट विजयी सोमप्रसाद पाण्डेले चुनावी घोषणापत्रको पहिलो बुँदामै सिद्धार्थ राजमार्गलाई जोखिममुक्त बनाउने उल्लेख गरेका थिए ।
उनले घोषणापत्रमा ‘डेडिकेटेड टु लेन’सडक तत्काल बनाउने बाचा पनि गरेका थिए । तर, उनको कार्यकाल सकिन केही महिना मात्रै बाँकी रहँदासम्म पनि त्यसको विकल्पमा काम सुरु हुन सकेको छैन ।
नेकपा एमालेका नेता विष्णु पौडेल अर्थमन्त्री हुँदा उनले सिद्धबाबा सडक खण्डको वैकल्पिक मार्ग बनाउने बताएका थिए ।
नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले गत निर्वाचनमा रूपन्देहीका विभिन्न सभालाई सम्बोधन गर्ने क्रममा सिद्धबाबा सडकको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका थिए । अहिले उनी सरकारमै छन् ।
विकल्प के छन् त ?
सिद्धबाबा क्षेत्रको समस्या समाधानका लागि सरकारले पहल नगरेकै चाहिँ होइन । पहाडमा ग्रिनरी गरेर, ढुँगाको तल वाल उठाएर विभिन्न माध्यमबाट त्यहाँको पहिरो रोक्न खोजिएको छ । यो पहलले हिले पहिरो केही हदसम्म रोकिएको छ । तर, ढुंगा खस्न रोकिएको छैन ।
सिद्धबाबा खण्ड असुरक्षित भएपछि विकल्को पनि चर्चा भइरहेको छ । सरकारले पनि यो सडक खण्डलाई सुरक्षित बनाउन विभिन्न विकल्पहरु खोजी गरिरहेको छ ।
तत्कालका लागि रकनेटको प्रयोगबाट माथीबाट खसेका ढुंगालाई बाटोमा झर्न नदिने योजना चलिरहँदा संघीय सरकार र प्रदेश सरकारले आ–आफ्ना विकल्प निकालेर काम अगाडि बढाएको छ ।
तर सरकार र पार्टीभित्रकै नेताको इगोको लडाइँले यहाँ मार परिरहेको छ ।
नेकपा एमालेका नेता विष्णु पौडेलको पहलमा सुरु भएको सिद्धबाबामा सुरुङ योजनालाई ‘काउन्टर’ दिँदै तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले वैकल्पिक मार्गलाई अगाडि बढायो । विष्णु पौडेल र शंकर पोखरेल बीचको लडाईँले यहाँ पनि प्रभाव पार्यो ।
सुरुङमार्ग बनाउन आर्थिक वर्ष २०७०–७१ मा पहिलोपटक बजेट छुट्याइएको थियो । त्यसयता अध्ययान, डीपीआरलगायतका शीर्षकमा बजेट छुट्याइएको छ । जेठ १५ गते संघीय सरकारले ल्याएको बजेटमा पनि यो सडकको विकल्पको लागि बजेट विनियोजन गरिएको छ ।
संघले सुरुङमार्ग बनाउने तयारी गरिरहँदा प्रदेश र स्थानीय सरकार वैकल्पिक सडकको ट्रयाक खनिरहेको छ ।
सुरुङमार्ग बनाउन प्रदेश र स्थानीयको क्षमताले नभ्याउने हुँदा वैकल्पिक मार्ग बनाउने विकल्पमा लागेको प्रदेश सांसद तुलबहादुर घर्तीले बताए ।
स्थानीय तिनाउ गाउँपालिकाको नेतृत्वमा गएको वर्ष करिब ९० लाखमा वैकल्पिक सडकको ट्र्याक खुलेको छ । जसका लागि तानसेन नगरपालिका, रिब्दीकोट र बगनासकाली गाउँपालिकाले पनि सहयोग गरेका छन् ।
१६ किमी लामो यो रूपन्देहीको चरङ्गे मुडाबासबाट चौकी भञ्ज्याङ, ज्यामिरे हुँदै पाल्पाको झुम्सा पुग्छ ।
पाल्पाको झुम्सादेखि चौकी भञ्ज्याङसम्मको सडक चालु छ । रूपन्देहीतर्फ चौकी भञ्ज्याङदेखि मुडाबास सडक विस्तार हुन सकेको छैन । यो सडकका लागि प्रदेश सरकारले रु १० करोड बजेट छुट्याएको थियो ।
यसैगरी बुटवलको बेलबास हुँदै पाल्पाको तिनाउ गाउँपालिका जोड्ने अर्को २२ किमि लामो सडक पनि खोलिएको छ । यो सडक तिनाउको नुवाकोटबाट सिद्धार्थ राजमार्गमै जोडिन्छ । यसैगरी पाल्पाको बाँसटारीबाट गोठादी हुँदै खैरेनी जोड्ने सडकलाई पनि वैकल्पिक मार्ग मानिएको छ । ६१ किमी लामो यो सडक पनि निर्माणाधीन छ ।