काठमाडौं । धादिङको धुनिबेसी नगरपालिका–१, बन्चरेडाँडामा फोहोर विसर्जन गर्ने सम्झौतापछि पनि अवरोध कायमै छ । गएको सोमबार काठमाडौंमा सहरी विकासमन्त्री रामकुमारी झाँक्री, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनीता डंगोललगायत जनप्रतिनिधिको रोहबरमा त्रिपक्षीय सम्झौता भएको हो ।
सम्झौतापछि मंगलबार बिहान काठमाडौंबाट फोहोर बोकेका ट्रकहरू बन्चरेडाँडातर्फ लम्किए । नुवाकोटको सिसडोल नजिकिएसँगै जाम सुरु भयो । सिसडोलमा १८ वर्षदेखि भद्रगोल तरिकाले फालिएको फोहोरमाथिको कच्ची सडक पार गर्नुपर्ने रहेछ ।
साँघुरो बाटोमा फोहोरका ट्रकहरू लामबद्ध थिए । केही ट्रक हिलोमा फसेका थिए । डोजर अघि–अघि बाटो बनाउँदै ट्रक पछि–पछि फोहोर लैजाँदै थिए । त्यसरी अस्तव्यस्त सिसडोलको सडक पार गर्न धेरै समय लाग्यो ।
फोहोरका ट्रकबाहेक अरू सवारीसाधन आवतजावत गर्ने अवस्था थिएन । ओहोरदोहोर गर्नेहरू नाक थुन्दै फोहोरमाथि पैदल हिँड्दै थिए ।
सिसडोलकै फोहोरमाथिको बाटोमै भेटिइन्, काठमाडौं महानगरपालिका वातावरण विभागकी प्रमुख सरिता राई । महानगरका कर्मचारीहरू पनि सँगै थिए ।
प्रमुख राईसँग सिसडोलका स्थानीय आक्रोश पोख्दै थिए । राई फोहोरले सबैलाई कष्ट भएको बताउँदै थिइन् । “यी ट्रकका चालकहरूलाई कतिखेर फोहोरको भारी बिसाउँजस्तो हुन्छ होला है ! फोहोरले दिएको दुःख हेर्नुस्,” उनले भनिन् ।
अर्कोतर्फ, स्थानीय काठमाडौंका मेयर बालेनप्रति असन्तुष्ट देखिए । “एक साताभित्र फोहोरको दुर्गन्ध हटाउने रे ! बाटो नै राम्रोसँग नबनाई कसरी फोहोर आउँछ ?,” एक स्थानीयले प्रश्न गरे ।
सिसडोलको फोहोर छिचोल्दै अगाडि बढ्दा प्रहरी र अरू स्थानीय जम्मा भएको देखियो । हामी त्यहाँ पुग्दासम्म फोहोर विसर्जनका विषयमा बन्चरेडाँडावासी र प्रहरीबीच झडप भइसकेको रहेछ ।
प्रहरीले बल प्रयोग गरी फोहोर विसर्जनमा अवरोध गर्ने स्थानीयलाई पक्राउ गरेको थियो । सशस्त्र प्रहरी बल नेपाल ल्यान्डफिल साइट सुरक्षा बेस ओखरपौवाका एक प्रहरीलाई सोध्दा १४ स्थानीयलाई पक्राउ गरेको जानकारी पायौँ ।
स्थानीय अमृत कार्कीले सोमबार जनप्रतिनिधिले गरेको सम्झौता आफूहरूलाई चित्तबुझ्दो नभएको बताए । त्यसकै विरोधमा अवरोध गरिएको उनको भनाइ थियो । त्यति बेलासम्म अवरोध छिचोल्दै फोहोर बोकेका ७२ ट्रक विसर्जनस्थलतर्फ लागिसकेका थिए ।
स्थानीय कार्कीले धुनिबेसीमा प्रहरीले दमन गरेको र आफूहरूका माग सम्बोधन नभएको जिकिर गरे । “हामीले ५१ अर्ब मुआब्जा तिनुपर्ने, नास्टको टोलीले छिट्टै फोहोर दुर्गन्धमुक्त बनाउनुपर्ने, गुठीको जग्गा ९० प्रतिशत स्थानीयलाई उपभोग गर्न र स्थानीयलाई रोजगारी दिनुपर्ने माग राखेका थियौँ । हाम्रा यी कुनै पनि माग सम्बोधन भएनन्,” उनले भने ।
त्यस क्षेत्रमा ठूलो संख्यामा प्रहरी तैनाथ थियो । स्थानीयको अवरोध मत्थर भइसकेको थियो । आक्रोश कायमै थियो ।
हामी बन्चरेडाँडामा पुग्दा ट्रकबाट फोहोर झार्न सुरु भइसकेको थियो । वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन गर्नुपर्ने मागसहित केही स्थानीय त्यहाँ पुगेका रहेछन् ।
स्थानीय श्रीयंका कार्की आक्रोश पोखिरहेका थिए । “बालेनले फोहोरलाई मोहोर बनाउने भनेका थिए । एक साताभित्र फोहोरको दुर्गन्ध हटाउने आश्वासन दिएका थिए । यहाँ भने सिसडोलजस्तै भद्रगोल तरिकाले फोहोर फालिँदै छ,” उनले भने । मेयर बालेनले कुहिने र नकुहिने फोहोर छुट्ट्याएर बन्चरेडाँडामा वैज्ञानिक तरिकाले फोहोर विसर्जन गर्ने आश्वासन दिएका थिए ।
बन्चरेडाँडामा अव्यवस्थित तरिकाले फोहोर खसालिँदै गरेको देखियो । डाँडामाथि बस्ती छन् । ती बस्तीका नागरिकलाई बन्चरेडाँँडाको फोहोरले प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ ।
यसबारे वातावरण विभागकी प्रमुख राईलाई सोध्दा दुई सातासम्म नउठेको फोहोर ‘इमरजेन्सी’ ल्याउनुपरेकाले यस्तो भएको जवाफ दिइन् । उनले भनिन्, “इमरजेन्सी ल्याउनुपर्ने भएकाले यसरी फोहोर ल्याउनुपरेको हो । अवरोधकै बीच प्रहरी तैनाथ गरेर फोहोर फालिनु दीर्घकालीन समाधान होइन । काठमाडौंको फोहोर कम भएपछि कुहिने र नकुहिने छुट्ट्याएर व्यवस्थापन गरिनेछ ।”
मन्त्रालयका इन्जिनियरहरूले तत्काल अव्यवस्थित तरिकाले फालिएको फोहोर माटोले पुर्ने बताएका छन् । कुहिने र नकुहिने फोहोर छुट्ट्याउन थालिएपछि वैज्ञानिक तरिकाले व्यवस्थापन गरिने उनीहरूको भनाइ छ ।
बन्चरेडाँडा पनि सिसडोलजस्तै भन्द्रगोल बन्नेमा स्थानीय चिन्तित छन् । बन्चरेडाँडाको फोहोरको डंगुर हेरेर पुनः प्रहरी र स्थानीयबीच झडप भएको ठाउँमा आयौँ । अपराह्नको साढे ४ बजेको थियो ।
स्थानीयहरू प्रहरी ‘दमन मुर्दावाद’, ‘यसरी कहिलेसम्म फोहोर ल्याउने ?’ भन्दै विरोध गरिरहेका थिए ।
“फोहोर र मानिससँगै बस्नु हुन्न, फोहोरलाई वैज्ञानिक तरिकाले व्यवस्थापन गर्नुपर्छ भन्ने थियो,” स्थानीय अमृत कार्कीले भने, “धुनिबेसीका मेयरले राजनीतिकरण गरे । हिजो (सोमबार)को वार्ता कर्मकाण्डी मात्रै भयो । गुठी जग्गा उपभोग, स्थानीयलाई रोजगारीलगायत मागहरू सम्बोधन भएको खोइ ?”
स्थानीयले साइट व्यवस्थापन, स्थानीय पूर्वाधार र सामाजिक जीवन सुधारको माग राखेर गएको दुई सातादेखि काठमाडौंको फोहोर विसर्जन गर्न दिएका थिएनन् । मंगलबार प्रहरीको सुरक्षा घेराबीच १५० भन्दा बढी ट्रक फोहोर बन्चरेडाँडामा विसर्जन गरिएको छ ।
प्रहरीले सुरक्षा दिएपछि बन्चरेडाँडामा फोहोर विसर्जन (३० तस्बिर)
यता, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का वैज्ञानिक डा. रवीन्द्र ढकाल नेतृत्वको टोलीले सिसडोलबाट दुर्गन्ध हटाउने र वातावरणमा परेको असरबारे अध्ययन थालेको छ । मंगलबार टोली सिसडोल पुगेर पानी र लिचेडको नमुना संकलन गरेको छ । दुर्गन्ध कम गर्ने केमिकल छर्किएको छ ।
काठमाडौं महानगरले आउँदो साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर वर्गीकरण गरेर संकलन र ढुवानी गर्ने भएको छ ।
सरकारले ०६२ जेठमा तीन वर्षभित्र बन्चरेडाँडामा अत्याधुनिक ल्यान्डफिल साइट निर्माणका लागि एक हजार ७९० रोपनी जग्गा अधिग्रहण गरेको थियो । जापान सहयोग नियोग (जाइका)को दुई अर्ब १० करोड रुपैयाँ सहयोगमा ल्यान्डफिल साइट बनाउने निर्णय भएको थियो ।
सोमबार भएको त्रिपक्षीय सम्झौता हेर्नोस्–