काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पेट्रोलियम पदार्थमा थप सहुलियतको खोजी गर्न सरकारलाई आग्रह गरेका छन् । संसद्मा एमाले सांसद विशाल भट्टराईले प्रस्तुत गरेको महंगीविरुद्धको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमा बोल्दै कांग्रेस महामन्त्रीसमेत रहेका थापाले अहिलेको पूर्वाधार कर छुटले मात्र जनताको समस्या समाधान हुन नसक्ने बताए ।
“कोभिड र रुस युक्रेन युद्धको प्रभावले पेट्रोलियम पदार्थका मूल्यवृद्धि भएको छ । आउँदा दिनहरू अझ चुनौतीपूर्ण छन्, यसलाई हल्कारूपमा नलिनका लागि म प्रधानमन्त्रीलाई आग्रह गर्दछु,” थापाले भने, “यसले अझै अस्तव्यवस्ता आउन सक्छ । युद्धको जस्तो सोच राखेर ‘वार स्पीरिट’मा काम गर्नुपर्ने आवश्यकता छ ।”
उनले पूर्वाधार कर हटाएको भन्दै त्यसबाहेक पनि मूल्य घटाउन र सहुलियत दिने काम गर्न आग्रह गरे । “पूर्वाधार कर हामीले हटायौँ, पूर्वाधार कर कसले लगायो ? भन्यो भने धेरै कुरा खुल्छ, त्यतातिर नलागौँ,” थापाले भने, “सडक निर्माण कर छ । अन्य के–के कुरा हुन सक्छन् । तर, अहिले तत्काल जनताले सहुलियत महसुस गर्नेगरी मूल्य घटाउन आवश्यक छ ।”
उनले अहिलेसम्म एक हप्ताका लागि मात्र स्टोरेज क्यापासिटी रहेको भन्दै क्रड आएर किनेर प्रशोधन गर्दा थप महँगो पर्नेतर्फ पनि सचेत गराए । “क्रुड आयल किनेर भारतबाट ल्याउँदा, प्रशोधन गर्दाभन्दा थप महँगो पर्न सक्छ, अन्यत्र कतै डिपो राखेर पनि गर्न सकिन्छ कि भनेर लाग्नुप¥यो,” उनले भने, “तर, पेट्रोल, डिजेल, एलपीजी मुक्त देश बनाउन आजैदेखि लागौँ । १० वर्षका लागि महत्त्वाकांक्षी घोषणा गरौँ ।”