काठमाडौं । नेपाल धितोपत्र बोर्डले एकैसाथ दुईवटा हाइड्रोपावर कम्पनीलाई आईपीओ बिक्री गर्ने अनुमति दिएको छ । बोर्डले बुधबार सयपत्री हाइड्रोपावर र मन्दाकिनी लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको हो ।
सयपत्री हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि ९ करोड रुपैयाँ बराबरको ९ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको हो । यस्तै, मन्दाकिनी हाइड्रोपावरले १७ करोड ६४ लाख ११ हजार रुपैयाँ बराबरको १७ लाख ६४ हजार ११० कित्ता सेयर निष्कासनको अनुमति पाएको छ ।
सयपत्री हाइड्रोपावरले आईपीओ निष्कासनका लागि एनआईबीएल एस क्यापिटल र मन्दाकिनी हाइड्रोपावरले बीओके क्यापिटललाई बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ ।
यससँगै चालु आर्थिक वर्षमा बोर्डले २२ कम्पनीलाई पाँच अर्ब ५१ करोड ३८ लाख ३२ हजार ५०० रुपैयाँ बराबरको ६ करोड ५१ लाख ३८ हजार ३२५ कित्ता आईपीओ निष्कासनको अनुमति दिएको छ ।
२७ कम्पनी बोर्डको अनुमतिको पर्खाइमा
यस्तै, बोर्डमा विभिन्न क्षेत्रका २७ वटा कम्पनी आईपीओ निष्कासनको स्वीकृतिको पर्खाइमा छन् । २७ वटा कम्पनीको ६ अर्ब ७९ करोड ७ लाख ५४ हजार ४०० रुपैयाँ बराबरको ६ करोड २६ लाख ५० हजार ४४ कित्ता आईपीओ निष्कासनका लागि स्वीकृतिको पर्खाइमा छन् ।
जसमध्ये सान्जेन जलविद्युत कम्पनी र रसुवागढी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि निष्कासनको प्रक्रिया अगाडि बढाएका छन् ।
बोर्डमा आईपीओ अनुमतिको पखाईमा रहेका कम्पनीमा सान्जेन जलविद्युत कम्पनी र रसुवागढी हाइड्रोपावर कम्पनी १५ वटा जलविद्युत कम्पनी रहेका छन् । यस्तै अन्य समूहको मुक्तिनाथ कृषि कम्पनी र डिस मिडिया नेटवर्क, इन्भेष्टमेन्टतर्फको हाथवे इन्भेष्टमेन्ट कम्पनी रहेको छ ।
यस्तै, बिमा क्षेत्रको आईएमई लाइफ र रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाउँदै बोर्डको स्वीकृतिका पखाईमा रहेका छन् । कुल ६० लाख कित्ता आईपीओ जारी गर्न लागेको रिलायबल लाइफ इन्स्योरेन्सले १०० रुपैयाँ अंकित मूल्यमा ११२ रुपैयाँ प्रिमियमसहित २१२ रुपैयाँमा निष्कासन गर्ने अनुमति मागेको छ ।
होटेल तथा पर्यटन क्षेत्रका कालिञ्चोक दर्शन लिमिटेड र सिटी होटेल लिमिटेडले आईपीओ निष्कासनको अनुमति मागेका छन् ।
यता पाँचवटा लघुवित्त पनि बोर्डबाट आईपीआ निष्कासनको स्वीकृतिको पखाईमा रहेका छन् ।