site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

काठमाडौं । यो वर्षको तिजमा बजारमा नयाँ सामान ल्याउन नसकिएको नेपाल व्यापार संघले जनाएको छ । नयाँ सामान नआउँदा व्यापारमा समेत कमी आएको संघको भनाइ छ ।
रसुवाको केरुङ नाकामा देखिएको समस्या र व्यापारीकै कारण बजारमा माग भएको दैनिक उपभोग्य सामग्रीदेखि लत्ताकपडा भन्सारबाट छुटाउन नसकिएको संघका अध्यक्ष युवराज न्यौपाने बताउँछन् । 

“बजारमा यो वर्ष नयाँ सामान ल्याउन सकिएन । नयाँ सामान नआएपछि पुरानो पनि बिक्री हुँदैन । यसको प्रत्यक्ष मारमा हामी सबै परेका छौं,” न्यौपानेले भने, “यसको दोष हामी अरुलाई मात्रै दिदैनौं, हामी व्यापारी पनि यसको केही अशियार हौं ।”

केरुङ नाका पूर्ण रुपमा सुचारु हुन नसक्दा यो समस्या आएको न्यौपानेको भनाइ छ । 

यता, केरुङ नाका प्रमुख भने न्यौपानेको भनाइमा सहमत छैनन् । व्यापारीले समयमै कारोबार मूल्य तोक्न नसक्नु नै मुख्य कारण भएको केरुङ नाका प्रमुख केदार पनेरुको तर्क छ । 

केरुङ नाकामा भन्सार एजेण्टले व्यापारीलाई दुःख दिएका कारण सामान छुटाउन नसकेको उनको भनाइ छ । “भन्सारमा गयो, यहाँबाट २० रुपैयाँको दरमा सामान छुटाउने सहमतिमा केरुङ पुग्यो भने त्यहाँ पुग्दा ३५ रुपैयाँ भन्दा कममा मान्दैनन् । ती एजेन्टको विकल्प पनि खोज्न सकिँदैन,” अध्यक्ष न्यौपाने भन्छन्, “जम्मा ५–७ जना एजेन्टको सिण्डिकेट चलिरहेको छ केरुङमा ।” एजेन्टको दादागिरी र भन्सार मूल्यांकन बढाउनु नै समस्याको मुख्य कारण रहेको उनको गुनासो छ । 

निरन्तरको बाढी पहिरो र जुनसुकै बेला पहिरो गएर बाटो विग्रिन सक्ने पुरानै समस्या पनि रहेको संघले बताएको छ । यो समस्या दसैं र तिहारसम्म रहने संघले जनाएको छ । 

“तिजको बजार सकिनासाथै दसैं बजार सुरु हुन्छ । अबको केही दिनमै दसैं बजार सुरु हुन्छ । यसका लागि व्यापारीले सामान झार्ने समय हो । तर केरुङ नाकाको यो समस्याले हामीले सामान झार्न सकेका छैनौं,” अध्यक्ष न्यौपानले भने, “यसको असर दसैं र तिहारको बजारमा पर्छ । नयाँ उत्पादन बजारमा नदेखेपछि पुरानो सामग्री पनि जाँदैन ।” उनका अनुसार यो दसैं र तिहारमा पनि बजारमा वृद्धि हुने संकेत देखिएको छैन । 

यसमा व्यापारीको पनि केही हात रहेको उनको भनाइ छ । “हामी पनि एकरुपता छैन । जसलाई जति मन लाग्यो त्यतिमै सामान उठाउने पुरानै परम्परा हामी व्यापारीमा पनि छ । यसको अन्त्य नहुनु पनि एउटा महत्वपूर्ण समस्या हो,” अध्यक्ष न्यौपानेले भने, “हामीले साथीहरुलाई पटक पटक आग्रह गर्दा पनि उनीहरुले मानेका छैनन् । यो परम्परागत व्यापारको शैलीको पनि अन्त्य हुनु आवश्यक छ ।”

सरकारसँग पहल गरे पनि चित्तबुझ्दो जवाफ भने नपाएको उनको गुनासो छ । “राजस्व र भन्सारमा गएर हामीले हाम्रो समस्या पटक पटक राखिरहेका छौं,” उनले भने, “उहाँहरु हामीले भन्सारमा अवरोध गरेका छैनौं । आफ्नो अनुसार उचित मूल्यांकन गरेर ल्याउनुुस् भन्नुहुन्छ । तर उहाँहरुका पनि आफ्नै जिम्मेवारी र नियमन गर्न सक्ने ठाउँहरु छन्, त्यसमा उहाँहरु गम्भीर हुनुहुन्न ।”

यता रसुवागढी भन्सार प्रमुख पनेरु भने व्यवसायीले भनेका केही कुरामा सत्यता भए पनि सबै पक्ष भने सही नभएको बताउँछन् । व्यवसायीले समयमै मालको सही मूल्यांकन गर्न नसक्नु र समयमै सामान नउठाउनु मुख्य कारण भएको पनेरु बताउँछन् । 

“चिनियाँहरुले मूल्यांकन बढाएका थिए । यही कारण सामान लोड हुन सकेन । यसमा मैले नै समन्वय गरेर ५ हजारबाट २५ सयमा झारेर सहमति गराएँ,” पनेरुले भने, “त्यसपछि सहमति भएको छ । अहिलेको मुख्य समस्या भनेकै नेपाली व्यापारीहरुको उचित कारोबार मूल्य मूल्यांकन गर्न नसक्नु हो । यो समस्याको सामाधान उहाँहरु आफैंले खोज्ने हो ।”
करका विषयमा भने सरकारले दिएको लक्ष्यअनुसार आफू चल्नु पर्ने भन्दै वार्षिक २० प्रतिशत राज्य संकलन बढाउँदै जाने लक्ष्य अनुसार भन्सारले काम गरेको भन्दै उनले भने, “सरकारको नीति अनुसार हामी चल्ने हो ।”

व्यापार संघले भनेजस्तो दसैं र तिहारमा सामान अभाव नहुने उनको दाबी छ । “समयमै सामान उठाउने, समयमै मूल्यांकन गर्ने र सामान झर्नेवित्तिकै लैजाने हो भने दसैं तिहारमा माल अभाव हुँदैन,” रसुवागढी नाका प्रमुख पनेरुले भने, “सडक भने पहिरोले अबरुद्ध हुन सक्छ । यो त प्राकृतिक प्रकोपको कुरा भयो । सामान्य अवस्थामा अभाव हुने अवस्था छैन ।”
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ९, २०७४  १७:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro