
धनगढी । धनगढीका मेयर गोपाल हमालले नगरवासीका गुनासा, सल्लाह, सुझाव तथा समस्या सम्बोधनका लागि ह्वाट्सएप नम्बर सार्वजनिक गरेका छन् । उनले उपमहानगरपालिकामा सोमवार पत्रकार सम्मेलन गरेर आफ्नो ह्वाट्सएप नम्बर सार्वजनिक गरेका हुन् ।
सार्वजनिक सरोकारका सवालमा नगरवासीका गुनासा, पिरमार्का सुन्न, सल्लाह सुझाव लिन मेयर हमालले ९८५८४८८८९५ नम्बर सार्वजनिक गरेका छन् । यो नम्बर मेयर हमालसँगै हुनेछ । हमालले विकास निर्माणको काममा कहीँ कमसल सामग्री प्रयोग, गलत काम, कर्मचारीबाट ढिलासुस्ती वा नागरिकलाई दुःख दिने काम भए कल गर्न नगरबासीलाई आग्रह गरेका छन् ।
भ्रष्टाचार अन्त्य गरी सुशासन कायम र लोककल्याणकारी नगरको निर्माणमा आफू लागेको बताउँदै उनले व्यक्तिगत कामका लागि भने सो नम्बरमा फोन नगर्नसमेत अनुरोध गरे ।
राजनीतिक दलबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिले शुसासन ल्याउन नसकेको भन्दै उपमहानगर प्रमुखका लागि तयार भएका हमालले अब भ्रष्टाचारको अन्त्य गर्न ह्वाट्सएप नम्बर सार्वजनिक गरेका हुन् । कतै कुनै बदमासी भएको भए सो नम्बरमा फोन गर्न आग्रह गर्दै उनले गलत भेटिए तुरुन्तै कारबाही हुने चेतावनी दिए ।
उपमहानगरका हरेक सूचना एकैदिन उपलब्ध गराउन कर्मचारीलाई निर्देशन दिइएको हमालले बताए । अब सञ्चारकर्मीले सूचनाका लागि निवेदन दिएर १५ दिनसम्म कुर्नु नपर्ने हमालको भनाइ थियो ।