site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बजेटकाे प्राथमिकतामा लुम्बिनी
Sarbottam CementSarbottam Cement

बुटवल । संघीय सरकारले आर्थिक वर्ष २०७९/८० को लागि बजेट ल्याएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेटमा लुम्बिनी प्रदेशका राष्ट्रिय गौरवका आयोजनाका साथै अन्य योजनाहरूमा बजेट परेका छन्।

विशेषगरी रुपन्देही, दाङ, कपिलवस्तु लगायत जिल्लाका धेरै याेजना बजेटमा समेटिएका छन् । अर्थमन्त्री शर्माले ल्याएको बजेटमा प्रत्येक प्रदेशमा ठूला र मध्यम आकारका मोडिफाइड एटमोस्फेयर कोल्ड स्टोर खोल्ने व्यवस्था अनुरूप रुपन्देहीकाे कर्साघाटमा आधुनिक कृषि उपज निर्यात बजार निर्माण कार्य सुरु गरिने उल्लेख गरिएको छ।

Prabhu Bank
Agni Group
NIC Asia

भैरहवाको विशेष आर्थिक क्षेत्र सेजलाई पूर्ण रूपमा सञ्चालनमा ल्याइने जनाइएको छ। भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा संचालनमा ल्याउने र आन्तरिक हवाई सेवाको गुणस्तर अभिवृद्धि गर्न र पहुँच विस्तार गर्न दाङको विमानस्थलको स्तरोन्नति गरिने बजेटमा उल्लेख छ।

सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकमा पर्ने सिद्धबाबा खण्डमा सुरुङ मार्ग निर्माणको कार्य सुरु गरिने भएको छ। यसका साथै बुटवलको तिनाउ नदीमा बहु-उपयोगी सिग्नेचर पूल निर्माण गर्न सम्भाव्यता अध्ययन गरिने बजेटमा उल्लेख गरिएको छ।

Global Ime bank

पश्चिम रेलमार्गको भैरहवा-बुटवलमा ट्राम यातायातको सम्भाव्यता अध्ययन गरिने भएको छ। रूग्ण तथा बन्द प्रायः अवस्थामा रहेको बुटवल धागो कारखाना उपयुक्त ढाँचामा सञ्चालनमा ल्याइने उल्लेख गरिएको छ।

गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन र स्वास्थ्य पर्यटन प्रवर्द्धन गर्न लुम्बिनी प्रदेशको राजापुरमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत सुपर स्पेसियालिटी सेवासहितको स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल स्थापना गर्ने कार्य अघि बढाइने जनाइएको छ । यसका साथै रुपन्देहीकाे सैनामैनामा ट्रमा सेन्टर स्थापना गरिने कुरा बजेटमा उल्लेख छ।

नेपालगञ्ज एकीकृत जाँच चौकीको निर्माण कार्य सम्पन्न गरिने र भैरहवाको एकीकृत जाँच चौकी निर्माण कार्य प्रारम्भ गरिने बजेटमा समेटिएकाे छ। सबै प्रादेशिक अस्पतालहरूमा डायलासिस सेवा उपलब्ध गराउन डायलासिस मेसिन खरिद गर्ने कार्यक्रम अनुरूप बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको लागि बजेट विनियोजन भएको छ।

एक स्थानीय तह : एक खेलग्राम कार्यक्रमलाई निरन्तरता दिएको सरकारले बाँकेको कोहलपुरमा महिला क्रिकेट एकेडेमी तथा रङ्गशाला निर्माणका लागि बजेट विनियोजन गरेकाे छ ।

पूर्व-पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने कार्यलाई तीव्रता दिइने र आगामी वर्ष नारायणघाट-बुटवल खण्ड विस्तार कार्य सम्पन्न गरिने बजेटमा उल्लेख छ। बुटवल-गोरूसिङ्गे सड़क खण्डको विस्तार कार्य सुरु गरिने भएको छ । प्रमुख व्यापारिक नाकाहरूलाई पूर्व-पश्चिम राजमार्गसँग जोड्ने वेलहिया-बुटवल सडकको विस्तार तथा स्तरोन्नति गर्ने कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न गरिने अर्थमन्त्री शर्माले उल्लेख गरे। पूर्व-पश्चिम राजमार्गबाट पश्चिम नवलपरासी, कपिलवस्तु र बर्दियाका जिल्ला सदरमुकाम जोड्ने सडकहरूलाई स्तरोन्नति गर्न विस्तृत परियोजना प्रतिवेदन तयार गरी निर्माण कार्य प्रारम्भ गरिने बजेटमा अर्थमन्त्री शर्माले उल्लेख गरे।

बुटवल-गोरखपुर ४०० केभी प्रसारण लाइन निर्माण आरम्भ गरिने भएको छ। बुटवल-लमही-दोदोधारा खण्डको ४०० केभी र रातमाटे-दमौली-बुटवल ४०० के.भी. प्रसारण लाइन निर्माण कार्य अघि बढाइने अर्थमन्त्री शर्माले जनाए।

आगामी ३ महिनाभित्र महानगर र उपमहानगरपालिका भित्रका सबै सार्वजनिक कार्यालय र निवासलाई ग्यास सिलिण्डर मुक्त गराई क्रमशः विद्युतीय चुलो प्रयोगलाई देशव्यापी बनाइने कार्यक्रम अनुसार लुम्बिनी प्रदेशका ४ उपमहानगरपालिकामा विद्युतीय चुलो आउने जनाइएको छ।

बबई सिँचाइ आयोजनाको पश्चिम मूल तथा शाखा नहरहरूको विस्तार गरी थप ३ हजार हेक्टर जमिनमा सिँचाइ सेवा विस्तार गरिने बजेटमा उल्लेख गरिएको छ। कृषियोग्य जमिनमा थप सिँचाइ सुविधा विस्तारको लागि सम्भाव्यता अध्ययन सम्पन्न भएको नौमुरे राप्ति-कपिलवस्तु डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण कार्य अघि बढाइने, कालीगण्डकी तिनाउ आयोजनाको अध्ययन कार्य अगाडि बढाइने, दाङ जिल्लाको देउखुरी उपत्यकामा प्रगन्ना तथा बड्कापथ सिँचाइ आयोजनाको मूल नहर विस्तारको कार्यलाई निरन्तरता दिइने, बृहत् दाङ उपत्यका सिँचाइ आयोजनाको सिँचाइ प्रणाली पुनर्निर्माण गरिने बजेटमा उल्लेख गरिएको छ।

बाँकेको कोहलपुरमा डाटा सेन्टरको भौतिक पूर्वाधार निर्माण कार्य प्रारम्भ गरिने अर्थमन्त्री शर्माले बताए । पाल्पा जिल्लाको रामपुरलाई नेपाली मौलिक शैली र विशेषता झल्किने संरचनासहितको नयाँ शहरको रूपमा विकास गर्न अध्ययन गरिने उल्लेख गरिएको छ।

रुकुम पूर्वमा सरकारी सेवा प्रवाहलाई सहज र व्यवस्थित बनाउन एकीकृत रूपमा सरकारी कार्यालयहरूको भवन निर्माणको लागि बजेत विनियोजन भएको छ।

सहरी नदी कोरिडोर कार्यक्रम अन्तर्गत रुपन्देहीको तिनाउ दानव नदी कोरिडोरको अवधारणाअनुरूप तटवन्ध निर्माण र वस्ती संरक्षण कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

मुख्य रूपमा शीर्षक छुट्टिएका बजेट यति मात्रै भएपनि सबै जिल्लामा जिल्लागत आउने बजेट भने आउने जनाइएको छ । गुल्मी, अर्घाखाँची, बर्दिया, प्युठान लगायत जिल्लामा ठूला याेजनाहरू परेका छैनन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९  २२:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय