जनकपुरधाम । धनुषामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निकै कमजोर देखिएको छ । अठार स्थानीय तहमध्ये १७ वटाको गणना सकिँदा लोसपाले कुनै पनि पालिकामा प्रमुख पद जित्न सकेका छैन । जनकपुरधाममा उपमहानगरपालिकाको गणना भइरहेको छ । असी प्रतिशत मत गणना सकिँदा यहाँ पनि लोसपाका उमेदवार चौँथो स्थानमा छन् ।
धनुषाको तीन पालिकामा नेकपा (एमाले), तीनमा जनता समाजवादी पार्टी (जसपा), एक स्थानीय तहमा नेकपा (माओवादी केन्द्र) र १० वटामा नेपाली कांग्रेसका उमेदवार प्रमुख पदमा निर्वाचित भएका छन् । गणना हुन बाँकी रहेको जनकपुरधाममा स्वतन्त्र उमेदवार आउने सम्भावना देखिएको छ ।
यस्तै, महोत्तरीमा माओवादी केन्द्र शून्यमा झरेको छ । ०७४ को निर्वाचनमा तीन स्थानीय तह जितेको माओवादी यसपालि निकै कमजोर देखिएको हो । माओवादीको आधार किल्ला मानिने बर्दिबास र गौशालामा पनि अवस्था नाजुक छ । बर्दिबास माओवादी नेता गिरिराजमणी पोखरेलको गृहनगर पनि हो । त्यहाँ नेपाली कांग्रेसबाट बागी भएर स्वतन्त्र उमेदवारी दिएका प्रह्लाद क्षेत्री निर्वाचित भएका छन् ।
०७४ मा माओवादीले जितका सम्सी र रामगोपालपुरको प्रमुख पद पनि अन्य दलले जितेका छन् । सम्सीमा जसपा र रामगोपालपुरमा एमालेका उमेदवार निर्वाचित भएका छन् ।
महोत्तरीमा १५ वटा पालिका छन् । जसमध्ये पाँचवटामा जसपा, पाँचवटामा लोसपा, दुईमा कांग्रेस, एकमा एमाले, एकमा स्वतन्त्र र एक पालिकामा तामलोपाका उमेदवार निर्वाचित भएका छन् ।
पार्टीको आन्तरिक कलह, निर्वाचनमा कार्यकर्ता परिचालन र टिकट वितरणमा भएको असन्तुष्टिले पार्टीले हार बेहोर्नु परेको माओवादी नेता प्रह्लाद बुढाथोकीले बताए । प्रदेशमा पार्टीको आन्तरिक विवादले माओवादीलाई क्षति भएको उनको आकलन छ ।