काठमाडौं । अमेरिका तथा युरोपियन मुलुकमा पछिल्ला दिनहरूमा मंकीपक्स संक्रमण फैलँदो ममा छ । कोभिड १९ को महामारीको जोखिम नसकिँदै अर्को सरुवा रोगको फैलिनुले विश्व स्वास्थ्यमा अर्को भय पैदा गरेको छ । विश्वका १२ देशमा फैलिइसकेको मंकीपक्सले नेपालमा पनि जोखिम निम्त्याउला ?
के हो मंकीपक्स ?
‘मंकीपक्स’ नामक भाइरसबाट हने एक प्रकारको संक्रमण हो मंकीपक्स । विश्व स्वास्थ्य संगठनले यसलाई स्मलपक्स विफरकै एउटा प्रजाति भएको जनाएको छ । मंकीपक्सको लक्षण देखिनेदेखि निको हुनेसम्मको अवधि ५ देखि २१ दिनसम्म रहने संगठनले जनाएको छ ।
वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार यसका लक्षण दुईवटा चरणमा देखिन्छन्, सुरुवाती चरणमा व्यक्तिमा ज्वरो आउने, टाउको दुख्ने, मांसपेशीहरू सुन्निनेजस्ता लक्षण देखिन्छन् भने दोस्रो चरणमा बिमिरा आउने, विस्तारै बिमिराहरू पानी फोकाको रूपमा परिणत हुने र केही दिनपछि सुकेर जाने हुन्छ ।
मंकीपक्स संक्रमणबाट हुने बिमिरा अनुहारमा पहिले देखिन्छन् र विस्तारै शरीरका विभिन्न भागमा फैलिँदै जान्छ । विशेषगरी, टाउको, हत्केला, पैतालाजस्ता भागमा यस्ता बिमिरा धेरै देखिन्छ र केही दिनपछि आफैँ निको भएर जान्छ । तर, केही व्यक्तिमा भने यसले इन्सेप्लाइटिस, निमोनियाजस्ता जटिलता पनि निम्त्याउन सक्ने डा. पुन बताउँछन् । यद्यपि, मंकीपक्सले सिकिस्त बनाउने र अस्पताल भर्ना हुने सम्भावना कम रहने विश्व स्वास्थ्य संगठनले जनाएको छ । मंकीपक्स संक्रमित १० मध्ये एकजनाको मृत्यु हुनसक्ने संगठनले जनाएको छ ।
नयाँ रोग हो मंकीपक्स ?
विश्व स्वास्थ्य संगठनका अनुसार सन् १९७० मा कंगोबाट सुरु भएको मंकीपक्स संक्रमण सोही वर्ष मा १० वटा अफ्रिकी मुलुकमा फैलिएको थियो । सन् २००३ मा अफ्रिकी मुलुकहरूबाट आयातित कुकुरहरूको माध्यमबाट अमेरिकामा यो संक्रमण फैलिएको थियो ।
सन् २०१७ मा नाइजेरियमा फैलिएको मंकीपक्सबाट १७२ जना संक्रमित भएका थिए तीमध्ये ७५ प्रतिशत २१ देखि ४० वर्षसम्म्का युवा थिए ।
पछिल्लोपटक २१ मे सम्म विश्वका १२ देशमा यो संक्रमण पुष्टि भएको छ । बेलायत, जर्मनी, स्विडेन, बेल्जियमलगायत युरोपका नौ वटा मुलुक तथा अमेरिका, क्यानडा, अस्ट्रेलियामा संक्रमण देखिएको छ भने हालसम्म ९२ जना संक्रमित भएको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ ।
कसरी सर्छ ?
मध्य तथा पश्चिम अफ्रिकी मुलुकका ग्रामीण भेगमा मंकीपक्स आम रोगको रूपमा देखापर्दै आएको छ । उष्ण प्रदेशतिरका बस्तीमा यो संक्रमण धेरै देखिने गरेको विश्व स्वास्थ्य संगठनको अध्ययनले देखाएको छ । युके हेल्थ सेक्युरिटी एजेन्सीका अनुसार संक्रमित व्यक्तिको नजिकमा रहेका व्यक्तिमा श्वासप्रश्वास, आँखा, र्याल, सिँगान, रगतको माध्यमबाट यो संक्रमण सर्छ ।
एजेन्सीका अनुसार मंकीपक्स संक्रमण यौन सम्पर्कबाट सरेको अहिलेसम्म रेकर्ड नभए पनि व्यक्तिसँग शारीरिक रूपमा नजिक रहँदा सर्ने सम्भावना बढी रहन्छ । संक्रमित बाँदर, मुसा लोखर्केजस्ता जनावरहरुसँग नजिक रहेका व्यक्तिमा मंकीपक्स सर्ने सम्भावना उच्च रहन्छ । हालसम्म मंकीपक्स विरुद्धको खोप बनेको नभए पनि स्मलपक्सविरुद्ध बनेको पछिल्लो खोपले काम गर्ने संगठनले जनाएको छ ।
नेपालमा आइपुग्ला मंकीपक्स ?
अन्य सरुवा रोगहरूजस्तै प्रकृतिको भएकाले मंकीपक्स संक्रमण नेपाल नआउला भन्ने अवस्था नरहेको डा. पुनको बुझाइ छ । हालसम्मको तथ्यांकमा मंकीपक्सको संक्रमण दर उच्च देखिएको छैन । तर, अन्य सरुवा रोगहरूजस्तै घुमिफिरी नेपाल नआउला भन्न सकिँदैन । यसअघि, बिफरको संक्रमणले जनमानसमा पुर्याएको क्षतिलाई हेरेर पनि हामीले बेलैमा सावधानी अपनाउनु आवश्यक देखिन्छ, डा. पुन भन्छन् । तर, सरकारले भने मंकीपक्स फैलिएका मुलुकहरूबाट आउने यात्रुहरूलाई निगरानीमासम्म राखेको छैन ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दास मंकीपक्सबारे सरकार अलर्ट रहेको, तर विमानस्थलमा यसबारे चेकजाँचको भने व्यवस्था नगरिएको बताउँछन् । मंकीपक्सको संक्रमण दर पनि उच्च नदेखिएकाले नेपाल आइपुग्ने सम्भावना कम रहेको डा. दासको दाबी छ ।