
स्थानीय तहको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । सत्तारूढ गठबन्धनमा रहेको दल नेकपा (एकीकृत समाजवादी)ले निर्वाचनको परिणामबाट पार्टीलाई 'धोका' भएको निष्कर्ष निकालेको छ ।
एकीकृत समाजवादीका उपहासचिव डा. विजय पौडेलले गठबन्धनमा आफूहरूले इमान्दारिता देखाए पनि नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) इमान्दार नभएको बताए । प्रस्तुत छ, उनै पौडेलसँग बाह्रखरीका कुञ्जरमणि भट्टराईले गरेको संक्षिप्त कुराकानी :
निर्वाचनको मत परिणाम सार्वजनिक भइरहेको छ । यसलाई कसरी हेरिरहनुभएको छ ?
हामीले गठबन्धनलाई इमान्दारिताका साथ लियौँ । तर कांग्रेस र माओवादीबाट साथीहरूले हामीलाई इमान्दारिताका साथ सहयोग गर्नुभएन ।
गठबन्धन भएका ६ महानगरपालिकामा र ११ उपमहानगरमा पनि राम्ररी लागू भएन । अन्यत्र त गठबन्धन नै भएन ।
जुन मिसनका लागि गठबन्धन सुरु भएको हो । त्यो मिसन पूरा गर्न हामी प्रतिबद्ध छौँ । निर्मम समीक्षा गर्छौं । गठबन्धनका साथीहरूलाई इमान्दार हुन आग्रह गर्छौं । हामीले समीक्षा गर्न बाँकी छ ।
गठबन्धनले गर्दा तपाईंहरूलाई फाइदा चाहिँ भएन र ?
हामीलाई गठबन्धन गर्दा ठूलो महानगर पोखरामा इमान्दारिताका साथ भोट आयो । अन्यत्र कहाँ आयो र ? हेटौँडामा हेर्दा पनि अन्यत्रबाट भोट आएको छ । अन्य पदमा रुखमा छाप लगाएको ठाउँबाट हाम्रोमा कम मात्रै मत आएको छ । अन्त त आएको छैन । बुटवल उपमहानरमा आधाको फरक छ । कलममा छाप लगाएको ठाउँमा शतप्रतिशत रुखमा छाप लगाइएको छ । तर, अन्यत्र रुखमा छाप लगाइएको ठाउँमा कलममा छाप एकदमै कम छ । हाल मतगणना भइरहेको तुल्सीपुर, इटहरीमा पनि त्यही छ ।
हाम्रोबाट जहाँ कमललाई भोट आएको छ । त्यहाँ रुखलाई पनि आएको छ । तर, रुख–रुख लगाएको ठाउँमा कलमलाई भोट आएको छैन । अथवा रुखभरि हालेर कलममा पनि हालेर बदर गरेको छ । त्यो त प्रष्टै छ नि !
उसो भए तपाईंहरूलाई धोका भयो ?
दुईटा कुरा भए– एउटा त धोका, अर्को इमान्दारिता भएन । धोका भयो भन्दैमा हामी भाग्ने कुरा छैन । हामीले नै हो गठबन्धन बनाएको हो ।
यद्यपि हामी सानो दल छौँ । ठूलो ट्रेनमा, ट्रकमा, बसमा, गोरु गाढामा ठूलो चक्कामा सानो बोल्ट हुन्छ । अर्थात् चुक्कुल सानै हुन्छ त्यो नभइ चक्का अढिँदैन । त्यो चुकुल हौँ हामी । हामीले विद्रोह गरेका कारण गठबन्धन बनेको हो । हामीले विद्रोह गरेर नयाँ पार्टी नबनाएको भए कहाँबाट शेरबहादुरजी प्रधानमन्त्री हुने ? माओवादीले अर्थमन्त्रलायसहितका राम्रा मन्त्रालय पाउने सम्भावना हुँदैनथ्यो । तर, त्यो हामीले उहाँहरूका लागि मात्रै गरिदिएको होइन । संविधान, लोकतन्त्र, संवैधानिक व्यवस्था जोगाउनका लागि गरेका हौँ । देश र जनताका लागि गरेका हौँ ।
त्यसैले धोका भएपनि हामी भागी हाल्ने पक्षमा छैनौँ । साथीहरूलाई 'पोलिटिकल्ली' इमान्दर हुन आह्वान गर्छौं । हामीप्रति धोका भएको सत्य हो । तर हामी समीक्षा गरेर इमान्दार हुन आग्रह गर्छौं । हामीलाई पोखराबाहेक कतै पनि ठोस सहयोग भएन । हामीले सहयोग गर्यौं । हामीलाई उपयोग गरियो ।
धोका भएपनि गठबन्धन चाहिँ कायमै रहन्छ ?
गठबन्धन कायम नै रहन्छ । हामीले दुईचार सिट मेयर बढी लिउँला भनेर गठबन्धन गरेकै होइन नि ! संविधान खारेज हुँदैछ । हामीकहाँ समस्या के छ भने असाध्यै छिटो बिर्सने । पञ्चायको तानाशाही बिर्सिएर राजाको वाहीवाही गर्न थाल्ने । सबै कुरा बिर्सने रोग छ । ओलीजीले संविधान सिध्याउन जटिल कदम चाल्नुभएको थियो । पटक–पटक प्रयोग गरिराखेर देश ध्वस्त हुन्थ्यो । उहाँले घोषित रूपमा संघीयता, धर्मनिरपेक्षताको विरुद्ध बोल्नुभएको थियो । संविधानमा नभएको नभएको कदम चालेर संसद् भंग गर्नुभएको थियो । त्यो कायम रहन दिएको भएर संसद् पुनर्स्थापना नभएको भए संविधान विरोधीहरूले नयाँ संविधान लेख्नुपर्छ, गोलमेच सम्मेलन जस्तो नयाँ फन्डा सुरु गरिसकेका थिए ।
एउटा नामको कम्युनिस्ट पार्टी र भाजपाको नेपाली ब्रान्ड बनाउन लाग्नुभएको कुरा कोभिडका बेलामा उपचार गर्न हस्पिटल हस्पिटल गएर उपचार गर है निर्देशन दिनुपर्ने बेलामा वाहियात काम गर्दै हिँड्नुभएको थियो । त्यतिबेला प्रतिगमनलाई नरोकेको भए देश आज खरानी हुन्थ्यो ।
हामीले विद्रोह गरेर पार्टी बनाउन अत्यावश्यक थियो, कम्युनिस्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलनको सुरक्षाका लागि । गठबन्धन दुरगामी रणनीतिक महत्वका लागि ध्यानमा राखेर हाम्रै बलबुतामा बनेको हो । त्योस्तरको क्रेडिट दिने काम भएन । मन्त्रिमण्डलदेखि नै कर्नरमा पार्ने काम मन्त्रिमण्डल गठनबाट सुरु भएको थियो । तर, कुनै षड्यन्त्रबाट गठबन्धन भत्काउन हुन्न भन्नेमा प्रेरित गर्छौं । वार्ता गर्छौं । बाँकी कुरा कांग्रेस र माओवादीले सोच्ने कुरा हो ।
गठबन्धनमा इमान्दारिता भएको भए कति सिट आउने आँकलन हो ?
इमान्दारिता भएको भए हाम्रो ६ महानगरसहित ११ उपमहानगरमा क्लिनस्विप हुन्थ्यो । अन्यत्र त गठबन्धन नै भएन ।