site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘गठबन्धन सफल भएको छ, एकीकृत समाजवादीले गुनासो गर्ने ठाउँ छैन’
Tiktok banner adTiktok banner ad

वैशाख ३० मा सम्पन्न भएको स्थानीय तह निर्वाचनको नतिजा आउने क्रम जारी छ । पाँच सय ८४ भन्दा बढी स्थानीय तहहरूको नतिजा आउँदा २५९ स्थानीय तह जितेर नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ । १६७ स्थानीय तह जितेर एमाले दोस्रा पार्टी बनेको छ । माओवादी केन्द्रले १०६ स्थानीय तह जितेर तेस्रो र विगतभन्दा बलियो शक्तिका रूपमा देखिएको छ । 

यो स्थानीय चुनाव वर्तमान सत्ता गठबन्धन भर्सेज एमालेसहित केही साना दलको गठबन्धनबीच चुनावी भिडन्त भएको छ । यो स्थानीय चुनाव एमालेबाट विभाजन भएर बनेको नेकपा (एकिकृत समाजवादी) का लागि अग्नि परीक्षा थियो । उसले १४ स्थानीय तह जितेर पार्टीको संरचना नै तयार पारिनसक्दै भएको चुनावमा पाएको जनमतले भोलिका दिनमा उसलाई जनताले पत्याउने संकेत गरेको छ । तर, एकीकृत समाजवादीमा भने गठबन्धनबाट सहयोग नपाएको गुनासो गर्न थालेको छ । यसै सन्दर्भमा हामीले नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतलाई एकीकृत समाजवादीलाई सहयोग नगरेको हो भनेर पश्न गरेका छौँ ? प्रस्तुत छ, बाह्रखरीका रोमन आचार्यले महतसँग गरेको संक्षिप्त कुराकानी :

गठबन्धन कति सफल भयो ? कांग्रेसको विश्लेषण के हो ? 
गठबन्धन राम्रै गएको छ । अपवादहरू त हुन्छन् नै । छोटो र अन्तिम समयमा समझदारी गर्नुपरेकाले तल्लो तहसम्म लय मिलाउन ठाउँ–ठाउँमा कठिन भएकै हो । तर, समग्रमा गठबन्धनले नतिजा राम्रै दिएको छ ।

गठबन्धन गर्दा जस्तो नतिजाको अपेक्षा थियो, त्यो भयो ?
हाम्रो गठबन्धन धेरै ठाउँमा भएको हैन । लगभग १३५ ठाउँमा गठबन्धन भएको थियो । यो भनेको व्यापक रूपमा गठबन्धन भएको होइन । गठबन्धन दलहरूबीच जहाँ सम्भव छ त्यहाँ गठबन्धन गर्ने नभएको ठाउँमा मित्रवत प्रतिष्पर्धा गर्ने भन्ने त सहमति नै थियो । जुन सोचका साथ हामीले गठबन्धन गरेका थियौँ यसमा किन गठबन्धन गरिएको छ भन्ने अवस्था छैन । समग्रमा गठबन्धनबाट राम्रै भएको छ । 

तर, गठबन्धनभित्रको दल नेकपा(एकिकृत समाजवादी) का शीर्ष नेताहरूले त हामीसँग सम्झौता गरिएअनुसार सहयोग भएन भनेर सार्वजनिक रूपमा बोलिरहेका छन् नि ? 
एकीकृत समाजवादी पार्टी निर्माणकै क्रममा छ । माओवादी केन्द्र त पहिले देखि नै थियो । बिचमा नेकपा बनेर पुनः माओवादी पार्टी मै फर्किए पनि उहाँहरूको संगठन पूर्ववत रहेको थियो ।

माधवजीहरूको पार्टी पनि छोटो समयमा देशैभर संरचना निर्माण गरेको हो । त्यसले गर्दा पनि उहाँहरूको अपेक्षाकृत नै विजयी भएको छ । तालमेल कुरामा चाहिँ उहाँहरूको संरचना नै अपेक्षाकृत बलियो बनिनसकेकाले हाम्रो सहयोगका बावजुत उहाँहरूले सोचे अनुरुपको परिणाम नआएको हुन सक्छ । उहाँहरूलाई हामीले प्रमुख पद त दिएकै हो नि । त्यसलाई कसरी सफल बनाउने भन्ने त उहाँहरूको दलबाट पनि काम हुन सक्नुपर्छ । हाम्रो सहयोगले मात्र नपुगेर उहाँहरूको समस्या आएको हो । हाम्रो तर्फबाट त कांग्रेसले पूरा इमान्दारिता देखाएको छौँ । तर पनि कतिपय ठाउँमा संगठनात्मक संरचनाको अभाव देखियो । 

पोखराको भन्ने हो भने त्यहाँ लयमै गएको छ । उहाँहरूको कम भोट भएपनि कांग्रेसले भोट हालेकै छ । कतिपय ठाउँमा भनेजस्तो ठ्याक्कै नभएको होला तर, मलाई लाग्छ जहाँ सहयोग गर्ने निर्णय गरेका थियौँ हामीले इमान्दारितापूर्ण सहयोग गरेका छौँ । माओवादी तर्फबाट कति के भएको छ त्यसमा उहाँहरूले समीक्षा गर्नुभएको होला । हामीले हुने हदसम्म सकेजति गरेका छौँ । 

तपाईंहरूको निष्कर्ष चाहिँ एकीकृत समाजवादीलाई जनताबाट अनुमोदन गराउन सहयोग गरेको भन्ने हो ? 
स्थापित भन्ने कुरै छैन । पार्टी निर्माण हामीले गरेर हुँदैन उहाँहरूले नै गर्ने हो । तर, उहाँहरू निर्माणको क्रममै हुनुहुन्थ्यो र छोटो समयमा संरचना बनिसकेको थिएन । यो चाहिँ उहाँहरूलाई सहयोग भन्ने कुरा मात्र हो । संगठन त आफैँ बनाउने हो नि !

तर, हामीले जहाँ जहाँ समझदारी भएको छ इमान्दारिपूर्वक सहयोग गर्ने कोसीस गरेका छौँ । सबै ठाउँमा नमुना मतपत्र चाहिँ पुर्‍याउन नसकेर वडा तहसम्म चुनाव चिह्नलाई चिनाउन नसक्दा पनि समस्या भएको हुन सक्छ । मतदाता झुक्किएको अवस्था पनि रह्यो । यो पनि अपवाद मात्र हो । 

मेहनत गरेर गठबन्धन गर्नुभएको महानगरहरू ललितपुर, विराटनगरलगायतमा त गठबन्धन सफल हुन सकेन । कांग्रेस मात्र सफल भएको देखियो नि ? 
वास्तवमा ग्रास रुटमा नमुना मतपत्रलाई अभियानकै रूपमा छाप लगाएर सम्बन्धित दलका कार्यकर्ताहरू अभियानमा जानुपर्ने त्यो चाहिँ एउटा समन्वय हुन सकेन । कतिपय ठाउँमा तालमेल राम्रोसँग हुन पनि सकेन । यस्ता घटनाहरू अपवादको रूपमा लिनुपर्छ । २, ४ ठाउँको उदाहरण दिएर यो बिग्रियो सहयोग भएन भन्न मिल्दैन । समग्रमा हेर्नुपर्छ । समग्रमा हेर्दा एकाअर्कालाई भरपूर सहयोग भएको छ । 

स्थानीय तह निर्वाचनको विषयमा गठबन्धनले समीक्षा त गर्ला नि हैन ? 
यो हामी आफ्नो पार्टीभित्र पनि गम्भीर समिक्षा हुन्छ र गठबन्धन दलहरूबीच पनि समीक्षा हुन्छ । त्यो त हुनै पर्‍यो नि !

यो गठबन्धन ६ महिनापछि हुने प्रदेश र प्रतितिनिधिसभा निर्वाचनसम्म जान्छ ? 
जानुपर्छ र जान्छ । कांग्रेसको तर्फबाट कुनै द्विविधा छैन । किनभने ४० प्रतिशत सिट चाहिँ समानुपातिक मत व्यवस्थाको आधारमा हुन्छ । यो अवस्थामा जतिसुकै जुनसुकै दलले सिट ल्याए पनि बहुमत ल्याउन कठिन छ । त्यसकारण पहिले एउटा समझदारी जाने र पछि बहुमतको सरकार बनाउनुपर्छ । हामी पहिले पनि एउटा प्रवृत्तिको खिलाफमासँगै उभियौँ । अहिले स्थानीय तहमा तालमेलको अभ्यास गरेका छौँ । स्थानीय तहमा तालेमेल गर्ने एकदम कठिन विषय हो । स्थानीय तहको नेतृत्व भनेको सानो एकाइमा धेरै व्यक्तिगत कुरा तीन पुस्ते थाहा हुन्छ । त्यसकारण सजिलो होइन । आफ्नै पार्टीभित्र त अन्तर्गघात गरेको थुप्रै घटनाहरू छन् त्यसकारण सजिलो होइन । 

राष्ट्रिय निर्वाचनमा अलि सहज हुन्छ भन्ने मलाई लाग्छ । यो स्थानीय चुनावले तालमेलमा थप मद्दत गर्छ । यो गठबन्धनलाई अगाडिसम्म लानुपर्छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  १९:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro