काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का उमेदवार मिठाराम अधिकारी निर्वाचित भएका छन् । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवास रहेका बूढानीलकण्ठ नगरमा कांग्रेसका उमेदवार विनोद चालिसे फराकिलो मतान्तरले पराजित भए ।
कांग्रेसका महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र समेत रहेका बूढानीलकण्ठमा कांग्रेसभित्रको घात–अन्तरघातले काम गरेको आरोप सुरु भएको छ ।
एमालेका अधिकारीले १५ हजार २५० मत ल्याएर निर्वाचित भएका हुन् । कांग्रेसका चालिसे ११ हजार ५१२ पाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । उनीबीचको मतान्तर तीन हजार ७३८ छ ।
उपप्रमुखमा एमालेकै अनिता लामा निर्वाचित भइन् । लामाले १४ हजार ३१४ मत ल्याइन् । कांग्रेसकी रमिला वाग्ले ११ हजार ९७२ मत ल्याएर पराजित भइन् ।
बूढानीलकण्ठमा एमालेले १३ मध्ये १० वडा जितेको छ । कांग्रेसले दुईवटा वडा जितेको छ । एउटा वडाको वडाध्यक्षमा भने स्वतन्त्र उमेदवार आकाश धिताल विजयी भएका छन् । कांग्रेस नेता धितालले पार्टीले टिकट नदिएपछि धारो चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेका थिए ।