site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टोपी लगाएर शासन गर्नेले पनि श्रीपेच लगाउनेलेजस्तै गरे, साना राजा ल्याउन खोजेका होइनौं
Tiktok banner adTiktok banner ad

०६२/०६३ सालतिर सडकमा उत्रेर सडक तताएका उनको विरोधको शैली आज पनि उस्तै छ । 

कहिले जनआन्दोलन त कहिले संविधान संशोधन (०७७) त कहिले प्रतिगमनको नाममा आफ्ना सिर्जनामार्फत् उनी निरन्तर लडिरहेका छन् । 

उनी अर्थात् चोटिला सशक्त एवं व्यंग्यात्मक कविताका रचनाकार कवि अर्जुन पराजुली । 

पाठकको मुटुदेखि सत्तासमेत हल्लाउन सफल कविको रूपमा उनलाई नै चिनिन्छ । हरेक प्रतिगमनविरुद्ध आफ्नो सास रहेसम्म लड्ने अठोट उनको छ । कुनै समय सडकमै उत्रिएर विरोध गर्नुपर्थ्यो भने आज माध्यम फरक अनि अझै सजिलो र उनका कविता जस्तै सशक्त भएको महसुस उनले गरेका छन् । 

“अब हामीले हिँड्नै नपर्ने भयो, जुकरबर्गले आ–आफ्नो घरमै बसीबसी उतिखेरै एकैपटक लाखौँमा आफ्ना कुराहरू पुर्‍याउनका लागि यस्ता प्लेटफर्महरू खडा गरिदिएकोले सजिलो भएको छ । सशक्त नै छ नि छैन र ? एकचोटिमा लाखौँसम्म पुग्नु भनेको त ख्याल–ख्यालको कुरा होइन नि । सकारात्मक नकारात्मक दुवै पाटो त हुन्छ नै । कसले कसरी प्रयोग गर्छ भन्नेमा भर पर्ने हो । तर, बलियो नै लाग्छ,” उनी प्रविधिको विकासले सहज बनाएको प्रतिगमनविरुद्धको बाटोको बयान गर्छन् । 

प्रविधि विकासकै कारण आज उनका कविताहरू उनको फेसबुक पेजमा दिनानुदिन सजिलै पढ्न र आफ्नो वालमा अनि साथीभाइहरूसम्म सजिलै सेयर गर्न सकिन्छ । 

युगौं युगसम्म बाँचिरहने शालिक नभएर एक बिरामीलाई निको बनाउने सिटामोल बन्न चाहने उनी आफ्नो सिर्जनामार्फत् आवाजविहीनहरूको आवाज बन्न चाहन्छन् । उनै कवि अर्जुन पराजुलीसँग स्थानीय निर्वाचन, प्रतिगमनविरुद्धको सिर्जनालगायत कविता यात्रालगायत यावत् विषयबारे बाह्रखरीकर्मी वर्षा महर्जनले गरेको भिडियो वार्ता–

सधैँ जनताको पक्ष अनि सत्ताको विपक्षमा आवाज उठाउँदै आउनुभएको छ । हालै चुनावको विषयमा पनि थुप्रै व्यंग्यात्मक कविता लेख्नुभयो, प्रतिक्रिया कस्तो पाउनुभयो ?

अधिकांश कविताहरू मेरो त्यसरी नै जान्छ, कुनै स्पिडमा जान्छ, कुनै विस्तारै जान्छ । मैले फेसबुकमा राख्दा लाखौँसम्म पुग्छन् । ९५ प्रतिशत राम्रा प्रतिक्रिया आउँछन् भने ५ प्रतिशत नराम्रा पनि आउँछन् । किनभने जसलाई प्रहार गरेको हुन्छ उसले त क्रियाको प्रतिक्रिया गर्छ नि त ! 

तपाईंका चुनावी कविताहरूले चुनावप्रति वितृष्णा दर्शाएको हो ?

मेरो काम कुचोजस्तै हो, सफा गर्ने हो । राम्रा कुरा देखाइदिने हो । जस्ले भन्न सक्नुभएको छैन, जसले देख्नुभएको छैन, जसले बुझ्नुभएको छैन, उनीहरूको आवाज बनिदिने हो । व्यवस्थाप्रति वितृष्णा होइन, व्यवस्था चलाउनेहरूको कुकृत्यप्रति चाहिँ वितृष्णा जगाउनुपर्छ र व्यवस्था चलाउने सही मान्छे आउने वातावरण बनाउनुपर्छ भनेर मैले लेख्ने गरेको हुँ र काम पनि त्यसरी नै हुन्छ । 

कविता, कलम, लेखनको माध्यमबाट परिवर्तन सम्भव छ ?

जब अरू केहीले सम्भव हुँदैन, कलमले नै हुने हो । 

०६२/०६३ को जनआन्दोलनमा सडक तताउनुभयो, कवितामार्फत् विरोध गर्नुभयो, त्यसबेला क्रान्ति सकिएको रहेनछ ?

त्यतिखेरको हाम्रो उद्देश्य भनेको कुनै एउटा परिवारको मुट्ठीमा भएको देश हामी सर्वसाधारण जनताको अधिकारमा ल्याउनुपर्छ भन्ने थियो । 

विभिन्न मान्छेको विभिन्न उद्देश्य थियो होला, कसैको सत्तामा जाने, कसैको पैसा खाने, थियो होला । तर, हाम्रो भने राजतन्त्र अन्त्य गर्नुपर्छ भनेर ज्यानको माया मारेर हिँड्यौं । कतिले ज्यान गुमाए । त्यसको प्रतिफलमा त्यो व्यवस्था गयो अर्को आयो, त्यो राजतन्त्र गयो, जनताको हातमा शासन आयो ।

आज जनताले नै भोट दिएका जनताकै मान्छे मन्त्री, प्रधानमन्त्री, नेताहरू छन् । तर, भयो के भने उनीहरू जनता नै भएर बसिरहन चाहेनन् । उनीहरू राजा हुन चाहे, उनीहरूको पाइला जनताको घरतिर नभएर राजदरबारतिर गयो । 

त्यसैले, हामीले ठूला राजा हटाएर साना राजा ल्याउन चाहेका होइनौँ । यी साना राजा बन्न खोज्नेहरूलाई पनि फेरि फालेर, फेरि जनतालाई नै शासन गर्ने भन्ने वातावरण बनाउनुपर्छ भन्ने कुरा हो, जुन यही निर्वाचनबाट हुँदैछ । राम्रा त अहिले पाउन्न, तर त्यो धेरै नराम्रो भन्दा थोरै नराम्रो मात्रै छान्नुपर्ने बाध्यता छ । व्यवस्थाभित्र बसेर गर्ने नराम्रो कामलाई भोलि सच्याउन सकिन्छ । तर, व्यवस्था नै खानेगरी आउनेहरू राष्ट्रका घातकहरू हुन् ।   

जनताकै मान्छे त्यहाँ हुँदाहुँदै पनि गलत काम भइरहेको छ भने यसमा दोष कसलाई दिने ? जनतालाई दिन मिल्छ ?

हामी आफैँ पनि चेत्नुपर्‍यो । हिजो एउटाले बदमासी गर्‍यो भनेपछि फेरि त्यही बदमासलाई त्यहाँ पठाउनु हुँदैन । हामीलाई धोका दिइसक्यो, कति कुरा गर्छु भन्यो, गरेन । 

हामीसँग हिजो गर्छु भनेर नगरेका कामहरूको प्रमाण छ, यस्तोमा गर्छु भनेर फेरि नमस्ते गरेर आउँदैमा हामीले पत्याउनु हुँदैन । 
त्यो हाम्रो कमजोरी हो । जनता कति सहृदयी बनिरहने । हामीलाई बेलाबेला झुक्याइरहने अनि हामी झुक्किइरहने ? 

यो पटक–पटक दोहोरिइरहने प्रतिगमनचाहिँ कस्तो र के रहेछ ?

त्यो प्रतिगमन जनताको शत्रु, त्यो सधैँ भइरहन्छ । हिजो एउटाले गर्‍यो जनताले त्यसलाई खेद्यो ।  आज अर्कोले गर्‍यो त्यसलाई पनि खेद्यो । भोलि अर्को आउँछ अर्को प्रतिगमन गर्छ त्यसलाई पनि जनताले खेद्छ । 

सधैँ प्रतिगमनको विरोधमा रहनुहुन्छ, तर धेरैले एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको मात्रै विरोध गर्नुहुन्छ भन्छन् यस्तो हो ? कि संयोग मात्रै हो कि ओलीविरुद्ध साँच्चै लेख्नैपर्ने अवस्था हो ?

म कुनै व्यक्तिको विरुद्धमा कहिल्यै उत्रिन्नँ । तर, जब मेरो देश, व्यवस्था र म जस्तै जनताको विरुद्धमा उत्रिन्छ तब म पनि उत्रिन्छु । 

हिजो ज्ञानेन्द्र (पूर्वराजा) को पालामा, ज्ञानेन्द्रको विरोधी भन्थे । आज केपी ओली सरले प्रतिगमन गर्नुभयो अब म उहाँको विरुद्धमा उत्रिएँ । 

अब भोलि कोही अर्को व्यक्तिले प्रतिगमन गर्ला, त्यतिखेर म त्यसको विरोधी भइदिन्छु । म सधैँ प्रतिगमनको विरोधी हुँ । बाँचुञ्जेल विरोधी रहन्छु । कसैले केही भन्नु र गर्नुसँग मेरो सरोकार छैन । 

म जनताको पक्षको मान्छे हुँ । जबसम्म बोल्न र लेख्न सक्छु सधैं प्रतिगमनको विरोधी हुँ । व्यवस्थाभित्र बसेर नचाहिँदो गरुन्जेलसम्म हामीले सामान्य आलोचना गर्यौं । 

तर, संविधान नै खाने, म समेतका लाखौं मान्छेहरूले ज्यान गुमाएर ल्याएको संविधान, व्यवस्था खानेको विरोध गर्दा कसैको विरोधी भइन्छ भने म त्यो विरोधी हो । म त्यसकै लागि जन्मिएको हुँ । प्रतिगमनको विरोध गरेरै मर्छु । 

तपाईं जनताको पक्षमा उभिरहँदा, जनताकै प्रतिनिधिबाट प्रतिगमन भयो नि ! यसलाई कसरी लिनुभएको छ  ?

भएन त ! संविधान नै नमान्ने, संविधानमा नै नभएका कुराहरू आफ्नै संविधान बनाएर जनताको संसदलाई नै खसी काटेझैँ काटेर पठाउने प्रतिगमन होइन त ? 

यहाँ श्रीपेच लगाएको मान्छेले त्यही काम गर्दा प्रतिगमन हुने अनि टोपी लगाएको मान्छेले त्यही काम गर्दा प्रतिगमन नहुने हुन्छ ? 

यो देशमा हामीले ल्याएको व्यवस्था (संविधान) नमान्ने चाहे त्यो जनताको मान्छे होस् वा चाहे जोसुकैको मान्छे होस् त्यो प्रतिगमनकारी हो । र, जुनसुकै प्रतिगमनकारीको यो ‘अर्जुन पराजुली’ भन्ने मान्छे विरोधी हो । 

तपाईं निरन्तर क्रान्तिमा लागिरहनुभयो, के यी क्रान्तिहरू लाभदायक छन् त ?

कसरी परिवर्तन भयो त ? म समेतका लाखौं मान्छेहरूको योगदान हो । परिवर्तन भइरहेका छन् । फोहोर थुप्रिरहन्छन् हामीले सफा गरिरहनुपर्यो । सम्भव छ । 

थोरै प्रसंग बदलौँ–
हामी डिजिटल युगमा छौँ । तर, तपाईंले हातैले कविता लेख्नुहुन्छ, डिका पनि दिनुहुन्न । यसको खास केही अर्थ छ कि ?

म प्रविधिमा त्यति अगाडि छैन । सुरुमा हातले लेख्न सुरु गरेँ, तर अहिले आएर ब्रान्ड जस्तै बनिसकेको छ । अक्षर हेर्नेबित्तिकै फलानोको रहेछ भनेर मेरो कविता पढिरहनेहरूले थाहा पाउनुहुन्छ । टाइप नगर्ने होइन । तर, टाइप गरेको अक्षर सबैका एउटै हुन्छ ।

म त्यहाँ फरक पनि देख्न सकिने भएँ । सुरुमा नेपाली टाइप अप्ठ्यारो लागेरै हो । तर, पछि ठीक गरेछु जस्तो लाग्यो र अहिले ब्रान्ड नै भयो । मेरो दाह्री पनि त्यस्तै भयो । 

कागजका पानामा लेखिएका अक्षरहरू निश्चित समयपछि धमिलिएर हराउँछन्, तपाईंसँग आफ्ना कति पुराना कविताहरू बाँकी छ ?

अहिले पनि कति हाम्रा सँगैका साथीहरू टाइप गर्नुभन्दा लेख्न नै रुचाउनुहुन्छ । युगौं युगका वेद पुराणहरू अहिलेसम्म छन्, तर, ती मेटिएरै चाँही जाँदैन । 

तपाईंको बाल्यकाल कसरी बित्यो ? विद्यालय जीवन कस्तो रहयो ?

यी कुराहरू गर्दा म भावुक हुन्छु । म एकदमै दुःख पाएको मान्छे हुँ । वर्षदिन खान नपुग्ने गरिब परिवारबाट हुँ । पढ्नको लागि नजिकै स्कुल नभएर बिहान ३ घण्टा र बेलुका ३ घण्टा हिँडेर परको स्कुल जान्थेँ ।

त्यो पनि मलाई ३ सम्म पढाउनुभएको सरहरूले नै विद्यालय शुल्क तिरिदिएको भएर पढ्न पाएँ । पढ्ने समय नै हुन्न थियो, स्कुल आउने–जाने ३–३ घण्टाको बाटो जाँदा मात्रै पढ्न पाउँथें । 

निम्नवर्गीय परिवारबाट आउनुभएको तपाईंलाई पैसा कमाउँछु भन्ने सोच नआएर सिर्जना गर्ने सोच कसरी आयो ? 

म खान र कमाउनका लागि लेख्दिनँ । यो मेरो काम होइन । सास फेर्नेजस्तै हो ।  सास फेर्नका लागि कति पैसा लाग्छ÷आउँछ भनिदैन नि ! गाउँमै हुँदा १० वर्ष सरकारी जागिर खाएँ । 

तर, मेरो स्वभाव जागिरसँग मेल नखाएपछि सबैले नछोड भन्दाभन्दै पनि स्थायी सरकारी जागिर छोडेँ । 

गलैँचा कारखानादेखि फुटपाथमा पसलसमेत राखेँ । तर, त्यसबाट पनि पार नलागेको महसुस भएपछि फेरि लेखनमै मोडिएँ, भुँडीपुराण पत्रिका निकालेपछि त्यही नाममा प्रकाशन खोलेँ र आज यहाँ छु । 

सिस्नुपानीसँगको तालमेल कसरी जम्यो ?

म हाँस्यव्यंग्य लेख्थेँ त्यही क्रममा टंक आचार्य, नरनाथ लुइँटेललगायत हाँस्यव्यंग्य लेख्ने साथीहरूसँग हामी जम्मा हुन्थ्यौँ । 

हामीबीच ‘हाँस्यव्यंग्य गर्ने संस्था बनाऔँ न त’ भन्ने सोचसहित हामी करिब १० जना जम्मा भएर ‘सिस्नुपानी नेपाल’ बनाएका हौँ ।

तपाईंले सुरु गर्दा र अहिलेसम्म आउँदा केही परिवर्तन पाउनुभएको छ ? किनभने आज पैसा तिरेर कविता सुन्ने ट्रेन्ड आइसक्यो नि !

यसैबाट आम्दानी हुनु राम्रो हो । त्यसो भयो भने लेखकले कमाइका लागि अरू पेसा रोज्नु पर्दैन । तर, जहाँसम्म मलाई लाग्छ, नेपालमा लेखेरै बाँच्ने सम्मको अवस्था बनेको छैन । 

कोही हुनुभएको वा मलाई थाहा नभएको पो हो कि! तर जब हामीले पैसाका लागि लेखिन्छ त्यहाँ सम्झौता हुन्छ होला नि ! जब कतैबाट कसैबाट केही आशा हुँदैन तब मात्रै सही लेख्न सकिन्छ । त्यतिखेर मात्रै देखेको, लागेको सहि लेख्न सकिन्छ । 

पछिल्लो समयका कविताहरू नाराजस्तै भए, मिठास नहुने गनगन मात्रै भए भन्ने पनि सुनिन्छ । तपाईं यसमा के भन्नुुहुन्छ ?

म स्वभावले केही रुखो मान्छे । तर, म लेख्दा दिमागले नभएर हृदयले लेख्छु ।  जब हृदयले लेखिन्छ त्यो सीधा अर्को व्यक्तिको हृदयमा पुग्छ । मेरोमा छन्द लय हुँदैन । 

तर, आफ्नै शैली हुन्छ । शैली नभएर त्यसको गुण र क्षमता हो जसले एउटा हृदयबाट अर्को हृदयमा ढोका फोरेर सोझै छिर्ने रचना गर्नुपर्छ । 

पैसा तिरेर कविता सुन्ने र हेर्न जमाना बढेको छ, जसलाई स्लाम पोयट्रीको नामले चिनिन्छ । कवितातर्फ रुचि बढेको हो ?

अहिलेको मिडियाले विश्वलाई एउटा परिवारजस्तो बनाइदिएको छ । तर, यति सुविधा हुँदा हुँदै पनि म कहिँ आफ्नो आवाज दिन्नँ, तर मेरो रचनाहरू म सामाजिक सञ्जालमा राख्छु, जुन उतिखेरै लाखौंसम्म पुग्छन् । 

जसले गर्दा पहुँच बढेको छ । तर, कसैको रचना ठीक छ, छैन भन्ने अधिकार दोस्रो व्यक्तिमा हुन्न, तर त्यो रचनाले अरूलाई हानी पुर्‍याउनु हुँदैन । 

भावनाका कुराहरू एभरग्रिन हुन्छन् । तर, राजनीतिक कविताहरू क्षणिक हुन्छन् भनिन्छ नि ! यस अर्थमा यदि, यी राजनीतिक घटनाक्रम र पात्रहरू भएन भने त सिर्जना नै नहुने पो हो कि भन्ने डर हुन्न ?

नहोस् न त, यस्तो असन्तुष्टि लेख्नै नपरोस् । अरु कविताहरू लेखुँला नि, आखिर मैले लेख्नै नसक्ने त होइन नि । जस्तो नेताहरूले गरिबलाई गरिब नै राख्न चाहन्छन् । ताकि प्रलोभन देखाएर भोट लिन पाइन्छ नि !

पार्टी, नेता र व्यवस्थालाई व्यंग्य गरिरहँदा डर लाग्दैन ? जहाँ सर्जकलाई सिर्जना गरेकै आधारमा ज्यान मार्ने धम्कीसमेत आउँछन् । 

धम्की आउँछन्, मलाई आउँदैन होला त ? कति आउँछन् आउँछन् तर धम्कीसँग डराइन्न । आखिरमा एकदिन मर्नु नै छ । 

राजाको शासनमा त्यस्तो कालमा सशक्तरूपमा ज्यान मारेर हिँडेको मान्छे हुँ । अहिले जो सत्तामा छन्, मै हुँ भन्नेलाई सत्तामा राख्न योगदान दिनेमध्ये एकजना मै पनि हुँ नि । 

त्यसैले, उनीहरूलाई भन्ने अधिकार मसँग छ । लाखौँ जनतामध्ये एक/दुई जना पनि नबोल्ने भए कसले बोल्ने त ?

जेल पनि पर्नुभयो क्यारे ? के सिर्जना गरेकै कारण हो र ?

रचना गरेको कारणले होइन । राजाको शासन कालमा काठमाडौंमा कर्फ्यु लगाउँदा पहिलोचोटि कर्फ्यु  तोडेका कारण हामी २४ जनालाई दुवाकोटमा करिब १८ हो कि २८ दिन लगेर राखिएको थियो । अरु पनि बेला–बेला पक्रिने कतै लगेर राख्ने त्यो त गन्ती नै गरिएन । 

स्टाटसमा राखेका सबै कविता होइनन् । त्यो भ्रम आज हटाउन चाहन्छु जुनमा नाम लेखेको छु त्यो कविता हो,  तर नाम नभएका कविता बन्न बाँकी नै छ जुन मेरो विचार मात्रै हो । 

 

                                                                                                                                                                                                                           
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९  १२:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro